काठमाडौं/ सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बागलुङ क्षेत्र नं. १ का सभासद् हरिबहादुर खड्काको उपचारको क्रममा निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत खड्काको आइतबार साँझ निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनापछि बेहोस सभासद खड्काको नाक, मुख र पिशाव नलीबाट पनि रगत बगेको थियो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना भएको थियो। जिप उकालोमा चढ्न नसक्दा सडकमै पल्टेर दुर्घटना भएको थियो । दुर्घटना हुँदा सभासद खड्कासहित चार जना घाइते भएका थिए । गम्भीर घाइते खड्कालाई उपचारका लागि बुधबार नै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
बागलुङ नगरपालिकामा २०२० साल जेठ १८ गते जन्मिएका स्व. खड्काकाले कांग्रेस गाउँ समिति सदस्यबाट राजनीति सुरु गरेका थिए । उनले गाउँ, नगर, जिल्ला हुँदै कांग्रेस महाधिवेशन प्रतिनिधिसम्म भएका थिए ।
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । सभासद खड्काको निधन पछि देश तथा विदेशबाट शुभचिन्तकहरुले सामाजिक संजाल मार्फत श्रदान्जली ब्यक्त गरेका छन्। यसअघि सभासद खड्काको शिघ्र स्वास्थलाभको कामाना गर्दै बागलुङमा उनका शुभ चिन्तकहरुले दिप प्रज्ज्वलन गर्दै प्राथना समेत गरेका थिए।