युरोपमा पत्रकारहरुको सही पहिचान र सुनौलो मौका


– बसन्त रानाभाट
भूपि शेरचन अत्यन्त लोकप्रिय कवि हुन्। उहाँका कविता ज्यादै मर्मस्पर्शी हुन्छन्। यो बाक्यमा जुन तहको आदर दिने हो त्यसमा एकरूपता छैन। एउटै व्यक्तिलाई कहीं तिमी कही तपाईं भनिएको छ । लिंग, जात, पद, बसाइ आदिका आधारमा आदरको तहमा फरक पर्न हुँदैन। बिबिसी पत्रकारिता भाषा पाठशालाले यस्ता कुराहरु सिकाएको छ ।

मधेसी र पहाडियाका बीच भेदभाव हुनुहुँदैन। ‘मधेसी र पहाडिया’ भन्नु आफैंमा ज्यादै ठूलो भेदभाव हो। मधेसका बासिन्दालाई ‘मधेसी’ भनेपछि पहाडका बासिन्दालाई पनि पहाडी’ भन्नुपर्छ। हिन्दी र त्यसबाट प्रभावित भाषा/भाषिकाहरूमा सानो, कमजोर वा तुच्छ भन्ने जनाउन अथवा होच्याउन शब्दमा ‘इया’ लगाइन्छ। जस्तैः पुलिया (सानो पुल), पुलिसिया (जाबो पुलिस), औरतिया (नाथे आइमाई)। ‘पहाडिया’ पनि ‘पहाडी’ लाई होच्याउने शब्द हो। (‘मधेसी’ लाई ‘मधेसिया’ भन्नु पनि त्यस्तै हो!) यी हरफहरु पनि त्यहीबाट नै साभार गरे जो पत्रकारिता गर्छु भन्नेलाई मनन योग्य छन्।

फेरि यो अर्को अंशले पत्रकारिताको सन्तुलनबारे गतिलो शिक्षा दिन्छ । “हिन्दूका मन्दिरमा मूर्ति राखिएको हुन्छ भने मस्जिदमा मूर्ति हुँदैन। कि ‘हिन्दूका’ नभन्ने (मन्दिर हिन्दूकै मात्र हुन्छन्), नत्र मस्जिदलाई पनि ‘मुसलमानका’ भनेर चिनाउने।
युरोपको पत्रकारितालाई हेर्दा हामी माथिका उदारहरणहरु मध्ये सही रुपमा कतिले प्रयोग गरेका छौ त ? हाम्रो पत्रकारितामा एउटा समाचारमा ब्यक्तिलाई कहिँ तपाईबाट त कहिँ तिमीबाट आदर गरिन्छ जो अत्यन्तै गलत मानिने रहेछ । हाम्रो पत्रकारितामा बढी रुपमा मधेसी र पहाडिया भने जस्तै भेदभाब छ,किनकी हामीलाई यो बारे जानकारीको कमी छ। हिन्दुलाई मन्दिर सँग लगेर चिनाउदा,मस्जिदलाई मुसलमानका रुपमा चिनाउन चुके झैँ ,धेरै हाम्रा समाचारहरुमा सन्तुलन भेट्दैनौ। युरोपमा पत्रकारिता गरिरहदा हामीले लेखेका समाचारहरुले धेरै ठाउमा सन्तुलन गुमाएका भेटिन्छन्। बिबिसीबाट नै साभार गरिएको अर्को उदाहरण हो , तीन वर्ष यता कुकुरको जनसंख्या निकै बढेको छ।’जनसंख्या’ भनेको मानिसहरुको संख्या हो। मानिस बाहेक अरूका लागि जनसंख्या प्रयोग हुँदैन। ‘संख्या’ मात्र भने पुग्छ। तर हामी सबैलाई ‘जनसंख्या’ नै भनिदिन्छौ आफुलाई ठिक लागे पछि समाचार सबै सही र राम्रो छ भन्ने भ्रम राखेका छौ।

गैरकानूनी क्रियाकलापमा लागेका कारण ऊ दण्डित भयो। गैरकानूनी’ शब्दले सार्वजनिक ठाउँमा होहल्ला गर्नु र ५१ जनाभन्दा बढी जन्ती लैजानुदेखि जालसाजी, कुटपीट, अपहरण, मानव बेचबिखन र हत्यासम्मलाई बुझाउँछ। यहाँ के बुझ्ने? प्रजातान्त्रिक, अप्रजातान्त्रिक, अभिवृद्धि, विकास, दुरवस्था, प्रगति जस्ता थुप्रै शब्द छन् जसले वास्तवमा कुनै निश्‍चित तहको र स्पष्‍ट अर्थ व्यक्त गर्दैनन्। त्यसैले कि यस्ता शब्दको प्रयोगै नगर्ने, नत्र भन्न खोजेको कुरा तुरुन्तै स्पष्‍ट पार्ने गर्नुपर्छ। यो पनि बिबिसी पत्रकारिता भाषा पाठशाला बाट साभार गरिएको हामीलाई उपयोगी उदाहरण हो जो हामीलाई अत्यन्तै उपयोगी छ।

माओवादीले निर्दोष शिक्षकलाई कुटपीट गरेको एमालेको दाबी। दाबी भनेको कुनै वस्तु वा कार्यमा आफ्नो हकको जिकिर गर्ने काम हो। जस्तै: लोकतन्त्र ल्याउन आफ्नो महत्त्वपूर्ण भूमिका भएको एमालेको दाबी। कसैलाई कुनै खराब काम गरे बापत लगाइएको दोष, बात वा अभियोगलाई चाहिं आरोप भनिन्छ। यहाँ पनि दाबी होइन आरोप भन्नुपर्छ। सामान्यतः दाबी आफैं गरिन्छ र आरोप अर्कालाई लगाइन्छ। साउनको पहिलो हप्‍ता आँपको भाउ प्रतिकिलो ४० रुपैयाँ थियो। दोस्रो हप्‍ता ५० प्रतिशत बढेर ६० रुपैयाँ पुग्यो। तेस्रो हप्‍ता ५० प्रतिशत घटेर फेरि ४० रुपैयाँमा आइपुगेको छ । कुरो मिलेन, ४० रुपैयाँमा ५० प्रतिशत बढेर ६० रुपैयाँ भएको त ठीक हो, तर ६० रुपैयाँमा ५० प्रतिशत घट्दा ३० रुपैयाँ हुन्छ, ४० रुपैयाँ होइन।

बलात्कारी जिल्ला शिक्षा अधिकारी विरुद्ध शिक्षकहरूले दुई घण्टा धर्ना दिए। बलात्कारी भन्ने शिक्षकहरूको आरोप होला, त्यत्तिकै आधारमा बलात्कारी भन्न मिल्दैन। अदालतले फैसला नगरेसम्म कसैलाई पनि बलात्कारी/भ्रष्‍टाचारी/तस्कर/हत्यारा भन्न पाइँदैन। अहिलेको युरोपको पत्रकारिताको मुख्य कमजोरी नै यही होला । आफुले चलाएका ब्लग र अनलाईन पोर्सलहरुमा हामीले कसैले भनेको,सुनेको वा अनुमानको भरमा आफैले निर्णय गरिदिनु ठुलो गल्ति हो। युरोपमा मानब तस्कर र आरोपका समाचार कति धेरै प्रकाशित भए ? समाचारमा उल्लेख भए अनुसार के तस्करहरु तस्कर कै रुपमा प्रमाणित भए त ? कसैको भनाईलाई अधार बनाई आरोप लगानु अलग कुरा हो तर तस्कर नै भनेर आफैले निर्णय सुनाउनु पत्रकारिताको मर्म र भावानालाई कुल्चिएको हो। यस्ता समाचारहरु प्रकाशित गर्दा समाचारको सन्तुलन गुमाउनु हुदैन कि। यदि पिडितले जवाफ चाहेमा वा प्रमाणित गर्न चुनौती दिएमा हामी सँग ठोस प्रमाण हुदैन। तर प्रमाण सहित भेटिएकालाई लेख्न र बाहिर ल्याउन कलम डकमगाउन भने हुदैन।

हिन्दीमा शपथ ग्रहण गरेर उहाँले संविधानलाई लोप्पा ख्वाइदिनुभयो। फोहरी विचारले भाषालाई फोहरी बनाउँछ र फोहरी भाषाले पनि विचारलाई फोहरी बनाउँछ। शिष्‍ट, सुरुचिपूर्ण भाषामा व्यक्त गर्न सकिने कुराका निम्ति झापड लगाउने, लोप्पा ख्वाउने, नंग्याउने, बलात्कार गर्ने, हत्या गर्ने जस्तो भाषा प्रयोग गर्नु असभ्यता हो र वाणी (वाग्देवी) को अपमान पनि।बिबिसी पत्रकारिता भाषा पाठशालाले सिकाएका यी उदाहरणहरुबाट पनि बिबिसीको निष्पक्षता र लोकप्रियताको रहस्य खुल्दछ।

युरोपका बिभिन्न देशहरुमा पत्रकारितालाई आफ्नो कर्म ठान्दै कलम चलाइरहेका अग्रजहरुको पनि कमि भने छैन। जसका समाचार पढ्दा वा अध्ययन गर्दा धेरै कुराहरु सिक्न पाइन्छ। तर अहिले जमात गैर पत्रकारहरुको छ जो सबैले मनन गर्न योग्य छ। समाचार कसरी बन्छ भन्ने नै थाहा नै नभएका, न्युनतम आधारभुत कुराहरु पनि नमिलाई समाचार लेखे भन्नेलाई कसरी पत्रकार मान्ने ? वाक्य शुद्द पनि नलेखी ब्यक्तिका नाम र फोटोलाई शिर्षक बनाई फेसबुकमा सबैलाई ट्याक गर्दैमा पत्रकार मान्ने त ? अरुले लेखेका २ -४ वाक्य मिसाएर समाचारको शिर्षक बदल्नेलाई कसरी पत्रकार मान्ने ? नेपाल पत्रकार महासंघ युरोप शाखा सदस्यता छानविन समितिको सदस्यता सम्वन्धी सुचना आईरहदा समितिले यी सबै कुराहरुको मनन गर्न जरुरी छ। गैर पत्रकारहरु, पत्रकार बन्ने कोशिस गर्दा, नेपाली समाजका लागि कलम चलाउने असली पत्रकार पनि गैर नै बनेका छन् ,कारण प्रकिया पुगेर पनि सदस्यता पाप्त गर्न सकेका छैनन्। कलम चलाएकै भरमा कसैले धम्की दियो,चेतावनी दियो वा कुटपिट नै गरिहाल्यो भने पनि,कम्तिमा एउटा बिज्ञप्ती निकालेर भए पनि शान्त्वना दिने महासंघ पनि चुपो लागेर बसे हुने भयो पिटाई खाने त पत्रकार रहेनछ, गैर पो परेछ किनकी महासंघको सदस्यता छैन। सदस्यता बितरणमा ढिला भए भोलि यस्तो अबस्था आउन पनि सक्छ । तसर्थ युरोप शाखाले सदस्यता बारे छिट्टै टुंगो लगाउनु पर्छ । तर बितरण गर्ने नाममा गैर व्यक्तिलाई पत्रकार बनाए आफ्नो मतदाता संख्या बढाउनु बाहेक अरु उपलब्धी शुन्य प्राय: छ।

मुलत: सदस्यताको बिषयले अधिबेशनलाई नै प्रभाब पार्नु र अहिले छानबिनको प्रकियाबाट समाधानको बाटो रोजीरहदा छानबिन समितीको काधमा गहन जिम्मेबारी थपिएको छ। पेरिस अधिबेशन देखिकै अहिले सम्मका पत्रकारहरूको छानबिन गर्ने जिम्मेवारी पाएकोले पनि पत्रकारहरुको संगठन बनाउने सुनौलो मौका मिलेको छ। तर समितीले पत्रकारको पहिचान र बैधानिकता बारे संयन्त्र र तयारी बिना नै छानबिन शुरु गरेमा फेसबुकमा स्टाटस र तस्बिर अपलोड गर्नेहरु पनि पत्रकार बन्ने खतराको घण्टी बज्न सक्छ। नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशन गत सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट र महासचिव उजिर मगर उपस्थिति रहदा पनि नयाँ नेतृत्व पाउन नसक्नु युरोप शाखालाई ठुलो नोक्सानी नै हो। कारण सदस्यता बिबाद नै रहेकोले यसलाई अहिले पनि महत्वका साथ हेरिनु पर्छ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका निवर्तमान अध्यक्षले नै आफै मार्फत छानबिन शुरु होस् भन्नुले समितीलाई सक्कली पत्रकारको संजाल बनाउने मौका मिलेको छ। समितिले पहिले आफैलाई पनि हेरोस्। महासंघको साधारण सदस्य बन्नका न्युनतमा मापदण्ड के हो ? नेपाल पत्रकार महासंघको ‘वैदेशिक शाखासम्बन्धी नियमावली–२०६७ भित्र आफु पर्ने कि नपर्ने ? कारण सहित सार्बजनिक गरे पछि अन्य पत्रकारहरुलाई अझ बिश्वसनिय बन्न सक्ला। गलत अर्थ नलागोस् समिती माथि उठाईएको प्रश्न हैन कि, शिर देखि पुछार सम्म छानबिनको मापदण्डले भेट्न सकोस् भन्ने आशय मात्र। छानबिनको कार्यलाई सघाउन अधिबेशन स्थलमा प्रत्येक देशबाट तोकिएका सदस्यहरुको महत्वपूर्ण भूमिका छ। आफु रहेको ठाउमा साचो पत्रकारिता कसले गरेको छ र पत्रकारका लागि योग्य कति छन् भन्ने ज्ञान उसलाई मनग्य नै हुन्छ। तर सरसल्लाह र सुझाब दिदा पुर्वाग्रह राखिएमा फेसबुके स्टाटसहरुको संजाल महासंघ बन्ने खतरालाई नकार्न पनि सकिदैन।

महासंघले नयाँ नेतृत्व पाउन नसक्नुको कारण सदस्यता बिबाद नै हो यसमा कसैको दुई मत नै छैन। संसारमा सहमतीबाट हुन नसके पछि बिकल्प एउटा मात्र बाकि रहन्छ जुन हो निर्बाचन। पत्रकारितामा बढ्दै गएको राजनीतिक प्रभाबले निर्बाचनलाई मध्यनजर राख्दै गैर पत्रकारहरु अझै बढ्न सक्ने खतराहरु पनि छन् । कुनै पत्रकारले व्यक्तिगत रुपमा राजनीतिक आस्था राख्नु फरक कुरा हो तर सक्षम पत्रकारले आफु अनुकुल गैर पत्रकार भर्ती गर्नु र प्रोत्साहन दिनु अत्यन्तै गलत हो। गैरपत्रकार भित्रन नदिन उनीहरुलाई रोख्नु मात्र समाधान होईन कि आफु अनुकुल भित्राउन खोज्नेहरुको प्रयास विफल बनाउनु पनि समाधान हो।

पत्रकार कसैले भनिदिए गर्बको महसुस गर्ने म सदस्य बन्न पाउ भनी अधिबेशन पुर्ब आबेदन दिएको र पुन: दिनु परेमा तयारी गरेको निवेदकको नाताले सही पत्रकारको पहिचान हुन सकोस् भन्ने कामना गर्दछु। छानबिनको शिलशिला योग्य भए सदस्यता लिने र नभए आगामी समयलाई प्रतिक्षा गर्ने पक्षमा उभिएको छु। देश र विदेशमा करिब १२ बर्ष कलम चलाएको अनुभबमा युरोपको पत्रकारितालाई हेर्दा केहि अग्रज र अनुभबी पत्रकारहरु जमातमा, गैर पत्रकारहरु नै हावी भएर राजनीतिक आडमा धेरै माथि पुगेको जस्तो मलाई लाग्दछ। त्यसैले त आजभोली जता गए पनि पत्रकार,फेसबुकमा स्टाटस लेख्ने पनि पत्रकार,खर्च गरेर ब्लग खोल्ने नि पत्रकार,अन्लाईन पोर्टल खोलेर सधै कपी कै भरमा चल्ने पत्रकारहरुको बीचमा बास्तबिक श्रमजीवी पत्रकार। तर बितेको केहि छैन युरोप शाखालाई ईतिहास देखि नै पत्रकारहरुको सही पहिचान गरी पत्रकारको संगठन बनाउने मौका जुरेको छ।

नोट – समाचार बारे माथि प्रस्तुत उदाहरणहरु बिबिसी पत्रकारिता भाषा पाठशालाबाट साभार गरिएका हुन् लेखकका व्यक्तिगत बिचारहरु होइनन्।