काठमाडौं, आश्विन१२ – आहा, दसैं आयो, कत्ति रमाइलो १ धर्म, संस्कृति, कला र परम्पराको संगम विजया दशमी नजिकिँदै जाँदा नरमाउने नेपाली कमै भेटिन्छन्। तर, नेपालीहरूको महान् पर्व दसैंलाई विभिन्न नाम र पृथक पहिचानका साथ विश्वभर मनाइन्छ। यो अहिले संसारकै सबभन्दा ठूलो पर्वमध्येको एक हुन पुगेको छ।
पराल, माटा र रंगहरूको संयोजनले बनाइने माता दुर्गाका सुन्दर प्रतिमा र विभिन्न खाले चित्र कोरिएको विशाल पण्डालले गर्दा यसलाई विश्वकै ‘खुला कला प्रदर्शनी’ हुने पर्व मानिन्छ। कलाकारहरूले भवानीको छविलाई जीवन्त बनाउन कुनै कसर बाँकी राख्दैनन्। भारतको दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, पन्जाब, कश्मीर, आन्ध्र प्रदेश, कर्नाटका, केरला, पश्चिम बंगाल, असम, गुजरात, बिहार, झारखण्ड, मणिपुर, उडिसा र त्रिपुरामा दशहरा, दुर्गा पूजा वा दुर्गोत्सवका रूपमा यसको व्यापक स्वागत हुन्छ। यस अवसरमा पाँच दिने सरकारी बिदा दिइन्छ। महिना अगाडिदेखि मूर्ति निर्माण र नवरात्रिमा गरिने नृत्यको अभ्यास सुरु हुन्छ।
बंगाली हिन्दु समाजका लागि यो एकदमै महत्त्वपूर्ण सामाजिक र सांस्कृतिक अवसर हो। उनीहरूमा यतिबेला कुमारी कन्याको पाउमा सिन्दुर छर्केर देवीकै रूपमा पुज्छन्। सन् १९४७ मा बेलायती शासनबाट मुक्त भएपछि त्यहाँ दसैं खुलेर मनाउन थालिएको हो। भारतको विभिन्न भागमा दसैंको अन्तिम दिन हुने सिन्दुरजात्रा गजबको हुन्छ। यो अवसरमा माता दुर्गाकै रूप मानिने दिदीबहिनीले एकअर्कालाई सिन्दुर लाएर आदर प्रकट गर्छन्। दमाहाको तालमा भवानीको आरती उतार्दै बंगाली नारीले गर्ने नृत्य त झनै मोहक हुन्छ।
दक्षिण एसियाका विभिन्न मुलुकमा दुर्गा पर्व र शरदोत्सवको रमझम हुन्छ। झन्डै ८ प्रतिशत हिन्दु भएको बंगलादेशमा दसैंलाई प्रमुख चाडको दर्जा प्राप्त छ। यतिबेला त्यहाँको राजधानी, सहर र गाउँसम्म हजारौं पूजा मण्डप खडा गरिन्छन्। दशमीको दिन त्यहाँ पनि राष्ट्रिय बिदा हुन्छ। सबै शैक्षिक संस्था पाँच दिनसम्म बन्द हुन्छन्। के हिन्दु, के मुस्लिम सब दुर्गाकै भजन गाइरहेका हुन्छन्।
भारतीय, बंगाली र नेपाली आप्रवासी सांस्कृतिक संगठनको सक्रियताले अमेरिका, क्यानाडा, बेलायत, अस्टे्रलिया, जर्मनी, प|mान्स, नेदरल्यान्डस्, सिंगापुर र कुवेतसम्म आपसी सद्भाव, प्रेम र एकता झल्काउने यो गजबको पर्व फैलिएको छ। देशभित्र नेपाली नेपालीलाई झैं विदेशमा विभिन्न राष्ट्रलाई यसले जोडिरहेको हुन्छ।
यसले भौगोलिक सीमालाई नाँघिसकेको छ। अब जहाँ बसे पनि यतिबेला एक्लिएको अनुभूति हुन्न। नेपालीको पहिचान जमरा, टीका र ढाका टोपी, भारतका गुजराती समुदायको प्रसिद्ध गर्वा सामुदायिक नृत्य र बंगाली समुदायको ढोलकको आवाज सर्वत्र फैलिएको छ।
केही हिन्दु धर्मालम्बीको प्रयासबाट सन् २००४ मा चीनमा सुरु भएको दसैं संस्कृतिले अहिले आप्रवासी र स्थानीय समुदायको भव्य सहभागिताले संघाईमा अद्भुत स्वरूप लिइसकेको छ। त्यहाँ विभिन्न मुलुकका हिन्दुले परम्परागत पोसाकमा लोक नृत्य गर्छन्। सबै पाहुनालाई प्रसादको रूपमा बुन्दिया र लड्डु बाँडिन्छ। सामुदायिक सांस्कृतिक कार्यक्रमका साथै विदेशी कलाकारले पनि प्रस्तुति दिन्छन्।
वैदेशिक रोजगार र व्यापारको क्रममा उल्लेखीय संख्यामा हिन्दुहरू मुस्लिम राष्ट्र पुगेका छन्। मध्यपूर्वस्थित ओमानको राजधानी मस्कट, इन्डोनेसियाको राजधानी जकार्ता र तांगेरांग सहर, कतारको दोहा, दुबई, साउदी अरब, मलेसियाको क्वालालम्पुर र सिंगापुरमा दसैं उत्सव हुन थालेको छ। परम्परागत हिन्दु क्यालेन्डर अनुसार घटस्थापनादेखि दशमीसम्म वैष्णवी -शाकाहारी) देवी दुर्गाको विभिन्न स्वरूपलाई पुजिन्छ। जहाँ र जसरी मनाए पनि दानव महिसासुरलाई माता दुर्गाले पराजय गरेको खुसी यो पर्व मनाउनुको मूल आधार हो। खराबमाथि असलको जितभित्र यसको महिमा लुकेको छ।