-विनोद लामिछाने
हामीले थोरङ कटेको केहि घण्टामा त्यहाँ हिमपात भएको थियो । हाम्रो पछि सयौं विदेशी तथा नेपाली पर्यटकहरु आउँदै थिए । सायद उनीहरुनै त्यो हिमपातमा परे होलान् । पछि पोखरा आइपुगेपछिमात्रै थाह भयो, हिमपातका कारण मनाङ र मुस्ताङमा थुप्रैले ज्यान गुमाएछन् । हामीपनि ‘हाइरिक्समै’ रहेछौं, तर भाग्यले बाच्यौं । त्यो घटनामा परि ज्यान गुमाउनेहरुसंगै हामीले डाइनिङ सेयर गरेका थियौं भने बाटोमा हाँस्दै हाई हेल्लो गरेका थियौं ।
हामीले घोंडा चढेर थोरङपास ग¥यौं । हामी घोंडामा चढिरहँदा सयौं पर्यटकहरु हिंडेरै थोरङ चढ्दै थिए । मैले उनीहरुलाई आँखामा आँखा जुधाएर हेर्न पनि सकिन । किनकी कता कता मलाई लाज पनि लागेको थियो । आँफैमा हिनताबोध भैरहेको थियो । कहाँ कहाँबाट आएकाहरु हिंड्दै थोरङ चढ्दैछन् र म आफ्नैं देशको थोरङपनि घोडा चढेर गर्दै छु । अनि ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ चढेपछि बधाई सहितको बोर्डमुनि फोटो खिच्न पनि खासै मन लागेन । किनकी मैले जिवनको कुनैपनि परिक्षामा चिट चोरेको थिइन । त्यतिबेला भने आफुले चिटिङ्ग गरेको महशुर गर्दैथिएं । तरपनि मैले ५ हजार ४ सय १६ लेखेको बोर्डलाई औलाले देखाएं । र समिरले क्लिक ग¥यो ।
हामीले तस्विर खिच्नुभन्दा पहिला विदेशी जोडिले त्यहिं तस्विर खिचाउँदै थिए । उनीहरु अँगालोमा बाँधिएर रुदै थिए । उनीहरुको हर्षको आँसु झार्दा मैले भने त्यो खुसिको क्षण पाउन सकिन । घोंडा चढेर थोरङ गर्ने हाम्रो रहर भने थिएन । त्यो एउटा बाध्यता थियो । हामी आँफ्नैं तालिका अनुसार आइतबारको रात ४ हजार ५० मिटर अग्लो याकखर्कमा बास बस्यौं । याकखर्क पुग्दा साँझको ६ बजेको थियो । त्यसदिन हामी मनाङ्गको ङावलबाट विहान साढे नौ बजे हिंडेका थियौं । टंकि मनाङकी अनिता गुरुङ्गले हामीलाई याकखर्क पुगेपछि गंगापूर्ण होटलमा बस्नु भनेकि थिइन् । ‘यतैका मान्छेको हो, मेरो नाम लिएपछि तपाईहरुले कोठा पाउनुहुनेछ’ उनले भनेकि थिइन् । याकखर्क पुग्ने वित्तिकैको पहिलो होटलपनि हो गंगापूर्ण होटल । हामीले होटल मालिकलाई भेट्यौं । र अनिताको नाम लिंदै कोठा माग्यौं ।
होटल साहुले भने हामीलाई खाना सम्मको व्यवस्था गर्ने तर कोठा भने दिन नसक्ने बताए । साहुनीले अरु होटल खोज्न आग्रह गर्दै कोठा नपाए फर्किन सल्लाह दिइन । ‘डाइनिङ्गमा बस्ने भए यहिं मिलाइदिन्छु, नत्र अन्तै खोज्नु’ उनले भनिन् । कोठा पाउने आशमा हामी माथितिर लाग्यौं । तर कुनैपनि होटलमा कोठा थिएन । दिउँसो एक बजे आइपुगेका नेपालीहरुले त कोठा पाएका रहेनछन्, हामी ६ बजे पुग्नेले के कोठा पाउनु । त्यो अचम्मको कुरा पनि भएन । अनि हामी डाइनिङ्ग हलमै सुत्ने शर्तमा होटल निस्याङ्गमा बस्यौं । हाम्रो अघि काठमाण्डौबाट आएका १८ जना नेपालीहरुको एउटा गु्रप थियो । उनीहरुले कोठा नपाएपछि अन्तै गएको होटल मालिक कालु गुरुङ्गबाट जानकारी पायौं । सायद उनीहरु ४२ सय मिटर अग्लो लेथर पुगेर बसे होलान् ।
आइतबारको त्यो रात कटाउन मलाई निकै मुस्किल प¥यो । ज्यान पनि नअटाउने टेबलमाथि स्लिपिङ्गब्यागभित्र घुर्सिएको थिएं । होटल साहुले हामीलाई सिरानीमात्रै दिएका थिए । सिरक पनि थिएन । मेरो टाउकाको पछाडीको भाग बेस्सरि दुखेको थियो । घाँटि पनि ब्लक ब्लक बल्किइ रहेको थियो । ओंठमुख सुकेकाले स्वास फेर्न पनि गाह्रो भएको थियो । मलाई ४ हजार ५० मिटर अग्लो याकखर्कमै हाई लाग्यो । त्यसकारण पनि मैले कठिनपूर्ण तरिकाले त्यो रात कटाएं । स्वासप्रश्वासमा कठिन हुँदा मैले औषधी लिने बिचार गर्दैथिएं । तर केहिबेर अघिमात्रै एकजना पथप्रदर्शकले आफ्ना पाहुनाहरुलाई सकेसम्म औषधी नखान सम्झाइरहेको कुराले मलाई पनि औषधी नलिन प्रेरित गरिरहेको थियो । ‘तपाईहरु सवैसंग डाइमोक्स छ हैन ?’ म संगपनि छ । तर मैले यो ट्याब्लेट लिएर हिंडेको छ महिना भै सक्यो, म संग औषधी छ, त्यसैले म ढुक्क छु र बलियो छु’– उनले आफ्ना पाहुनाहरुलाई ढुक्क पार्दै थिए । भोलि विहान त्यहि होटलमा ब्रेकफाष्ट लिएर थोरङफेदी पुग्ने योजना उनले पाहुनालाई सुनाउँदै थिए । उनको कुरालाई ध्यानपुर्वक सुन्दै टाउको हल्लाउनेमा अधिकांस ६० नाघेका थिए । नजिकै बसेर कुरा सुन्दै गरेको मैले सोंच्दै थिए, यस्ता उमेर ढल्किएकाहरुले त थोरङ कट्ने योजना बनाउँदै छन भने म किन सक्दिन ? घटनापछि मैले ति पथप्रदर्शकका बारेमा होटलमा बुझें । उनी र उनका पाहुनापनि बेपत्ता छन भन्ने कुरा सुने । अलिहेपनि उनीहरुको अनुहार र त्यो क्षण आँखामा आइरहेको छ ।
रातको १ बजे मैले समिरसंग डाइमोक्स मागें । उसले मलाई आधा चक्कि मात्रै दियो । तर त्यतिले पनि मलाई निकै आराम दिलायो । र म निधाएँपनि । झ्यालै नजिकबाट हिंहिंहिं गरेको घोंडाको आवाजले तर्साइदिंदा म निंद्राबाट झस्किए । त्यतिबेला रातको सबा ३ बजेको थियो । त्यसपछि म निधाउन सकिन । दिनभर हिंडाइको थकान र रातभरको अनिधो । अनि कसरी हुन्छ त थोरङपास ? त्यसैले पनि हामीले फर्किनुभन्दा घोंडा चढेरनै थोरङपास गर्ने निर्र्णय गरेका थियौं । जुन निर्णय सहि सावित भएको अहिले महशुस गर्दैछु । यदि हामीले घोडा नचढेको भए हामी सोमबार थोरङफेदी वा हाइक्याम्पमा भइन्थ्यो । र मंगलबार विहान थोरङको उकालो लागिन्थ्यो । हिमपातमा परि ज्यान गुमाउने तथा बेपत्ता हुनेहरु अधिकांस मंगलबार विहान थोरङ चढ्नेहरुनै हुन् जो याकखर्कसम्म हाम्रै सहयात्रीहरु थिए । बेपत्ता हुनेहरु सकुशल रहुन् । ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धान्जलि व्यक्त गर्दछु ।
फोटो – थोरङपास गर्दै पर्यटक
तस्विर समिर बराल