खाडी र मलेसिया जाने गरीब नेपाली मात्र हैन,युरोप–अमेरिका ताक्ने पढालेखाहरू समेत ठगिंदै


वैदेशिक रोजगारका लागि खाडी र मलेसिया जाने गरीब नेपाली मात्र हैन, धेरै कमाउने लालसामा युरोप–अमेरिका ताक्ने पढालेखाहरू समेत नराम्ररी ठगिंदैछन् ।

-रामेश्वर बोहरा
राम्रैसँग मोटरसाइकल वर्कसप चलाएर बसेका काठमाडौं महानगरपालिका–२२ का सुरज डंगोल (३३) लाई क्यानडा गएर धेरै पैसा कमाउने रहर जाग्यो ।
काठमाडौंकै महादेवस्थान–६ का केशव बस्नेत (२९) लाई पनि साथी सुरजको योजना राम्रो लागेपछि दुवैले हडिया–८, उदयपुरका मनोज कार्कीलाई ३ जेठ २०६६ मा जनही रु.११ लाख बुझाए ।
दुई महीनाभित्रै क्यानाडा उडाउने बाचा गरेका कार्की भने आलटाल गर्दै समय गुजार्दा गुजार्दै सम्पर्कविहीन भए ।
धुलिखेल–१, काभ्रेका राजेन्द्र तामाङ (२६) ले ‘फूड प्याकिङ’को काम गर्न बेल्जियम पठाइदिन्छु भन्ने काठमाडौंकै शेषनारायण–९ का कविराज लामा (५५) लाई सजिलो कामबाट मासिक रु.१ लाखभन्दा बढी कमाइ हुन्छ भनेपछि दुई पटकमा रु.११ लाख बुझाए ।
लामाले १२ पुस २०६९ मा रकम बुझ्दा एक महीनाभित्र काम हुन्छ भनेका थिए । तर, प्रक्रिया मिल्न बाँकी रहेकाले केही ढिलो भएको भन्दै आलटाल गरेका लामा अहिले सम्पर्कमै छैनन् ।
काभ्रेको सापिङ–४ की संगीता अधिकारी (२८) एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं आएर अध्ययनसँगै हायात होटलमा काम थालिन् ।
कहिलेकाहीं होटलमा आउने थानकोटका दीपक बस्नेत (३३) ले ‘गतिलो कमाइका लागि’ जापान जान सल्लाह दिन थालेपछि संगीताले नयाँ सपना देख्न थालिन् ।
बचत र ऋण समेत खोजेर रु.११ लाख बुझाएकी उनी दीपक सम्पर्कविहीन भएपछि घर पत्ता लगाएर थानकोट पुग्दा घरका सबैले उल्टै धम्क्याएर फर्काए ।
सुरज, केशव, राजेन्द्र र संगीता व्यवहार धान्न कठिन भएर हैन, थोरै समयमा धेरै कमाउने लोभमा ठगको फन्दामा परेका प्रतिनिधि पात्र हुन् ।
यी चारै जनाले तिरेको रकमसँगै क्षतिपूर्ति समेत असुली र ठगमाथि कारबाहीको माग गर्दै जेठ पहिलो र दोस्रो साता वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन् ।
विभागले कार्की, लामा र बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई पत्र काटेको छ ।
लोभबाट विलाप
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र खाडी मुलुक जाने नेपालीहरू ठगिएका घटना धेरै छन् । कोही यहीं ठगिन्छन्, कोही उता पुगिसकेपछि बिचल्लीमा पर्छन् ।
स्वदेशमा रोजगारीको अवसर नहुँदा कठिन श्रम गर्न विदेश जाने गरीब नेपालीहरू ठगीको शिकार बन्दै आएकोमा अब पढे–लेखेका र हुनेखानेहरू धमाधम पीडितको सूचीमा पर्न थालेका छन् ।
वैदेशिक रोजगार विभागका पूर्व निर्देशक सूर्यप्रसाद भण्डारी भन्छन्, “युरोप, अमेरिका, क्यानाडा, जापान लगायतका देशका सपना देख्ने हैसियत भएकाहरू ठगको फन्दामा पर्न थालेका छन् ।”
विभागका एक पूर्व महानिर्देशक भने अमेरिका, बेलायत, बेल्जियम, क्यानाडा, जापान लगायतका मुलुक जान खोज्दा ठगिएपछि उजुरी गर्न आउनेहरू गैरकानूनी रूपमा विदेशमा गएर बस्न खोज्नेहरू भएकाले यसलाई वैदेशिक रोजगारीको मुद्दा भन्न नमिल्ने बताउँछन् ।
“व्यक्तिगत रूपमा उच्च जीवनस्तरका निम्ति मात्रै उनीहरू विदेश जान चाहन्छन्”, ती महानिर्देशक भन्छन्, “वैदेशिक रोजगारीमा जान चाहेको हो भने मास्टर्स डिग्री गरेकाहरूलाई श्रम स्वीकृति लिनुपर्छ भन्ने थाहा हुन्न र १”
पछिल्लो किसिमको ठगीमा पर्नेहरू इलमधन्दा भएका, पढालेखा र तुलनात्मक रूपमा ‘बाठा’हरू धेरै छन् ।
त्यसरी ठगियौं भन्दै आउनेमध्ये केही त फरर्र अंग्रेजीमा कुरा गर्ने विभागका अधिकारीहरू बताउँछन् ।
“युरोप–अमेरिका जान खोज्दा दलालले फसायो भन्दै आउनेहरू धेरैजसो पैसाको दुःख नहुनेहरू छन्”, एक अधिकारी भन्छन्, “उनीहरू रोजगारीका नाममा एउटा मुलुक पुगेर त्यहाँबाट शरणार्थीका रूपमा अर्कै देश पसेर बस्ने ताकमा रहेको बुझ्न्छि ।”
विभागका अधिकारीहरूका अनुसार, ‘धेरै कमाउने’ लोभमा परेकाहरूलाई म्यानपावर कम्पनी र दलालहरूले ‘मुर्गा’ बनाउने गरेका छन् ।
काठमाडौं विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी, म्यानपावर कम्पनी, दलाल र प्रहरी समेतको मिलिभगतमा ‘सेटिङ’ मिलिहाल्यो भने उनीहरूमध्ये कतिपयलाई ‘भिजिट भिसा’ र कतिपयलाई ‘ट्रान्जिट भिसा’ मा उडाइन्छ पनि ।
त्यसरी जाँदा पनि उनीहरू म्यानपावर कम्पनीमार्फत होइन, व्यक्तिगत रूपमा गएका हुन्छन् ।
वैदेशिक रोजगार विभागमा गत साउनयता यसरी ठगिएका एक हजार २३१ उजुरी परेका छन् । यस्ता ‘व्यक्तिगत उजुरी’ मा केही विदेश पुगेर अलपत्र परेपछि फर्केकाहरू छन् ।
पछिल्लो समय यो धन्दामा कन्सल्ट्यान्सीहरू पनि थपिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी० ले २१ जेठमा एउटा गिरोह समातेपछि यो धन्दाको नयाँ रूप बाहिर आएको हो ।
सीआईबीले काठमाडौंका सात वटा एजुकेशनल कन्सल्ट्यान्सी र ल्याङ्ग्वेज सेन्टरले नक्कली कागजात बनाई रु।१० लाखसम्म लिएर ‘विद्यार्थी’का रूपमा जापान पठाउने गरेको भेटेको छ ।
नक्कली कागजात लिएर सिंगापुरहुँदै जापान उड्न लागेका माझठाना ९कास्की०का यामबहादुर गुरुङलाई अध्यागमन विभागले २ जेठमा पक्राउ गरेपछि यसमा सीआईबीले हात हालेको थियो ।
“यसमा संगठित गिरोह त संलग्न छ नै, पीडित भनिएका व्यक्तिहरू पनि कम दोषी देखिंदैनन्”, सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वरबाबु कार्की भन्छन्, “उनीहरूमाथि पनि कारबाही गर्नुपर्ने अवस्था छ ।”
सीआईबीले ६ जना कन्सल्ट्यान्सी सञ्चालक र त्यहाँ काम गर्ने कर्मचारीसहित विदेश जान खोज्ने ९ जनालाई समातेको छ ।
कन्सल्ट्यान्सीहरूले नै कागजात बनाएर विदेशका कलेजमा भर्ना गरेको, भिसा निकालिदिएको र टिकट काटेर पठाउन लागेको भेटिएको छ ।
एसपी कार्की यसमा दूतावासहरूको पनि कमजोरी देख्छन् । उनका अनुसार, नेपालीलाई भिसामा कडिकडाउ गर्ने दूतावासहरूले नक्कली विद्यार्थीको हकमा भने सम्बन्धित ठाउँमा ‘भेरिफाई’ नै नगरेको देखिएको छ ।

विदेशमा कहर
कामदारका रूपमा प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर युरोप लगायतका मुलुक पुगेका नेपालीहरू समेत बिचल्लीमा छन् ।
श्रम स्वीकृति लिएर अनि प्रतिव्यक्ति रु.१२ लाख तिरेर पोर्चुगल पुगेका कामदारहरूले ‘बरु खाडी जानू, युरोपको लोभमा परेर कोही नआउनू’ भनेका छन् ।
(हे.पोर्चुगलमा बिचल्ली) प्रक्रियागत ढंगले गएकाहरूको त यो अवस्था छ भने अवैधहरूको हालत झन् के होला ?
खाडी मुलुक हुँदै युरोप हिंडेका ९ नेपाली केही दिनअघि टर्कीमा बन्धक बनेको खबर सार्वजनिक भयो ।
गत साउनमा दलालहरूले अमेरिका हिंडाएका करीब एक हजार नेपाली ब्राजिल, बोलिभिया, चिली र इक्वेडरमा अलपत्र परेका थिए ।
दोहाबाट विमानमा ब्राजिल र त्यहाँबाट बोलिभिया पुर्याइएका उनीहरूलाई स्थलमार्गबाट पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोष्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका पुर्याउने भनिएको थियो ।
रु.२०–२२ लाख तिरेर अमेरिका पुग्न त्यो बाटो रोजेकाहरूमध्ये निकै सम्पन्न परिवारका सदस्यहरू पनि थिए ।
यसरी जानेहरू कति छन्, तिनले कति रकम खेर फाले भन्नेबारे वैदेशिक रोजगार विभाग अनभिज्ञ हुन्छ ।
एक त धेरैजसोलाई ‘भिजिट भिसा’मा लगिन्छ, त्यसमाथि वैदेशिक रोजगारका लागि खुला १०८ मुलुकमा कामदार लैजान तोकेको अधिकतम लागत एक–डेढ लाखभन्दा बढी छैन ।
त्योभन्दा बढी रकम तिरेको कुनै प्रमाण हुँदैन र त्यसरी विदेश गइसकेपछि ठगिनेहरूले कानूनी लडाईं लड्ने ठाउँ समेत हुँदैन, जसको फाइदा मानव तस्करहरूले उठाइरहेका छन् ।
पोर्चुगलमा बिचल्ली
सन्तोष न्यौपाने/रामहरि लामिछाने, पोर्चुगल
मासिक १२०० युरो कमाइसहितको युरोप बसाइँको लोभमा रु.१२ लाख तिरेका ६० भन्दा बढी नेपाली युवकले पोर्चुगल टेक्नासाथ हरिबिजोगको सामना गर्नुपर्यो ।
राजधानी लिस्बनको विमानस्थलबाट उनीहरूलाई जंगलै जंगल निकै टाढाको गाउँमा लगेर राखियो ।
“चिसो ठाउँमा ओढ्ने–ओछ्याउने विना भोकभोकै रात काट्नुपर्यो”, तीमध्ये एक मोरङका प्रेमकुमार थापा भन्छन्, “युरोप आएर धेरै कमाउने सपना यहाँको वास्तविकतासँग ठोक्किएर चकनाचूर भएको छ ।”
कृषि क्षेत्रमा काम गर्न सरकारबाटै श्रम स्वीकृति लिएर आएका उनीहरू अहिले पोर्चुगलमा फँसेको दुःखमनाउ गरेर बसेका छन् ।
सिनामंगल, काठमाडौंमा कार्यालय रहेको एलाइन्स ह्युमन रिसोर्स म्यानपावरलाई रु.१० लाखदेखि रु.१२ लाखसम्म बुझाएका उनीहरू सन् २०१२ को अप्रिल र सेप्टेम्बरमा पोर्चुगल आइपुगेका थिए ।
म्यानपावर कम्पनीसँग भएका सेवा, शर्त र सुविधाका सम्झौता न्यूनतम रूपमा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ ।
म्यानपावर कम्पनीले खानाको व्यवस्था कम्पनीबाटै हुने भनेकोमा अहिलेसम्म त्यो लागू भएको छैन । ४०० युरो पनि नपुग्ने तलबबाट ११ प्रतिशत कर तिर्नुपरेको एक युवकले बताए ।
“एलाइन्सका सञ्चालक सुजित श्रेष्ठले बस्नलाई प्रत्येक कामदारलाई छुट्टै कोठाको व्यवस्था हुने र ओभरटाइम समेत गर्दा मासिक १२०० युरो कमाइ हुने विश्वास दिलाएका थिए”, ती युवक भन्छन्, “तर, अहिले एउटै कोठामा १२–१३ जना कोचिएर बसेका छौं, बिरामी हुँदा उपचारको व्यवस्था पनि छैन ।”
तीमध्येका दुर्गा पाण्डेले आलु मात्र खाएर बस्नुपरेको पीडा सुनाए । नेपालमा एउटा कम्पनीमा काम गर्ने भनेर पोर्चुगलमा पहिला नामै नसुनेको कम्पनीमा काम लगाएको बताए । “म्यानपावरले हामीलाई भेडा झैं बेचेछ”, पाण्डेले भने ।
भिसाका निम्ति अन्तर्वार्ता दिन भारतको दिल्लीस्थित पोर्चुगलको दूतावासमा लैजाँदा उनीहरूलाई म्यानपावर कम्पनीले ‘रु.६०–६५ हजार मात्र तिरेको’ भन्न लगाएका थिए ।
पत्रपत्रिकामा विज्ञापन गर्दा मासिक तलब रु.५२ हजार हुने सूचना भनेको म्यानपावरले जम्मा लागत रु.६०–६५ हजार भन्न लगाएर शुरूमै चलाखी गरेको थियो ।
त्यो देख्दादेख्दै पनि उनीहरू त्यत्रो बुझाएर उडेका थिए । तीमध्येका एक कामदार भन्छन्, “केही न केही होला भनेर हिंडेको, यहाँ आएर वास्तविकता थाहा भयो ।”
म्यानपावर कम्पनीले कतिसम्म झुटको खेती गरयो भने भिसाका लागि उसले ‘मितिर्सुल’ र ‘मसिल–फरुतास’ नामका कम्पनीको कागजात देखायो अनि पोर्चुगल पुगेपछि ‘मार्जिन प्रिन्सिपल’ नामको कम्पनीमा पठायो ।
म्यानपावरले ‘मितिर्सुल’ र ‘मसिल–फरुतास’ का कागजात अध्यागमन विभागमा देखाएपछि जहाजमा च्यातेर फाल्न वा लुकाएर राख्न अह्राएको थियो, जसलाई कामदारहरूले तामेल गरे ।
पाण्डे भन्छन्, “भनेको कम्पनीमा काम किन लगाएनौ भनेर सोध्दा म्यानपावरले जता गरे पनि कामै हो भन्यो ।”
‘मार्जिन प्रिन्सिपल’ इजरायली नागरिक अरोन रोनी बर्गिगकी श्रीमती ओश्रातको नाममा सन् २००८ मा पोर्चुगलमा दर्ता भएको कम्पनी हो ।
विभिन्न देशबाट कामदार ल्याउने यो कम्पनीले गत वर्षदेखि नेपालका केही म्यानपावरसँग सहकार्य थालेको छ । कामदारहरूले तिर्ने रु.१०–१२ लाखबाट मार्जिनले रु.५ लाख लिन्छ ।
कम्पनीसँग दुई वर्ष काम गर्ने करारनामा गरिए पनि पोर्चुगल आएको पहिलो दुई महीना काममा लगाएर अर्को दुई महीना खाली राखिन्छ । गुनासो गर्दा ‘रेसिडेन्सी कार्ड’ खोसिदिने धम्की दिइन्छ ।
पोर्चुगलमा यसरी दुःख पाएका कामदारहरू युरोपको रहरमा फँस्नुभन्दा दुबई, कतार, मलेसिया लगायतका मुलुकहरूमा काम गर्दा ठीक हुने सल्लाह दिन्छन् ।
नेपालका म्यानपावर कम्पनीहरू चाहिं ‘युरोपको रेसिडेन्सी कार्डले जीवनलाई सुखी बनाउने’ विज्ञापन छपाइरहन्छन् । उनीहरूमाथि राज्यको निगरानी पनि छैन ।

स्रोत- हिमालखबर बाट