पोखरा/नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको क्रममा सहमतिको अर्ति नदिन विदेशी कुटनीतिक समुदायलाई सुझाव दिएका छन् । ‘यहाँ सबैले उपदेश दिन्छन्, सहमतिबाटै सबै कुराको छिनोफानो हुने भए संयुक्त राष्ट्रसंघमा किन सहमतिबाट निर्णय हुँदैन ?’उनले प्रश्नात्मक शैलीमा चेतावनी दिँदै भने, ‘किन त्यहाँ भिटो प्रयोग हुन्छ, सहमतिको कुरा गर्नेहरुको देशमा सहमतिले सरकार चलेको छ ?’आफ्नो देशमा बहुमतबाटै विषयको छिनोफानो गर्नेहरुले अरुलाई सहमतिको अर्ति दिन नहुने बताउँदै उनले विश्वभरका नेताहरुलाई नेपालको सन्दर्भमा सहमतिको कुरा नगर्न आग्रह पनि गरे ।
नेपाली काँग्रेस कास्कीले शुक्रबारे शहीद दिवस तथा गणेशमान सतवार्षिकीको सन्दर्भमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले लोकतान्त्रिक प्रक्रियाको सुन्दररता बहुमतबाट विषयहरुको छिनोफानो गर्ने नै भएकोले सहमति नभएमा प्रक्रिया अर्थात बहुमतीय पद्धतिबाटै संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सत्तापक्ष संविधान निर्माणको उकाली चढ्दै गर्दा उकाली पनि चढ्ने र विपक्षी मोर्चालाई पनि पर्खदैँ अगाडि बढ्ने बताए । ‘प्रश्नावली समिति निर्माणपछि उकाली उक्लदैँ गर्दाको पाँच दिने चौतारी भोली हो,’ उनले भने,‘ अर्को पाँच दिने पर्खने अर्को चौतारी हो, पर्खँदा पनि सहमति भएन भने अगाडि बढ्ने हो ।’ आफूहरुले सहमतिको लागि हदै प्रयास गरे पनि विपक्षी मोर्चाले अड्को थापेकाले सहमति हुन नसकेको प्रष्ट पार्दै उहाँले केही व्यक्तिले सहमतिको नाउँमा रचेको प्रपंच सफल नहुने दावी पनि गर्नुभयो ।
अघिल्लो संविधानसभामा लोकतन्त्र पक्षधरसँग बहुमत नभएको स्मरण गर्दै उनले त्यही कारणले शासकीय स्वरुप, निर्वाचन र न्यायप्रणाली तथा संघीयताको विषयमा पनि आफूहरु लचकदार भएको जिकिर गरे । ‘समयमै संविधान आओस् भन्ने हेतुले हामीले त्यो बेला त्याग गरेको हो, पछि आफ्नो बहुमत हुँदा सच्याउँला भन्ने थियो,’ उनले भने,‘ अहिले हाम्रो बहुमत हुँदा उनीहरु केही कुरा पनि नमानेर संविधान निर्माणमा बाधा गरिरहेका छन् ।’