पोखरा/ कास्कीको छिनेडाँडामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको नपुग जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि जग्गाधनीले असन्तुष्टि व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार सङ्घर्ष समितिले पोखराको अमरसिंहचोकमा पहिलो चरणको विरोध कार्यक्रम गर्दै जग्गाको उचित मुआब्जा पाउनुपर्ने माग गरेको छ । पोखरा नागरिक उड्डयन कार्यालयले रोक्का राखेको ६२९ रोपनी जग्गाको फुकुवा, थप जग्गा अधिग्रहणको सूचना र निर्माण गतिविधि बन्द गर्नुपर्ने र भूमिकाहीन उच्चस्तरीय सहयोग समिति खारेजी र विकास निर्माण लगायतका पुराना निर्माण कार्य स्थगित गर्नुपर्ने समितिले माग गरेको छ ।
जनसरोकार समितिका अध्यक्ष बलराम कुँवरले विमानस्थलले जग्गा अधिग्रहण गरेको जग्गाको उचित मूल्य दिन सक्दैन भने अधिग्रहण गरेको जग्गा सरहको जग्गा दिनुपर्ने बताउनुभयो । समितिका सचिव बोधराज कार्कीले नागरिक उड्डयन कार्यालयले थप जग्गाको मुआब्जा प्रतिरोपनी रु २० लाख देखि रु ४४ लाखसम्म दिने निर्णय गरेकोमा त्यो ज्यादै न्यून भएको बताउनुभयो । उहाँले प्रतिआना रु १२ लाख नदिएसम्म थप जग्गा नदिने पनि उल्लेख गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले यही मङ्सिर १५ गते सार्वजनिक सूचनामा पहिलो चरणमा ८०.३२ रोपनी जग्गाको मुआब्जा दाबी गर्न आउनु भनी ३५ दिने सूचना प्रकाशित गरेको थियो । पहिलो चरणमा विजयपुर खोलाको डिल, विमानस्थलको तारवार, खोलाको डिललगायत जग्गाको सूचना प्रकाशित गरिएको थियो ।
विसं २०३१ सालमा विमानस्थल निर्माणका लागि भनेर तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएकोमा हाल नपुग ६२९ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो ।