काँकडभिट्टा (झापा) / हिन्दू र किरात धर्मावलम्बीले श्रद्धापूर्वक आराधना गर्ने ‘पाथीभरा देवी’को ‘पाउ’ परेको पवित्र स्थानका रूपमा पहिचान पाएपछि झापाको एउटा नयाँ मन्दिरमा चर्चित कम्युनिस्ट योद्धा दुर्गा अधिकारी पुजारी बसेका छन् ।
दुहागढी–४ को चारआली चोकबाट २०० मिटर पश्चिम र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको जङ्गलको माझमा रहेको विशाल बरको फेदमा पाथीभरा देवीको एउटा पाउ परेको भनेर एक साधुले घोषणा गरेपछि दशैँअघि स्थानीयले त्यहाँ पाथीभरा देवीको मन्दिर स्थापना गरेका हुन् ।
दिनहुँ सयौंको सङ्ख्यामा दर्शनार्थी आउने पाथीभराको यस नयाँ मन्दिरमा रहेका दुईमध्ये एक पुजारी झापा बिद्रोहका चर्चित योद्धा अधिकारी हुन् । धाइजन–६ सहरेडाँगी घर भएका ६७ वर्षीय अधिकारीलाई झापा विद्रोहमा संलग्न भएको भन्दै २०२९ सालमा पक्राउ गरी १० वर्ष जेल सजाय दिइएको थियो ।
उनीसँगै उही आरोपमा जेल बसेका पाँच जना सुखानीमा सहिद भएका थिए भने बाँचेकामध्ये केपी शर्मा ओली अहिले नेकपा (एमाले)का अध्यक्ष छन् । झापा विद्रोहको मुख्य योजनाकार मानिने सीपी मैनाली नेकपा (माले)का महासचिव छन् ।
अधिकारीसँगै लामो समयसम्म जेल जीवन बिताएका राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतमलगायत थुप्रै नेता कतिपय मन्त्री भइसकेका छन् भने कतिपय सभासद् छन् ।
अधिकारी भन्छन्, ‘यो पनि समाजकै सेवा गर्ने ठाउँ हो ।’ राजनीतिबारे बोल्न अरुचि देखाएका उनले अब धार्मिक कार्यमा लागेको बताए । उनले आफू कसैको करकाप वा प्रलोभनमा परेर नभई आत्मैदेखि पाथीभरा देवीको सेवा गर्न भक्तिभावले लागेको पनि सुनाए ।
मन्दिरका कोषाध्यक्ष शरद सिवाकोटीले यस मन्दिरलाई धार्मिक पर्यटकीय आकर्षण केन्द्र बनाउने तयारी रहेको उल्लेख गरे । रासस