महाकवि देवकोटाको १०६ औँ जन्मजयन्ती मनाइँदै


काठमाडौँ /
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९९६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।

नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटाको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै भारतका महाकवि सुमित्रानन्द पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको समष्टिरूपसँग तुलना गरेका थिए । नेपाली नाट्य जगत्का सम्राट बालकृष्ण समले देवकोटाको मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै तीनपटक जन्म भएको अभिव्यक्ति दिएका थिए ।
नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान रही आएको छ ।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई नेपाल राज्यभर अनिवार्य विषयका रूपमा लागू गराउनु, त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरमा जग्गाको व्यवस्थापन गर्नु र २०१४ साल असार ९ गते हालको नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका अविस्मरणीय योगदान मानिन्छ ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता भएको उनको स्वकीय सचिवसमेत भई कार्य गरिसकेका साहित्यकार कञ्चन पुडासैनीले बताए ।

उनले खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएका साहित्यिक कृतिहरूको सूचीमा अग्र स्थानमा बनाएको कीर्तिमान अहिले पनि कायमै छ । यस खण्डकाव्यलाई पाठकले विशेष मन पराएका छन् । देवकोटाले पनि कुनै प्रसङ्गमा मेरो मुनामदनबाहेक सबै कृति नष्ट गरेपनि हुन्छ भन्ने किसिमको अभिव्यक्ति दिनुभएको चर्चा पनि नेपाली साहित्य जगत्मा हुने गरेको छ । उनको साहित्यिक प्रतिभा, साहित्यको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अविस्मरणीय मानिन्छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरको साहित्यिक कृति नेपाल र नेपालीलाई दिन सक्नु देवकोटाको प्रमुख विशेषता मानिन्छ ।