म निधार पठाउँछु तिमी भाइटिका लगाइदिनू


 

-अनुपम शर्मिला 

आँगनीको डिलमा गुलाबी मुस्कान छर्दै मुस्काइरहेका मँखमली, सयपत्री, हजारी र गोदाबरी फूल शरद ऋतुसँग सामिप्यता गाँस्दै हाँसीरहेको हरियाली प्रकृृति गैरी र टारी खेतमा झुलिरहेको धानको बाला …..आफ्नै संस्कृति र भेषभुषामा सजिएर वल्लो गाउँ र पल्लो गाउँसम्म पुगी मादलु र डम्फुको तालमा देउसी भैलो खेल्नुको मज्जा आहा…. तिहार सम्झँदा मात्रै मन प्रफुल्न भएर आउँछ।

रंगहरूको पर्व, फूलहरुको पर्व, उज्यालोको पर्व, तिहार दिपावली, भाइटिका जो संस्कृतिको स्वाभिमानयुक्त धरहरामा उभिएको छ युगौँदेखि र उभिनेछ युगौँ युगससम्म।

समयको रफ्तारसँगै फेरिएको छ तिहारको मुहार परम्परागत तिहारको ठाउँमा आधुनिकताको खोक्रो खोल ओढेको तिहार भित्रिएको देख्दा मन खिन्न भएर आउँछ। जो टिकामाला र आर्शिवाद लिने भन्दा महंगा उपहार दिने तर्फ मोडीएको छ।

घुम्दै आयो तिहार अहिलेनि छमछम नाँचिदेउ भैलेनी….फूल फुल्यो दुई थुंगा लर्केर यसपाली त आउ दाजु फर्केर……जस्ता गीत। शहरमा मौलिक सोरठी … मारुनि र पुरुषुगे नाँच देख्न पाइदैन। गाउँमा बज्ने यि भाकाको साटो…झुम्मेकि रात हे…चुम्मेकि बात हे……..जस्ता हिन्दी गीत बज्छन शहरको देउसी भैलीमा आजकाल।

जब तिहार आउँछ तब दाजुभाइको यादले अझ सताउँछ। एउटा तिहारले वैदेशिक यात्रा तय गरेको वर्षदिन नपुग्दै दुई महिनाअघि फेरि अर्को तिहार मुग्लान पसेको छ मेरो। चाडपर्वको महत्व नराखी कोहि मुलुकको अर्थतन्त्र धान्न र परिवार पाल्न मुग्लान गएका छन त कोहि त देशको नाम राख्न मरिमेटेर क्रिकेट खेल्दै छन् राष्ट्रको मायाँ छातिमा राखेर।

विणम्बना उनीहरुको पिडा बुझ्दैन सरकार। छरछिमेकमा सबका दाजुभाइ दिदीबहिनी जम्मा भएर तिहार मनाइरहँदा मुग्लान छिरेका दाजु भाइको यादले मेरो मुटु दुख्छ बेस्सरी। भाइ गएदेखि नओभाएका मेरी आमाका आँखा दाजु गएदेखि त झन् वर्षाको मुलजस्तै हरपल ओसीला हुन्छन्।

आमासँग आँखा जुधाउनसम्म सक्दिन म। बडो संकट र पिडामा गुज्रिरहेको हामी गरिबको जिन्दगी। फूलहरुले पनि घरिघरि गिज्याएजस्तो लाग्छ। टिकाले खुच्चीङ भनेर हाँसेजस्तो लाग्छ। रंगोलीहरु पनि पूरै श्यामश्वेत देख्छु। उज्यालोको पर्व पूरै अन्धकार बनेजस्तो भान हुन्छ।

दुई दिनअघि माइक्रोमा साथीसाथी बिचको एउटा संवाद सुनेकी थिए। एउटाले भन्दै थिए, ‘दिदीबहिनी नहुँनुको पीडा कस्तो हुन्छ मात्र तिहारमा थाहा हुन्छ यार। यही पिडा बिर्साउँन प्रत्येक तिहारका पाँच दिन म रक्सीको बोतलसँग जीवन साट्छु जसले मलाई यमपञ्चकभर अचेत बनाओस र तिहार आए गएको थाहै नहोस।’

अर्कोले भन्दै थिए, ‘समाल यार आफूलाई अरुको खुसी हेरेर भएपनि बाँच्न सक्नुपर्छ जिन्दगीमा कहिलेकाँहि।

छोरा नभएको परिवारलाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयमा रिपोर्टिङ गर्ने क्रममा म राजधानीकै घरमा पुगेकि थिए। आमा छोरीको आवाज लिने क्रममा कक्षा आठमा पढ्ने छोरीले भनेको कुरा आजपनि ताजै छ। ‘अरु बेला खासै त्यस्तो लाग्दैन जब तिहार आउँछ तब नरमाइलो लाग्छ, साथीहरुले दाजुभाइका कुरा गर्दा मन दुख्छ अनि मम्मीले नदेख्नेगरी एक्लै बसेर रुन्छु।’ म भावुक बनेक थिए त्यतिबेला।

पाँच भाइकि एक्ली बहिनी मेरी मिल्ने साथी कान्ती जस्को मुहार दशैँ तिहारमा कान्तिमय नभएको आज ६ वर्ष बित्यो। उसका नयनहरु सदा दाजुहरुको बाटो हेरी टोलाइरहेका हुन्छन्। जेनतेन आफूलाई समाल्दै म कहिलेकाँही सम्झाउँछु उसलाई कम्तीमा तिम्ले र मैले त आपसमा पीडा साट्न पाएका छौँ दुःखसुख जे भएपनि आमा बाबाको काखमा छौँ। हाम्रा दाजुहरु जो घरपरिवारको यादमा पराईको देशमा कति छटपटिदा हुन्। न पीडा सुनिदिने कोहि छ न आपत विपतमा साथ दिने कोहि छ।

यो देशबाट मुग्लान छिर्ने मेरा र कान्तीका दाजुभाई मात्र हैनन्। हामीजस्ता मध्यम र निम्न बर्गका कमै घर होलान जसका कोहि न कोहि सन्तान मुग्लानमा पैसासँग जीवन साट्न गएका नहौँन। कहिलेकाँही त यस्तो लाग्छ यो दुनिँयामा धनै ठूलो हो मन, मुल्य, मान्यता, नैतिकता र पढाइ भन्दा। हातमुख जोर्नकै लागि परदेशीएका हुन हाम्रा दाजुभाइ। ना कि नेताका छोराहरुजस्तै महंगा विश्विद्यालयमा पढ्न र राष्ट्रको ढुकुटी सित्तैमा सिध्याउँन।

भगवानसँग यही कामना र प्रार्थना छ मेरो हाम्रा दाजुभाई तिहारको आसपासमा छिट्टै हामी सामु आउँने वातारण मिलोस। अनि सरकारसँग एउटै बिन्ती छ विदेशीएका युवालाई स्वदैशमै रोजगारी देउ। विदेश पलायनलाई छिट्टो भन्दा छिट्टो रोक। हैन भने कागजमा सिमीत युवामैत्री घोषणापत्रहरुको छिट्टै अन्तिम संस्कार गरीदेउ।

सबै कुराले परिपूर्ण कोहिपनि हुँदैन कसैलाई केहिको अभाव त कसैलाई केहिको अभाव खड्केकै हुँन्छ। जे भएपनि हामीले मनलाई सन्तुलित पार्नै पर्छ।

मन न हो फोनमा कुरा नगरौँ निराश लाग्छ, गरौँ भेट्न मन लाग्छ भेट्न भौतिक दुरताले साथ दिदैँन। किनकी हामी सात समुन्द्र वारपार छौँ।

यसपाली पनि म आउँन सकिन नानु। तिमीलाई तिहारको लागि के उपहार पठाउँ साथि आउँदै छ। दाइकोे म्यासेज आएको थियो। यसपाली पनि दाजुको निधारसँग बहिनीका हातको भेट नहुँने पक्का भो। यस्तै सोँच्दै भत्किएको मनले समालिएर म्यासेजको उत्तर दिएँ।

‘म पनि आधुनिक समाजमा जन्मिए हुर्किए दाजु, तर आधुनिकताको नाममा मैले आफनो परम्परा र औकातलाई बिर्सेकी छैन। तपाइलाई थाहै छ नि हामीसँग उपहारको व्यापार गर्ने क्षमता छैन। समाजमा तिहारको व्यापार भैरहेको छ दाजु।’

मेरा संगीहरु दाजुले कति वजनदार खाम दियो र बहिनीले कस्तो खालको उपहार ल्याई भन्नेतर्फ तल्लिन छन्। तर, दाजु मलाई वजस्वी खाम र महंगो उपहारकौ लोभ छैन। चुहेको घरको छानो टाल्ने र परिवारको भविष्य बनाउँने सपनाका खातीर दाजुले अर्काको देशमा पसिनाका सिन्धु बगाएर जम्मा गरेको पैसा बहिनीलाई महंगो उपहारको लागl जरुरी छैन। बरु त्यो उपहार किन्ने पैसा घरमा जस्ता लगाउँन सदुपयोग गरौँला। aस पसीना बगाउँनु नपर्ने र पैसा नलाग्ने महत्वपूर्ण उपहार आर्शिवाद खुसी मनलै दिए पुग्छ। तपाइ मुग्लानबाट छिट्टै घर फर्कनु मेरा लागी दाजुले दिएको यो भन्दा ठूलो उपहार अरु केहि हुँनेछैन। प्रदेशमा आफ्नो ख्याल राख्नु, धेरै चिन्ता नगर्नु र छिटटै फर्कि आउँनु। सम्झनु मेरी बहिनी सप्तरंगी टिका र मखमलीको मालासहित हरपल दाजुकै प्रतिक्षामा छे।’

म्यासेजको प्रतिउत्तर यस्तो आएको थियो।

‘प्यारी बहिनी जब घर छोडिदोरहेछ तब दिल तोडिदोरहेछ । घरको याद नआएका पल हुँदैन, तरपनि चार्डपर्वमा घर परिवारको यादले अझ बढी सताउँछ। दशैँ तिहारले रुवाउँछ। तरपनि बाँच्नका लागि संघर्ष त गर्नै पर्‍यो भनेर मन कठोर बनाउँछु। परम्परालाई नभुल्नै र वास्तविकतालाई बुझ्ने मेरी बहिनीप्रति मलाइ गर्व छ। तिमी पनि चिन्ता नगर्नु आफ्नो र आमाको ख्याल राख्नु। अरुको सामु आँसु नबगाउँनु किनकी समाजमा पीडा बुझ्नेभन्दा खिल्ली उडाएर हाँस्ने अनुहार धेरै हुँन्छन्। ऋण तिर्न सक्ने पैसा जम्मा गरेपछि म घर पर्कनेछु। यो तिहारमा सानो मन नबनाउँनु प्यारी बहिनी सम्झनु म निधार पठाउँछु तिमी भाइटिका लगाइदिनू।’

-seto pati प्रकाशित मिति: शनिबार, कार्तिक ८