विशेष अधिवेशन गरेर भट्टराईलाई अध्यक्ष बनाउन प्रचण्ड सहमत


काठमाडौं /एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशेष अधिवेशन गरेर नेता डा बाबुराम भट्टराईलाई अध्यक्ष बनाउन सहमत भएका छन्। सकेसम्म चाँडो महाधिवेशन गर्ने र प्रचण्डले डा. बाबुराम भट्टराईलाई एक कार्यकालसम्म अध्यक्ष पद हस्तान्तरण गर्ने सहमति भएको हो।

नेता वर्षमान पुनको घरमा भएको शीर्ष नेताहरुको गोप्य बैठकमा डा. भट्टराईलाई पार्टी अध्यक्ष बनाउने सहमति भएको हो । सो बैठकमा प्रचण्ड पक्ष र भट्टराई पक्षमा करिब एक दर्जन शीर्षनेता सहभागी थिए । भट्टराईलाई अध्यक्ष बनाउने गरी भएको सहमतिअनुसार एक कार्यकाल अर्थात बढीमा चार वर्षपछि भट्टराईले नयाँ पुस्तालाई पद हस्तान्तरण गर्नुपर्ने छ ।

गोप्य बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सहभागी नगराइएको र भट्टराईलाई अध्यक्ष बनाउने अग्रिम सहमति भएकोमा उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट रहेको तथ्य बाहिर आएको छ। उता डा. बाबुराम भट्टराईले चाँहि आफूले पदीय भागवण्डाका लागि नभई पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा अन्तरसंघर्ष गर्दै आएको बताएका छन् ।

नेता डा.भट्टराईलाई अध्यक्ष बनाउन प्रचण्ड सहमत हुनुभएको छ, एमाओवादी स्रोतले भन्यो, यसका लागि सकेसम्म छिटो विशेष महाधिवेशन गर्ने सहमति भएको छ। विशेष महाधिवशेनबारे छलफल गर्न मंसिर २८ गतेदेखि पार्टी केन्द्रीय समितिको बैठक बस्ने भएको छ।