पूजा बोहोराले कानुनमन्त्री नरहरी आचार्यको नाममा लेखेको पत्र
माननीय कानुनमन्त्री,
नरहरि आचार्यज्यू,
नमस्कार ।
म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु ।
मेरो नाम पूजा बोहरा हो । घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ । मेरो बुबाको यथेष्ट जग्गाजमिन छैन । त्यसैले उहाँले धनीको घरमा हली बसेर सात सन्तानको लालनपालन गर्नुभएको हो । मेरो बुबा गरिब र अशिक्षित भए पनि सायद शिक्षाको महत्त्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राविमा भर्ना गरिदिनुभयो । मेरो भाग्य नै भन्नुपर्यो, जुन दिन विद्यालय टेक्ने अवसर पाएँ, कुनै परीक्षामा दोस्रो हुनु परेन ।
‘छोरी होस् त फलानोजस्ती’ भन्ने सुन्दा मेरा गरिब आमाबुबा गर्वका साथ सन्तुष्टिको सास फेर्नु हुन्थ्यो । अरूभन्दा तेज पढाइ भएका कारण मलाई विद्यालयले छात्रवृत्तिको सुविधा दिएको थियो । घरैनजिकको त्यो विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछि पढ्न अर्को विद्यालय जानुपर्ने भयो, जुन मेरो घरबाट डेढ घन्टाको उकालो-ओरालो जंगलैजंगलको बाटोमा थियो । एक त म सानी ९ वर्षकी थिएँ, अर्कोतर्फ जंगलको बाटो एक्लै जानुपर्ने भएकाले
मेरो आमाबुबाले ‘अब विद्यालय जानु पर्दैन, बरु विवाह गरिदिन्छौं’ भन्नुभयो । मेरो गाउँमा महिनावारी नभएकी छोरीलाई बेहुली बनाएर अन्मायो भने ठूलो धर्म लाग्छ भन्ने विश्वास छ । आमाबुबाको कुरा थाहा पाएर मेरा स्कुलका गुरुहरू घरमै आई सम्झाईबुझाई गरिदिनुभयो र मैले अर्को विद्यालय गएर पढ्ने अवसर पाएँ ।
अर्को विद्यालय गएपछि मैले झन् मिहिनेत गरेर पढ्न थालें । जसरी हुन्छ, राम्रो अंक ल्याएर एसएलसी पास गर्ने र भविष्यमा इन्जिनियर बनेर आफू जन्मेको दुर्गम पहाडी गाउँको विकास गर्ने मनमनै अठोट गरेकी थिएँ । त्यही क्रममा २०६८ चैत ७ देखि एसएलसी परीक्षा सुरु हुने खबर आयो । सिद्धेश्वर उच्च माविका विद्यार्थीका लागि बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा केन्द्र तोकियो । एसएलसीका लागि परीक्षा केन्द्र तोकिएको विद्यालय मेरो घरबाट ५ घन्टाको पैदल यात्रामा मात्र पुगिने र परीक्षा बिहानै ८ बजेदेखि हुने भएकाले मलाई फेरि अर्को समस्या आइपर्यो । धन्य, बुबाले बजारमै एकजना आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिनुभयो ।
दुई दिनको परीक्षापछि गणित विषयको तयारीका लागि एक दिन छुट्टी थियो । बिदा भएका कारण म बसेको घरका आफन्तको अनुमति लिएर पाटनबजारस्थित पुस्तक पसलमा गणितको गेसपेपर किनेर ल्याउँछु भनी गएँ । त्यो बजारमा एउटैमात्र पुस्तक पसल थियो । एसएलसी चलिरहेका कारण विद्यार्थीहरूको भीड थियो । म आफ्नो पालो कुरिरहेकी थिएँ । पुस्तक पसले ‘हिजोको जाँच कस्तो भयो, राम्रो गर्यौ ?’ भन्दै मसँग बोल्दै थियो । त्यहाँ बस्दाबस्दै गर्मी भयो । चैतको महिना त्यसै पनि गर्मी बढेको थियो । मैले ‘पानी दिनुस् न दाइ, कस्तो प्यास लाग्यो’ भनें । ऊ ‘एकैछिन है’ भनी पुस्तक पसलको सटरबाट भित्र अर्को कोठातिर गयो । अनि रित्तै आई ‘पानी सकिएको रहेछ, मैले लिन पठाएको छु’ भन्यो । मैले ‘ठिकै
छ घरमै गएर पिउँछु, मलाई किताब
दिनुस्, गइहाल्छु’ भनें ।
त्यत्तिकैमा अर्को मान्छे हातमा सोडापानीको गिलास बोकेर आयो । उनीहरूले एउटा मलाई दिए, दुईवटा गिलास आफूहरूले पिए । त्यो पिएको ४-५ मिनेटजतिमै मलाई कस्तो चक्कर
लागेजस्तो, त्यो पसल पूरै उल्टो फर्केजस्तो, वाकवाक लागेजस्तो भयो । मैले त्यही पुस्तक पसलेलाई ‘दाइ मलाई वाकवाक लागेजस्तो भयो, ट्वाइलेट कता छ’ भनी सोधें । ऊ ‘ट्वाइलेट अलि पर छ, म देखाइदिन्छु’ भनी अघिअघि लाग्यो ।
म ट्वाइलेटभित्र पस्नेबित्तिकै ऊ पनि सँगसँगै पस्यो । मैले किन आएको भन्दा ‘हल्ला नगर्, म जे-जे भन्छु, त्यही मान्’ भन्दै भित्तातिर धकेल्यो । एकैछिनमा अघि सोडा ल्याएर दिने केटो पनि आइपुग्यो । उसले ‘कोही आए भने मलाई बोला है’
भनी अर्को कुनै मान्छेलाई ट्वाइलेटबाहिर अह्राएको सुनेकी थिएँ । अब ट्वाइलेटभित्र दुईजना केटाहरू र म भयौं । मेरो खुट्टा थर्थरी काम्न थालेको थियो । अत्तालिएर स्वर पनि राम्रोसँग निस्किरहेको थिएन । तर पनि गुहार भन्दै चिच्याउन खोजें ।
म चिच्याएको देखेर एक जनाले मलाई समात्ने र मुख थुन्ने, अर्कोले कपडा खोल्ने गरे ।
म भने आफूलाई बचाउन ठूलो कसरत गर्दै थिएँ । २-३ मिनेटको घम्साघम्सीपछि, त्यो ट्वाइलेटमा ब्लेड रहेछ, त्यसले मेरो खुट्टाको औंला र पैतालामा काटिदिए । ‘अब यो ब्लेडले तेरो घाँटी चिर्छौं’ भन्दै थिए । म रुन, कराउन, बोल्न नसक्ने भइसकेकी थिएँ । उनीहरूले काटेको ठाउँबाट रगत बगिरहेको थियो । यत्तिकैमा उनीहरूले आफ्नो लुगा खोलेर मेरो मुखमा कोचिदिए र पालैपालो अस्मिता लुटे । मेरो सामूहिक बलात्कार गरे । मेरो अस्मिता लुट्नेहरू एउटा बैतडी जिल्ला, भूमेश्वर-३ को सागर भट्ट -वर्ष २३) थियो भने अर्को बैतडी, गुजर-२ को अमर अवस्थी -वर्ष ३०) थियो । सागर भन्ने जगन्नाथ पुस्तक पसलको सञ्चालक थियो भने अमर चाँदनी फोटो स्टुडियोको सञ्चालक थियो । उनीहरूले मलाई कति घन्टासम्म लुछे, त्यो याद छैन । होस आउँदा म ललितपुर जिल्लाको पाटन मानसिक अस्पतालको आकस्मिक कक्षमा लडिरहेकी थिएँ ।
हिजोसम्म सबैकी हाइहाइ भएर पुजिएकी म सबैकी पि्रय पूजा, अनि भविष्यमा इन्जिनियर बनी आफ्नो
दुर्गम जिल्लामा योगदान पुर्याउने अभिलाषा बोकेर बडो हर्षका साथ एसएलसी परीक्षामा सामेल भइरहेकी म पूजा सबैको तिरस्कारकी पात्र भएकी थिएँ । पत्रपत्रिका, टीभी, एफएममा मेरो समाचार आएको थियो । मेरो परिचय फेरिएको थियो । १४ वषर्ीया बालिका एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परी मानसिक सन्तुलन गुमाई अस्पतालमा भनेर सबैतिर प्रचार भएको थियो ।
पछि बुबा, आमा र काकाबाट मैले यी सबै कुरा थाहा पाएँ । पशुहरूले मलाई लुछ्नुजति लुछेर मरी भन्ने ठानी एकान्त नालीमा फालिदिएका रहेछन् । पुस्तक किन्न भनेर हिँडेकी म बेलुकासम्म नफर्केपछि आफन्तहरूले खोज्न जाँदा मलाई रगताम्य भई घ्यारघ्यार गरी नालीमा लडिरहेको अवस्थामा भेटेका थिए रे । बेहोस अवस्थामा फेला परेकी म होसमा त आएछु, तर पुरै मानसिक सन्तुलन बिग्रेको हालतमा ।
उता बैतडीमा मेरो स्कुलमा सबै साथीहरू, गुरुहरू एकजुट भई जुलुस निकालेपछि मात्र ती दुई जना अपराधीलाई प्रहरीले समातेर अनुसन्धान थाल्यो । अनि ममाथि परेको घटनाप्रति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै जनाले सहानुभूति प्रकट गर्नुभयो । मिडियाले लगातार मेरो अवस्था उजागर गरिदियो । त्यसैले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले मन्त्रीस्तरीय निर्णय गरी तत्काल मलाई एक लाख रुपैयाँ औषधोपचार खर्च पनि प्रदान गर्यो । प्रधानमन्त्री बाबुराम भट्टराईकै आदेशमा ती अपराधी पुर्पक्षका लागि थुनामा राखिएछन् ।
घटना भएको छ महिनापछि मात्रै मेरो मानसिक अवस्थामा सुधार आई पहिलेका कुराहरू सम्झन सक्ने भएँ । उता अपराधीहरूले ‘पागलले त जे पनि भन्छ, जसलाई पनि आरोप लगाउँछ, हामी निर्दोष छौं’ भन्दै छन् रे भन्ने सुनें । तसर्थ २०६९ पुस ९ गतेका दिन मलाई सहयोग गर्ने रक्षा नेपाल भन्ने संस्थाका कर्मचारी र अभिभावकको सहयोगमा म जिल्ला अदालत, बैतडीमा जिल्ला न्यायाधीश हिमालयराज पाठकका अगाडि बयानका लागि उभिएँ । त्यतिबेला मेरो सामुन्ने उभिएका ती अपराधीको हर्कत म यहाँ बयानै गर्न सक्दिनँ । मेरो बयान, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गरेको कपडा परीक्षण, अस्पतालले सामूहिक बलात्कार भएको भनी दिएको स्वास्थ्य परीक्षणको रिपोर्टलगायत अन्य अनुसन्धान र प्रमाणका आधारमा जिल्ला न्यायाधीशको इजलासले ती अपराधीहरूलाई १३ वर्ष कैद र जनही ५०-५० हजार रुपैयाँको जरिवाना तोक्यो ।
बयानपछि फेरि फर्किएर रक्षा नेपालकै सेल्टरमा आएँ । संस्थाकै सहयोगमा आत्मविश्वासी, निडर बन्ने तालिम लिन थालें । २०६८ सालको एसएलसी त ती अपराधीका कारण छुटिहाल्यो । इन्जिनियर बनी देशको सेवा गर्ने सपना टुटिहाल्यो । ०६९ सालभरि मानसिक र शारीरिक अवस्था मजबुत पार्ने, अदालत धाउनेमै गयो । ०७० सालमा चाहिँ पुनः १० कक्षा दोहोर्याएर पढें र त्यही सालको एसएलसीमा ७० प्रतिशत अंक ल्याई पहिलो श्रेणीमा पास हुन सफल भएँ ।
ती अपराधीले निमोठिदिएको मेरो जीवनमा थोरै आशा पलाउन थाल्यो । यो सफलतासँगै पुनः आफ्नो लक्ष्यमा पुग्ने सपना देख्न थालें । अलिकति खुसी हुन नपाउँदै २०७१ असार ३ गते कान्तिपुर दैनिकको प्रथम पृष्ठमा ‘बैतडीमा छात्रा बलात्कार प्रकरण, सामूहिक बलात्कारमा दोषी ठहरिएकालाई उन्मुक्ति’ भन्ने समाचार छापिएको देखें । त्यही समाचारबाट थाहा भयो- एक वर्षअघि बैतडी जिल्ला अदालतले १३ वर्ष कैद भनी गरेको फैसलालाई पुनरावेदन अदालत, महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको
संयुक्त इजलासले उल्टाइदिएको रहेछ र दुवैजना अभियुक्तलाई निर्दोष भनी सफाइ दिएको रहेछ ।
यो फैसला सुनेपछि अहिलेसम्म मेरो हालत के भइरहेको छ भन्ने कुरा म यहाँ व्यक्त गर्न सक्तिनँ र कसैले अन्दाज पनि लगाउन सक्तैन । अहिले ती दुवै जना अपराधी ठूलै युद्ध जिते जसरी गाउँमा छाती फुलाएर हिँडिरहेका छन्, म भने युद्धमा हारेको सिपाहीझैं लत्रिएर बस्नुपरेको छ ।
माननीय कानुनमन्त्रीज्यू, म अहिले अभिभावकविहीन भएकी छु । अपराधीहरू निर्दोष भनी छुटेकाले सबैले मलाई नै दोषी ठान्छन्, त्यसैले म आफ्नो गाउँ फर्किन सक्तिनँ । तसर्थ मैले सिंगो नेपाललाई आफ्नो घर मानेकी छु भने नेपाल सरकारलाई अभिभावक ठानेकी छु । त्यही अभिभावकहरूमध्ये सम्बन्धित क्षेत्रका मन्त्री हुनुभएकाले तपाईंलाई यो पत्र कोरेकी हुँ । तपाईंका दुई छोरीहरू हुनुहुन्छ भन्ने थाहा पाएकी छु । कृपया मलाई पनि आफ्नै छोरीझैं ठानी न्याय दिलाइदिनु हुन अनुरोध गर्दछु ।
मन्त्रीज्यू, अहिले बलात्कारसम्बन्धी नयाँ कानुन बन्दै छ भन्ने सुनें । १ सय ६१ वर्ष पुरानो अहिलेको मुलुकी ऐनमा परिमार्जन हैन, परिवर्तनको जरुरी छ । संशोधनमात्र हैन, संवेदनायुक्त हुनु जरुरी छ । जन्मकैद भने पनि त्यो आखिर २४ वर्षको मात्र सजाय हो रे भन्ने जानकारी पाएकी छु । अनि जति नै वर्षको कानुन बनाए पनि बलात्कृत छोरीले मैलेजस्तै सास्ती, पीडा त पाउने हुन् । बलात्कारको पीडा सबैलाई उस्तै हुन्छ । तसर्थ अब बन्ने ऐनमा बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गरी बलात्कृत छोरीहरूको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ भन्ने म जोडदार माग गर्छु ।
अन्त्यमा माननीय मन्त्रीज्यू, मेरो किटानी जाहेरीले पक्राउ परी दोषी सावित भई १३ वर्षका लागि जेल चलान भएका ती बलात्कारीहरू छुट्नु भनेको के उनीहरू निर्दोष अनि मचाहिँ दोषी हुँ त ? यदि म दोषी हुँ भने मलाई तुरुन्तै कारबाही गरियोस्, हैन भने ती बलात्कारीहरूलाई पुनः पक्राउ गरी सजाय सुनाइयोस् ।
– पूजा बोहरा
**************************************************************************
पत्रको जवाफ
प्रिय पूजा
तपाईंले २०७१ पुस १ गतेको कान्तिपुरमा मलाई सम्बोधन गरेर लेख्नुभएको पत्र पढेर म स्तब्ध भएँ । तपाईंमाथि भएको चरम अमानवीय र क्रूर अपराधको जति निन्दा गरे पनि कम हुन्छ । यस अपराधसँग जोडेर तपाईंले उठाउनु भएको अदालती न्यायको निष्पक्षता र स्वच्छतामाथिको प्रश्न, मुलुकको न्याय, कानुनमन्त्रीका रूपमा मेरा निम्ति थप चिन्ता र चुनौतीको विषय बनेको छ ।
बैतडी जिल्ला अदालतले बलात्कारका दोषी ठहर गरेर कैद र जरिवाना गरिसकेका व्यक्तिहरूलाई पुनरावेदन अदालतले केका आधारमा निर्दोष सावित गरेर छाडिदियो भन्ने कुराको यथार्थ छानबिन गर्न आजै (मंगलबार) मैले न्यायपरिषद्का अध्यक्ष सम्माननीय प्रधानन्यायाधीशसमक्ष औपचारिक पत्र लेखेको छु । मंगलबार दिउँसो बसेको न्यायपरिषद्को बैठकमा समेत यस विषयसँग सम्बन्धित सबै पक्षमा गम्भीर चासोका साथ छलफल भएको छ ।
आजै महान्यायाधिवक्ता कार्यालयमा पनि सम्पर्क राखेर तपाईंको मुद्दाको वर्तमान अवस्थाबारे मैले जानकारी लिएँ । मलाई जानकारी दिइएअनुसार तपाईंका तर्फबाट नेपाल सरकारले यही २०७१ मंसिर २१ मा सर्वोच्च अदालतमा सुरु अभियोगमा गरिएको माग दाबीबमोजिमै आरोपीहरूलाई सजाय हुनुपर्ने बेहोरासहितको पुनरावेदन गरिसकिएको रहेछ । सम्मानित सर्वोच्च अदालतले यस विषयमा यथाशीघ्र आफ्नो न्यायिक विवेक पुर्याउने नै छ भन्ने मेरो विश्वास छ ।
तपाईंले उल्लेख गरेझैं यतिखेर हामी १ सय ६१ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने ऐन बनाउने तयारीमा पनि छौं । महिला हिंसाविरुद्धका अन्य विधेयकमाथि पनि यतिखेर संसद्मा छलफल हुँदैछन् । बलात्कार सम्बन्धमा पनि नयाँ ऐनलाई पीडित-मैत्री कसरी बनाउने भन्ने विषयमा सरोकारवालाहरूको राय समावेश गरेरै कानुन बन्दैछ । एकैजनाले भनेजस्तै सबै नहोला, तर यस मुलुकमा छोरीहरू निर्धक्क हिँड्न सक्ने कानुनी प्रबन्ध हामी गर्नेछौं ।
तर बलात्कारजस्तो संवेदनशील विषयमा कानुन बनाउनुमात्रै पर्याप्त हुँदैन, कानुनको व्यावहारिक कार्यान्वयन र पीडितहरूको सुरक्षाका लागि परिवार, नागरिक समाज, अधिकारकर्मी, समाजसेवी र सञ्चारमाध्यमको निरन्तर खबरदारी र टेवा झनै आवश्यक हुन्छ । केही समयअघि आफ्नै बाबु र हजुरबुवाद्वारा निरन्तर आठ वर्षसम्म घरभित्रै बलात्कृत भएकी एउटी युवतीको प्रसंग चर्चामा थियो । मान्छेमा नैतिकताको ह्रास भएको योभन्दा ठूलो उदाहरण के हुन सक्छ ? दुर्भाग्यवश, बलात्कारीलाई कानुनमै प्रबन्ध भएको सजाय पनि त्यस घटनासँग सम्बद्ध ती छोरीका निम्ति कुनै कामको हुन सकेन । हाम्रो समाजका लागि यो भयानक लज्जाको विषय होइन र ?
तसर्थ व्यक्तिगत रूपमा मलाई लाग्छ- बालबालिकाहरूलाई नैतिक र चरित्रवान बनेर हुर्कन/बढ्न सक्ने वातावरणको निर्माण सबैभन्दा महत्त्वपूर्ण हो, ताकि हाम्रा छोराहरू बलात्कारी बनेर नहुर्कून् । समाज र समुदायमा नेतृत्वदायी तथा उत्प्रेरकको भूमिकामा रहनुभएका सबै मित्रहरू, खासगरी अभिभावक र विद्यालयका शिक्षकहरूलाई यही पत्रमार्फत म अनुरोध गर्छु- केटाकेटीहरूमा सदाचरणको विकास गर्न सहयोग पुर्याउनुहोस् । बालिकाहरूलाई यौन दुव्र्यवहार तथा बलात्कारबारे बेलैमा सजग सूचित गराउने र त्यसबाट जोगाउने सबैभन्दा निकट र उपयुक्त स्थानमा तपाईंहरू हुनुहुन्छ । हाम्रा छोरीहरूले बलात्कृत बनिसकेपछि मात्रै कानुन खोज्नु नपरोस् । बलात्कृत महिलालाई हेर्ने हाम्रो नकारात्मक सामाजिक दृष्टिकोण परिवर्तन गर्न पनि तपाईंहरूको सहयोग आवश्यक छ । सरकारले एक्लै केही गर्न सक्दैन, तपाईंहरूको सहयोग भयो भने धेरै कुरा गर्न सक्छ !
पूजा, तपाईंले पत्रमा मेरो अभिभावकत्वमाथि भरोसाको कुरा गर्नुभएको रहेछ । लोकतान्त्रिक सरकार भनेकै आफ्ना नागरिकप्रति अभिभावकत्व दिनुपर्ने मान्यतामा आधारित सरकार हो । न्याय, कानुनमन्त्री भएका कारणले म जान्दछु, यो क्षेत्रमा पनि समस्या छन्, त्यही भएरै पीडित नागरिकको न्यायसम्मको सहज पहुँच बढाउन तथा न्यायसेवालाई स्वच्छ र जनताप्रति जिम्मेवार बनाउन कसरी सकिन्छ भनेर म सुधारका लागि प्रयत्न गरिरहेको छु ।
बलात्कृत हुनु तपाईंको दोष होइन, पूजा । तपाईं यसबाट लज्जित वा विचलित हुनुपर्ने कुनै कारण छैन । तपाईं आफ्नो लक्ष्यमा अघि बढ्नुहोस्, तपाईंलाई न्याय प्रदान गर्न म, सरकार र आफ्नातर्फबाट समेत सबै प्रयत्न गर्नेछु । तपाईंलाई अप्ठेरोमा आश्रय दिने समाजसेवी संस्था रक्षा नेपाललाई मेरो हार्दिक धन्यवाद छ । यो महत्त्वपूर्ण विषयलाई गम्भीरताका साथ अगाडि ल्याएकामा कान्तिपुर दैनिकलाई पनि म धन्यवाद दिन्छु ।
स्नेही,
नरहरि आचार्य, कानुन तथा न्यायमन्त्री
-ekantipur