काठमाडौं /
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विपक्षीकाे करिब अढाइ घण्टाको अवरोध र नाराबाजीपछि संविधानसभामा मध्य रातमा लिखित सम्बोधन गरेका छन् ।
विहीबार पौने ९ बजेदेखि करिब अढाइ घण्टासम्म मौन रहेर विपक्षीको नाराबाजी सुनेका नेम्वाङले संविधानसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन् ।
विहीबार दिउँसो आधा घण्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेतासँग छलफल थालेका सभाध्यक्ष नेम्वाङले राति पौने ९ बजे बैठक प्रारम्भ गरेका थिए । बैठक प्रारम्भ हुनासाथ विपक्षी सभासदले नाराबाजी थालेका थिए ।
विपक्षीको नाराबाजी राति साढे ११ बजेसम्म चलेको थियो । विपक्षीले नाराबाजी र हुटिङ गरिरहेकै वीचमा नेम्वाङले करिब ४ मिनेट लिखित सम्बोधन गरे ।
आफ्नो सम्बोधनमा नेम्वाङले संविधानसभाको प्रक्रिया अघि बढ्न नसकेकोमा आफू मर्माहत र चिन्तित भएको बताए ।
‘बैठक अवरुद्ध हुँदा कार्यसूचीमा प्रवेश गर्न सकिएको छैन, संविधान निर्माणको प्रक्रियालाई अघि बढाउन यो अवरोधलाई हटाउन अनुरोध गर्दछु’ नेम्वाङले बैठकमा भने, ‘एक वर्षमा संविधान बनाउन गरेको प्रतिवद्धताको हामी अन्तिम अवस्थामा पुगेका छौं ।’
दलहरुवीचबढेको तिक्तताले संविधानसभाको गरिमामा आँच पुग्न गएको आफूलाई महसुस भएको नेम्वाङले बताए । ‘यसले मलाई सम्वेदनशील र गम्भीर बनाएको छ,’ उनले भने ।
सभामुख नेम्वाङले तर, आजको दिन नै अन्तिम होइन भन्दै फेरि पनि सहमतिका साथ अगाडि बढ्न दलहरुसँग आग्रह गरे । -0nlinekhabar