यारु बाट योरो गुरुङ बनेका बहादुर नेपालीको सय बर्षे कहानी


-केशवशरण लामिछाने

पोखरा/मनखाँदो खेल फुटबल हो उनको । तर उनको जीवनको बुझाइ फुटबलजस्तो चाहिँ छैन । न त कुनै खेल जस्तो छ जहाँ हार्नु र जित्नुको एकात्मक अर्थ हुन्छ । जीवन यदि क्रिकेटको खेल हुन्थ्यो भने कमेन्टेटरले भर्खरै यसो भन्थ्यो होला — उमेरको सुन्दरतम् एक सेन्चुरी ठोकेर अझै फूर्तिसाथ क्रिजमा छन् उनी । क्रिकेटमा सेन्चरी हान्नु खेल जित्नु होइन, सुन्दर खेल्नु हो । डटेर खेल्नु हो ।

त्यसो त जीवन भन्ने चिज उमेरले नापिने कुरामात्रै होइन । जीवन एउटा खोज हो आनन्दको । बाँच्नुको अर्थको । तर उनी आनन्द, अर्थ र वर्ष तीनै आयाममा सम्पूर्ण जीवन बाँच्दैछन् । उनी उठ्छन् घाम झुल्कनुअघि । दिनभर परिवारका सदस्यसँग घरमा व्यस्त रहन्छन् । घरायसी धन्दामा हात बाँड्छन् । बारीमा तरकारी गोडमेल गर्छन्, कुखुरा र घरपालुवालाई दानापानी खुवाउँछन् । सायद यिनै सानासाना कामको प्राकृत अनुभवले उनको आँखामा सपना र शरीरमा तागत सदैव रहिरहन्छ । जीवनको यो सरल आनन्द र अर्थ बाँचेका छन् यी लाहुरेले ।

बुढ्यौलीका प्रमाण थरथर काम्ने हात, लरबरिने खुट्टा र प्रष्ट नफड्कारिने जीब्रो हुन् भने उनलाई वृद्ध नभनेकै जाती हुन्छ । प्रष्ट बोल्छन्, ठमठम हिँड्छन् र छ्वाङ देख्छन् । नाडीको घडी हेरेर समय जाँच्छन्, फूर्सदमा टिभी हेर्छन् । फुटबल र रेसलिङ आयो भने छुटाउँदैनन् । कानको शक्ति भने केही कमजोर भएको छ । दोस्रो विश्वयुद्ध नलडेको भए र बम—गोलीका आवाज सुन्नु नपरेको भए कान पनि तगडै हुन्थे होलान् । उसो त साधारण नेपाली बाँच्ने औसत उमेर ६८ वर्ष हो, उनको भने पेन्सन खान थालेकै त्यति नै वर्ष पुग्न आँट्यो । त्यो पनि १६ वर्षमा भर्ती भएर होइन, २९ वर्षमा ।

कास्की सिक्लेसका यारु गुरुङ भर्ती भएपछि भारतीय सेनामा उनको नाम योरो हुन गएछ । त्यसैले जन्ममिति ः विक्रम संवत १९७३ उल्लेख भएको उनको नागरिकतामा ‘नामः यारु गुरुङ भन्ने योरो गुरुङ’ लेखिएको छ । ‘हुन त बुवा २९ वर्षको उमेरमा भर्ती हुनुभएको रहेछ,’ साइँला छोरा फिमबहादुर बाबुको उमेरको हिसाब लगाउँछन्, ‘धेरै बुढो भनेर भर्ती नलेला भनेर गल्लाले २ वर्ष घटाइदिएछ । पछि त्यसकै आधारमा नागरिकतामा पनि २ वर्ष थोरै लेखियो ।’ गुरुङ समुदायमा कसैको उमेर यतिउति वर्ष भनेर होइन, वर्ग अर्थात उनीहरूकै भाषामा ‘ल्हो’ का आधारमा गणना गरिन्छ ।

प्रत्येक वर्ष पुस १५ पछि ल्हो फेरिन्छ, अर्थात वर्ग बदलिन्छ । त्यस्ता वर्ग १२ वटा छन् । मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृगबाट ल्होको नाम राखिएको छ । गुरुङ भाषामा कुरै भनिने गिद्धबाट नामकृत मुप्री वर्गमा जन्मिएका योरो गुरुङ अहिलेको पुसे पन्ध्रमदेखि ल्हु ल्हो (भेडा वर्ग) सुरु भएकाले सय वर्ष पुगे । योरो सय वर्ष टेकेपछि ४ भाइ छोरा बलबहादुर, डिलबहादुर, फिमबहादुर र यमबहादुर मिलेर पोखरा—१२ माटेपानीको सिक्लेस तमु समाज घरमा एउटा भवन निर्माण गरिदिए ।

३ लाख ६५ हजार रुपैयाँमा बनेको भवनको चाबी योरो आफैंले समाजका अध्यक्ष गुमानसिंहलाई पुसे पन्ध्रमका दिन हस्तान्तरण गरे । पुसे पन्ध्रम त्यस्तो अवसर पनि हो, जुन दिन गुरुङ जातिको सबैभन्दा ठूलो पर्व ल्होसार मनाइन्छ । गुरुङ भाषामा चिउली पाचे तमु समाज घर भनिने त्यो ठाउँको भवनमा अब गुरुङ पुरोहित अर्थात घ्याब्रीहरूलाई बस्ने राम्रो बन्दोबस्त मिलेको छ । घ्याब्रीकै लागि भवन बनाइदिनु संयोग या समाज घरको आवश्यकतामात्रै होइन । यससँग योरोको संवेदना जोडिएको छ । किनभने योरो आफैं पनि पुरोहित अर्थात घ्याब्री हुन् ।

मर्दापर्दा र कुलपूजाका बेला योरो गाउँघरतिर घ्याब्रीको काम गर्थे । यो कामसँगको सम्बन्ध कति गहिरो छ भने आफ्नो सतायु पुगेको उपलक्ष्यमा आयोजित भवन हस्तान्तरण कार्यक्रमको भोलिपल्टै घरमा उनीहरूले छोरानातिहरूलाई पूजाआजामा बजाइने ढ्याङ्ग्रो बजाउन सिकाए । आफ्ना छोरानातिले घ्याब्रीकै काम गर्न नसके पनि ढ्याङ्ग्रोसम्म ठोकून र आपूmपछि पनि गुरुङ परम्परा र रीतिरिवाज काँधमा बोकून भन्ने उनको चाहना हो । ‘डेढ घन्टासम्म सिकाउनुभयो,’ कान्छा छोरा यमबहादुरले भने, ‘बा थाक्नुभएन, हामी थाक्यौं । एउटा पनि मिस्टेक नगर्ने गरी सिकाउनुभयो ।’

आफ्ना बाबुको सतायु प्रवेशलाई एउटा भवन निर्माण र हस्तान्तरणमा मात्रै सीमित नराखी अझ हर्षाेल्लासका साथ मनाउने तारतम्य मिलाएका थिए छोराहरूले । दुर्भाग्य उनीहरूकी आमा देवीकुमारी गुरुङ पुस १ गते सबैलाई छाडेर गइन्, स्वर्गबासी भइन् । उनलाई घाँटीको क्यान्सर थियो । उनी नबित्दासम्म यदि सबैभन्दा रेखदेख र हेरचाह गर्ने कोही थियो भने त्यो पति योरो नै थिए । राति ३ बजे उठेर बाबुले आमाको जिउ मालिस गरिदिएको, घाममा राखेर मालिस गरिदिएको दृश्यलाई साइँला छोरा फिमबहादुरले मोबाइलबाट भिडियो नै खिचेर राखेका छन् । ती दृश्यले उनैलाई पनि बेलाबेला भावुक बनाउँछ । केही दिनअघि मात्रै पोखरा—१२ माटेपानीको घरको तीन तला भ¥याङ आफैं चढेर योरोले आफू र उनीहरूकी आमा हुँदाका दिनहरू छोराहरूबीच सम्झना गरे ।

‘म बोकेर लैजान्छु भनेको थिएँ,’ कान्छा छोरा यमले सुनाए, ‘सकिन्जेल आफैं हिँड्छु, नसकेमात्रै तिमीहरूको भर पर्छ भन्नुभो । तीन तला आफैं उक्लेर आमालाई सम्झनुभयो ।’ जेठी श्रीमती सारिस्योले विसं २०१४ मा संसार छाडेपछि योरोले देवीकुमारीलाई भिœयाएका थिए । पहिलो बिहे नै पेन्सनमा आएपछि गरेका थिए । आश्चर्यपूर्ण आयुमा हिँडिरहेका योरोको जीवन सुखदुखका अनेकन आश्चर्यले भरिएको छ । भारतमा उपनिवेश बनाएको ब्रिटिस सरकारले उनलाई ६ वर्ष सेवा गरेपछि नै पेन्सनमा पठायो । थुप्रैलाई रिडन्डेन्सी अर्थात नाम कटुवामा पठाउने गथ्र्याे ब्रिटिस तर उनलाई भने पेन्सन पनि दियो ।

६ वर्षे लाहुरे जीवनमा उनले विश्वका धेरै कुना चहारे, घुम्दै होइन लड्दैपड्दै । ‘लाहुरेको राइफल सिरानी’ भन्ने उखानै उनलाई नै हेरेर बनाएजस्तो । भर्ती भएदेखि नै टाउकाको भर राइफलै मात्रै भयो । भर्ती भएको अर्काे वर्ष अर्थात सन् १९४१ देखि नै दोस्रो विश्वयुद्ध सुरु भयो । युद्धमा नगई सुख भएन । इटली, बेल्जियम, पेरु, लिबिया, इराक, इरान, इजिप्ट अनि टर्की पुगेर दुश्मनको इलाकामा पटटट्ट गोली वर्षाएको आवाज अझै गुञ्जन्छ उनको कानमा । सबैभन्दा नबिर्सने देश भने इटली नै रह्यो, जहाँ उनी ६ महिनासम्म युद्धबन्दी भए । दोस्रो विश्वयुद्ध चलिरहेको थियो, बेलायत त्यस युद्धको प्रमुख पात्र थियो ।

अर्काे थियो, जर्मनी । धेरै देशका धेरै ठाउँमा योरोले धेरै गोली चलाए र धेरै दुश्मन ढलाए । इटलीमा भने समय र परिस्थिति अर्कै भयो । जर्मनीका सेनाले एक्कासि घेराउ गरिहाले । धन्न मारेनन् । अनि ६ महिनासम्म थुनेर राखे । सय वर्षे जिन्दगीमा योरोले भोगेको सबैभन्दा कष्टकर जीवन त्यही युद्धबन्दी हुँदाको हो । भन्छन्, ‘भात पनि होइन, ढिंडो पनि होइन, के हो के खान दिन्थ्यो । त्यो पनि एक छाक, एक डाडुमात्रै ।’ अरु साथीभन्दा भन्दा अग्लो र बलियो अनि टाठो भनेर चिनिएकाले उनलाई थप दुख आइलाग्यो । अरुझैं बन्दीगृहभित्र थुनिएर मात्रै पुगेन, जर्मनी सेनाका हाकिमहरूको सेवामा हाजिर हुनुपर्ने भयो । बुट पालिस गर्नेदेखि केके–केके नानाथरीका सेवा उनको जिम्मेवारी बन्यो ।

ती हाकिमहरूको बासस्थानबाट फर्कंदा उनी डस्टबिनतिर फालिएका पाउरोटी समेलेर साथीहरूलाई लगिदिन्थे । चुरोटका ठुटाहरू बटुलेर लैजान्थे । ‘म आउने बाटो हेरेर साथीहरू जम्मा भएर बस्थे,’ उनी ऊ जमानाका कुरा सुनाउँदा भावुक हुन्छन् । अमेरिकी सेनाले ६ महिनापछि उद्धार नगरेको भए योरो र उनका साथीहरूलाई जर्मन सेनाले बाँच्न दिन्थ्यो कि दिन्नथ्यो भन्ने यकिन थिएन । ‘लडाइँका दिन कस्ता थिए बाजे ?’ यो उनलाई सर्वाधिक सोधिने प्रश्न हो । तर जतिपटक उत्तर दिए पनि उनको मन भरिएको छैन । कसैले सोधे सुनाउने जाँगर अहिले पनि लाग्छ । ‘लडाइँमा हिँड्दा अहिले देखेको मान्छे भरे देखिन्न,’ मृत्युजस्तो डरलाग्दो अनुभूतिलाई यति नजिकबाट व्याख्या गर्छन् उनी–भरे देखेको मान्छे भोलि देखिन्न ।

युद्ध घटना हो । यसमा भाग लिनु अनुभव । तर यसमा भागलिँदा लिँदै जीवनको अर्थलाई बुझ्नु सायद अनुभूति हो । घटना, अनुभव र अनुभूतिका यी साक्षी मान्छे कताकता दार्शनिक जस्ता सुनिन्छन् । जीवन, संघर्ष र मृत्युका अनेकन व्याख्याले भरिएका वृद्ध दार्शनिक । योरोले भने झैं उनकै ज्यान पनि भरे वा भोलि भन्ने अवस्थामा थियो । धन्न दैव संयोग उनलाई दोस्रो विश्वयुद्धको लडाइँले पनि बाँच्न दियो । केही चोट भने लागे । पहिलोपटक नाकमा छर्रा लागेको थियो । त्यसको दाग अझैं छ । दुइटा गोली पुठ्ठामा लागे । त्यसपछि ‘यसले लडाइँ लड्न पनि सक्दैन, विश्वयुद्ध पनि सकियो, सेना पनि धेरै चाहिन्न’ भनेर योरोलाई ब्रिटिसले पेन्सन पाउने गरी घर पठाइदियो ।

उनी सन् १९४६ मा घर फर्किए । ब्रिटिस पनि त्यसको एक वर्षपछि भारत छाडेर आफ्नै घर गयो । भारत र बेलायतले सेनाको अंशबन्डा गर्दा बहालवाला र पेन्सनवाला दुवैथरीलाई कुन देशतिर लाग्ने भन्ने मौका दिएका थिए । योरोले भारत रोजेछन् । त्यसैले अहिलेसम्म भारतले नै उनलाई पेन्सन बुझाउँछ । अहिले ६ महिनामा एकपटक बुझ्दा पेन्सन एक लाख २३ हजार जति पाउँछन् । त्यस हिसाबले महिनाको २० हजारभन्दा केही बढी पर्न आउँछ । श्रीमती हुँदासम्म पेन्सन बुझेर उनैलाई बुझाउँथे । ‘बुवाले आमालाई दिनुहुन्थ्यो, आमाले हामीलाई,’ साइँला छोरा फिमबहादुर भन्छन् ।

पूर्वीय संस्कारले मान्छेको आयु अधिकतम सय वर्षको हुने बताउँछ । नेपालको कानुनले पनि कुनै पनि व्यक्ति अधिकतम सय वर्ष बाँच्ने कल्पना गरेको छ । यसैले धर्म र कानुनमा उनी अधिकतम बाँचेका छन् । तर योरो गुरुङ जसरी सतायु बाँचेका छन् त्यसरी बाँचेका मान्छे भेट्न मुश्किलै पर्छ । योरोको लामो जीवनको पहेली के होला त ? उनका छोराहरूलाई छुट्टाछुट्टै भेटेर यही प्रश्न राख्दा एउटै उत्तर आउँछ । कान्छा छोरा यम भन्छन्—बुवाको विचारले बचाएको छ । अर्थात उनलाई लाग्छ योरोको विचार सधैं सकारात्मक हुन्छ । आहार, विचार र विहारले मानिसलाई स्वस्थ राख्छ भन्ने कुराको उदाहरण योरोलाई मान्न सकिएला । खानपानमा उनी रोजालु छैनन् तर अहितकरमा रुचि राख्दैनन् ।

‘रक्सी त्यति खानुहुन्न,’ फिमबहादुर भन्छन्, ‘सँगै बसेर आकलझुकल खाइयो भने पनि अब यसले हामीलाई खान सक्छ है भन्दै थोरैमा नै चित्त बुझाउनुहुन्छ ।’ चुरोटसँग पारपाचुके गरेको ३० वर्ष भइसकेको छ । एकपटक क्षयरोग लागेर उपचार गरेयता चुरोट पिएका छैनन् । यसबाहेक कुनै रोगका विरुद्द गोली चलाउनुपरेको पनि छैन । लाहुरेहरूमा देखिने विसंगतिबाट आफ्ना पिता सधैं टाढा बसेको छोराहरू सुनाउँछन् । ‘बाजेको पालादेखि नै ‘जुवा कभी नही हुवा’ भन्दै कहिल्यै नखेल्नुभएको रहेछ,’ फिमले भने । ‘अरुको सम्पतिमा आँखा नलगाउनू र लोभ नगर्नू ।

बरु आफ्नो केही छोड्नू,’ बाबुको यो अर्ति हरेकपल्ट घर आउँदा सुन्छन् बेलायत बस्ने कान्छा छोरा यमबहादुर । आशक्ति नै दुःखको कारण भएको सत्यबोध गर्ने यो गहिरो अभिव्यक्ति बुझ्न धम्मपद नै पढ्नु परेन उनलाई । योरो स्वयंलाई सय वर्षे जीवनको रहस्य के होला भनेर सोध्दा उनी भेडी र भैंसीगोठलाई जस दिन्छन् । पेन्सनमा आएपछि उनले ५ वर्ष भैंसी र भेडीगोठमा बिताएका थिए । ‘भैंसीको घिउले मलाई बलियो बनायो,’ उनी भन्छन्, ‘अब भगवानले जति भन्छन् त्यति समय बाँच्छु ।’ उनी भन्छन् अब जीवनमा आफ्नो कुनै इच्छा र चाहना बा“की छैनन् ।

हो, उनी उठ्छन् घाम झुल्कनुअघि । दिनभर परिवारका सदस्यसँग घरमा व्यस्त रहन्छन् । घरायसी धन्दामा हात बाँड्छन् । बारीमा तरकारी गोडमेल गर्छन्, कुखुरा र घरपालुवालाई दानापानी खुवाउँछन् …। सायद उनले भनेको इच्छा र उनले भनेको चाहना यिनै ससाना घरेलु कामका लयमा बाँकि छन् र बाँकि छैनन् । बरु उनको एकथान सुकिलो बुढ्यौली सपना छ । ‘मेरो कुनै इच्छा छैन । मेरा छोरानातिको समाजलाई सुख होस् । मलाई सन्तोक छ ।’