अनिल प्रताप अधिकारी –
हामी मुर्दाहरूको देश भएछौं। नन्दप्रसाद बा त हिजो बिते, अरू सब त धेरै पहिले नै मरिसकेका रहेछौं। तिनै एकजना ज्यूँदा रहेछन हिजोसम्म, ती पनि आज रहेनन्। ज्यूँदो मान्छेले न्याय खोज्छ। मुर्दालाई किन चाहियो न्याय?
हिजो घर आइपुग्दा दिनभरको थकान र टाउको दुखाइका कारण छिटै सुतियो, त्यसैले आज (मंगलबार) बिहान मात्रै सामाजिक सञ्जालमार्फत् नन्दप्रसाद अधिकारी ३३२ दिनको अनसनपछि बितेको खबर पाइयो। फेसबुकका भित्ताभरि नन्दप्रसादलाई लिएर अनेक पोस्ट् गरिएका थिए।
तर, आत्मग्लानि र लाजले कुनै पोस्ट् न लाइक गर्न सकें, न आफूले केही छाप्न सकें। एक साथीले फेसबुकमा मलाई भनेका रहेछन, नन्दप्रसाद बाको मलामी जाउँ। ज्यूँदो छँदा एकपलको लागि साथ दिन नसकेको मैले कुन मुख लिएर मलामी जानु? ती बुढा बाँचुन्जेल म के गरेर बसेको थिएँ? कैले बुढो मर्छ र श्रद्दाञ्जली लेखेर फेसबुकमा पोस्ट् गरौंला, मलामी जाउँला अनि राज्यको निकम्मापनलाई गाली गरौंला भनेर कुरेर बसेको थिएँ?
जवान छोरा मारिएको थियो तिनको। जसले बुढेसकालमा छोरा गुमाएका छैनन् तिनलाई के थाहा त्यो पिडा? तर तिनले बदला खोजेनन्। जसले आफ्नो छोराको हत्या गरेको हो त्यसको पनि छोरा मार्छु भन्दै हिँडेनन्। मात्र न्याय खोजे। नेपालको संविधान र कानूनले व्यवस्था गरे अनुरूप हत्यारालाई सजाय होस् भनी पुलिस-प्रशासन धाए, मानवअधिकार आयोगमा गइ रोइकराई गरे। एउटा सामान्य परिवारको व्यक्तिले आफ्नो छोराको लागि के-कति गर्न सक्छ ? कतैबाट केही पार नलागेपछि अनसन बसे वृद्द दम्पति।
डलर खाएर अनसन बसेका आरोप पनि लागे। नन्दप्रसादलाई आडभरोसा दिनेहरूलाई डलर खाएर उक्साएको आरोप लगाएर नन्दप्रसादको मागलाई धुमिल्याइयो। हिजो पनि फेसबुकका भित्तामा देखियो ‘कनकमणिलाई जेल हाल्नुपर्छ’, ‘कनकमणि नन्दप्रसादको हत्यारा हो’। हामीलाई नन्दप्रसादका हत्याराको नै खोजी छ भने केही गार्हो छैन, एकपटक ऐना हेरे पुग्छ। आज सबलाई मेरो प्रश्न कनकमणिले डलर खाए वा खाएनन भन्ने कुरा महत्वपूर्ण हो की न्याय हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण हो?
मुद्दा नन्दप्रसादको हो कि कनकमणिको ? ‘कनकमणि’ र ‘डलर’को कुरा निकालेर नन्दप्रसादको अनसन र मागलाई आमजनता समक्ष धमिल्याउने प्रयास भएको हो कि होइन ? डलरको नै खेल हो भने पनि नन्दप्रसाद दम्पतिले डलर खाएर जीवन त्याग गर्न तयार भएका हुन् त ? कसैले उक्साउँदैमा तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति जीवन त्याग्न तयार हुन्छ ? जीवन उत्सर्ग गर्नको लागि उद्देश्यको शुद्दताप्रति पूर्ण विश्वास चाहिन्छ जुन कुनै डलरवादीले उक्साउँदैमा आउँदैन।
धेरैलाई भ्रम रहेछ यो अनसन मरेका लास निकालेर शान्ति खल्बल्याउने प्रयत्न हो। मैले माथि नै भनिसकेँ न्याय ज्यूँदो मान्छेलाई चाहिन्छ। नन्दप्रसादले न्याय खोजेका थिए, तिनका मरिसकेको छोराले होइन। आज कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाही नहुने हो भने भोलिबाट हत्या गर्नु कुनै अपराध मानिने छैन। जसले जसलाई मन लाग्यो उसको जीवनहरण गर्न समाज र राज्यसंग डराउनु पर्ने छैन। कृष्णप्रसादका हत्याराले कानुन अनुरूप सजाय पाउनु कृष्णप्रसादको आवश्यकता होइन, आज बाँचेकाहरूको आवश्यकता हो, राज्यको आवश्यकता हो। त्यसैले त हत्याको मुद्दामा राज्यवादी हुने व्यवस्था हुन्छ।
शान्ति खलबलिन्छ भन्नेहरुले सोच्नु पर्यो हामीलाई चाहिएको शान्ति कस्तो हो ? हामी सबै जेजस्तो अन्याय भए पनि सहेर बसौं। कसैले तपाईंका बाको हत्या गरीदिए। अर्को कोहीले तपाईंको छोरी अपहरण गरेर लग्यो। तपाईं कतै उजुरी नगर्नुस्, कसैलाई नभन्नुस। किन भने शान्ति खलबलिन्छ। ती अपहरित छोरी कहाँ छिन्, कस्तो अवस्थामा छिन्, ज्युँदै छिन् वा मारीईसकिन त्यो पनि खोजी नगर्नुस् किनभने शान्ति खलबलिन्छ। यस्तै शान्त समाज खोजेको हो तपाईंले? वा कानुनी राज्यको अनुशासनमा सबै बसेकाले तपाईंका परिवारजन सकुशल रहने शान्ति चाहिएको हो?
त्यस्तै कतिजना मित्र फेसबुकमा लेख्दै हुनुहुन्थ्यो न्याय हुने हो भने एकजना नन्दप्रसादको लागि मात्रै होइन युद्दकालमा मारिएका सबै १७ हजारलाई हुनुपर्छ। नन्दप्रसादले न्याय पाउँदा अरूले चाहिं पाउँदैनन भन्ने सोच्नुहुन्छ भने भ्रम हो। एकजना नन्दप्रसाद अनसन बस्दा किन बाबुराम र छबिलाल डराउँछन्? किन हाल्ने भए हामीलाई जेल हाल भन्ने जस्ता अभिव्यक्ति आउँछन् अनि एकदुई पूर्व कार्यकर्ता अनुसन्धानको क्रममा पक्राउ पर्दा माओवादीले बन्दको आव्हान गर्छ?
किनभने एकजना नन्दप्रसादले न्याय पाउँदा एउटा नजिर बस्छ। त्यसपछि नन्दप्रसाद जस्ता ती हजारौं बाउहरूले युद्दमा मारिएका आफ्ना छोराका हत्यारामाथि कारवाहीको माग गर्नेछन्। त्यसैले यत्रो त्रास छ न्याय होला की भन्ने।
हिजो सत्य निरुपण आयोग सम्बन्धी विधेयक संसदमा प्रस्तुत हुँदा पनि यिनै आरोप लागेका थिए। यिनै आरोप् लगाएर आफ्ना छोरा, छोरी, भाइ आदिकोलागि न्याय खोज्नेहरूको प्रयासलाई नराम्रो देखाउने प्रयत्न भएका थिए। अन्तत: पीडितको सहमति बिना जघन्य अपराधमा पनि माफी दिन सकिने प्रावधान राखेर ऐन पारित गरियो। समाचारमा सुनियो कुनै समयमा न्याय र नागरिकका अधिकारको लागि लडेर बर्षौं जेल बस्नुभएका रामचन्द्र पौडेलले भन्नुभयो बलियो कानून बन्यो भने “हामी पनि जेल जाने ?” त्यो डर पूर्वगृहमन्त्रीको मनमा किन आयो ?
हामी समाजमा किन बस्छौं ? समाजका केही केही न्यूनतम आधार र न्यूनतम शर्त हुन्छन। म समाजको सदस्यको रूपमा बसिसकेपछि यो समाजले मेरो जिउधनको सुरक्षा गर्छ र मलाई गार्होसार्हो परेको बेला सहयोग गर्छ भन्ने भरोसा नै होइन त्यो आधार ? यो आधारलाई छोडेर शान्ति, न्याय वा राजनैतिक सिद्दान्तको कुरा गर्न मिल्छ ? त्यो न्युनतम आवश्यकताको सुरक्षा राज्यले गर्न सकेन भने राज्यको के अर्थ रहन्छ ? समाजको सदस्यको रूपमा हाम्रो दायित्व पनि त्यहींबाट शुरु हुन्छ। याद गरौँ आज नन्दप्रसादका छोराको हत्यारालाई कठघरामा उभ्याउन सकेनौं भने भोलि हाम्रा छोरापनि तिनका शिकार हुनेछन। समाजमा ज्यूँदा मान्छे बस्छन जसले न्याय खोज्छन।
सेतोपाटी प्रकाशित मिति: मंगलबार, आश्विन ७, २०७१ १४:३६:५८