मड्रिड/ एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेग १–० ले जितेको बार्सिलोनाले बुधबार राति भएको तनावपूर्ण दोस्रो लेगमा ३–२ को जित निकाल्यो र समग्रमा ४–२ ले विजयी भयो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै फर्नान्डो टोरेसको गोलबाट अग्रता लिएको थियो । तर, नवौं मिनेटमा लुइस स्वरेजको पासमा नेयमारले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
खेलको ३० औं मिनेटमा राउल गार्सियाले पेनाल्टीमा गोल गर्लै फेरि एथ्लेटिकोलाई अग्रता दिलाए । ३८ औं मिनेटमा एथ्लेटिको मड्रिडका मिराण्डाले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।
४१ औं मिनेटमा अल्बामा पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलानालाई ३–२ को अग्रता दिलाए । पहिलो हाफको अन्तिममा मैदान छाड्दा टनलमा नेयमार र एथ्लेटिकोका खेलाडीबीच भनाभन भएपछि एथ्लेटिकोका ग्याबीलाई रातोकार्ड देखाइएको थियो ।
खेलको ४८ औं मिनेटमा एथ्लेटिकोका मिडिफिल्डर टुरानले लाइन्स म्यानलाई जुत्ताले हाने । तर, जुत्ताले लाइन्स म्यानलाई लागेन भने उनले पहेँलो कार्ड मात्र पाए ।
खेलको ८४ औं मिनेटमा मेस्सीलाई फल गरेपछि एथ्लेटिको मड्रिडका मारिओ सुआरेज दोहोरो पहेँलो कार्ड पाए । त्यसपछि केही मिनेट घरेलु टोली ९ खेलाडीमा सिमित भयो ।