पोखरा, भाद्र २९
नेपाल सुनचाँदी तथा आभुषण संघ कास्कीको दोस्रो साधारणसभा तथा दोस्रो वार्षिकोत्सव शनिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका हालै निर्वाचित अध्यक्ष विन्दूकुमार थापाले राष्ट्रिय अर्थतन्त्रमा आभुषण संघको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । अध्यक्ष थापाले व्यवसायीहरुको समान हितका लागि संघसँग मिलेर अघि बढ्ने बताउँदै आगमी दिनमा संघमार्फत सहयोगको अपेक्षा गरे ।
त्यस्तै, अधिवक्ता सुरेन्द्र थापामगरले आभुषण व्यवसायीबाट ग्राहकले मूल्यबराबरको वस्तु र सेवा पाउनु पर्ने बताए । यदाकदा ग्राहकहरु व्यवसायीबाट ठगिएको गुनासो आउने गरेको उल्लेख गर्दै उनले सेवामा गूणस्तर आवश्यक भएको टिप्पणी गरे । कार्यक्रममा नापतौल तथा गूणस्तर कार्यालय पोखराका मनोजकुमार पोख्रेल र लेखा परीक्षक नारायणप्रसाद उपाध्यायले व्यवसायलाई आधुनिकीकरण गर्नुपर्ने र वार्षिकरुपमा नापतौलका सामग्री परीक्षण गर्न सुझाव दिए । संघको अध्यक्ष किसान सुनारको सभापतित्वमा भएको सभामा संघका सदस्य राम विकले स्वागत मन्तव्य राखेका थिए भने संचालन सुरेनकुमार नेपालीले गरेका थिए ।
त्यस्तै, अधिवेशनले किसान सुनारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा दलबहादुर विश्वकर्मा, द्वितीय उपाध्यक्षमा रामबहादुर विक, सचिवमा भरत सुनार, सहसचिवमा डम्बरसिंह विश्वकर्मा, कोषाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा र सहकोषाध्यक्षमा सुरेन्द्र सुनार रहेका छन् ।
त्यस्तै, सदस्यमा शिव सुनार, नवराज सुनार, मनबहादुर सुनार र प्रेम सुनार रहेका छन् ।