सरकारले युरोपमा नेपाली कामदार पठाउने तयारी, श्रम सम्झौताका लागि पहल गर्ने


काठमाडौं, भदौ २१-

सरकारले अब युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि कामदार पठाउन तयारी सुरु गरेको छ ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पहिचान गर्ने जिम्मा पाएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन आवश्यक कार्ययोजना तयार पारेको छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यससम्बन्धी कार्ययोजनालाई बोर्डले अन्तिम रुप दिने तयारी गरिरहेकोे जानकारी दिए ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सहभागी बिहीबारको बोर्डको बैठकले ‘उच्चस्तरीय वैदेशिक रोजगार प्रवर्द्धन समिति’ बनाउने सैद्धान्तिक सहमति गरेको छ । बोर्डको अर्को बैठकले समितिका संयोजक र सदस्यहरुलाई पूर्णता दिनुका साथै समितिको कार्यविधिलाई पारित गर्नेछ ।
समितिमा श्रम मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, गैरआवासीय नेपाली संघ -एनआरएन)का अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष र तीनजना वैदेशिक रोजगार विज्ञ रहने छन् ।
कार्यकारी निर्देशक रेग्मीले भने-खाडी मुलुकमा तुलनात्मक रुपमा जोखिमपूर्ण काम हुने तर, तलब निकै कम हुने समस्या देखिएको छ ।’ बोर्डले समितिलाई पूर्णता दिएलगत्तै युरोपका गन्तव्य मुलुकहरुसँग श्रम सम्झौताका लागि पहल गर्ने तयारी भइरहेको छ ।
कामदारलाई दक्ष बनाएर विकसित मुलुक पठाउन सके अहिले खाडी मुलुकबाट पाउने तलबभन्दा तीन गुणासम्म बढी तलब कामदारले पाउने सम्भावना हुन्छ । समितिको कार्ययोजनामा अहिले धेरै कामदार गइरहेका मलेसिया, खाडीलगायतका मुलुकलाई समेत थप व्यवस्थित र सुरक्षित बनाउने उल्लेख गरिएको छ ।
समितिले बृहत् कार्यक्षेत्र लिएर श्रम मन्त्रालयसँगै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अन्तर्राष्ट्रिय नियोग, विदेशमा रहेका नेपाली दूतावास, एनआरएनको सहयोगमा गन्तव्य मुलुकको खोजी र उनीहरुसँग श्रम सम्झौता गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।
नेपालले १०९ मुलुक वैदेशिक रोजगारीका लागि खुला गरे पनि जम्मा २५ वटा मुलुकमा नियमित कामदार गइरहेका छन् । तीमध्ये पनि मलेसिया, साउदी अरब, कतार, दुबई र कुबेतमा ९० प्रतिशत कामदार गइरहेका छन् । रासस

1 COMMENT

  1. Kukur haru nepali yuba lai baidesik rojgari matra srijana garne ki des manai rojgari ko bebasta milaune…chor kukur sala yuba lai bides palayen garera taa sala kukur haru chahi masti garnu lai ho…

Comments are closed.