काठमाडौं/ एमाओवादी र मधेसी मोर्चाले संविधानसभा बैठकमै एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीमाथि आक्रमण गरेका छन् ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव समिति प्रस्तुत गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै आक्रमणमा उत्रिएका एमाओवादी र मधेसी मोर्चाका सभासद्ले ओलीलाई छातीमा माइकले प्रहार गरेका थिए । उनलाई जोगाउन गएका एमाले मोरङ– १ का सभासद् ऋषिकेश पोखरेलमाथि पनि आक्रमण भएको छ ।उपाध्यक्ष भण्डारीको खुट्टामा चोट लागेको छ ।
एमाले अध्यक्ष ओलीले ‘संविधान बनाउन भनी आएका क्रान्तिकारी’ले आक्रमण गरेको बताए । ‘मेरो भन्नु केही छैन र मैले उनीहरुलाई चिन्न जरुरी छैन,’ उनले आफूमाथि भएको आक्रमणबारे भने, ‘सायद संविधान बनाउन भनी आएका क्रान्तिकारी हुन् ती ।’
उपाध्यक्ष भण्डारीले एमाओवादी नेता बाबुराम भट्टराईको प्रत्यक्ष निर्देशनमा आक्रमण भएको बताए ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई छेक्न गएका मर्यादामालकमाथि एमाओवादी र मधेसी सभासद्ले आक्रमण गरे । आक्रमणबाट मर्यादापालक सुनिता सुब्बासहित १२ जना घाइते भएका छन् । तीमध्ये तीन जना गम्भीर छन् । सुब्बाको हात भाँचिएको छ ।
source – ekantipur