संकटमा विश्वशान्ति स्तुपा : ‘संरक्षणका सबै विधि प्रयोग गर’


गिता राना,पोखरा-

पोखराको पर्यटकीय आकर्षण केन्द्र बनेको थियो, विश्व शान्ति स्तुपा खतरामा परेको छ । कास्कीको पुम्दीभुम्दी गाविसको अनदु डाडाँमा रहेको स्तुपामा लगातारको बर्षाका कारण पहिरो गएपछि स्तुपाको अस्तित्व खतरामा परेको छ । पहिरोका कारण स्तुपाको दक्षिणी र उत्तरी भागमा क्षति पुगेको छ । स्तुपाको उत्तरी तथा दक्षिणी भागमा पहिरो गएको छ । पहिरो गएको स्थानमा प्लाष्टिक र त्रिपालले छोपिएको छ । त्यसो त, पोखरा पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक एक पटक मात्रै भए पनि अनुद डाडाँमा रहेको शान्ति स्तुपा पुग्ने गर्छन् । तर गएको आइतबारबाट लगातार परेको बर्षाका कारण स्तुपाको उत्तरी र दक्षिणी भागमा पहिरो गयो । पहिरोले फेवातालको किनारमा रहेको रेष्टुरेन्ट समेत बगायो । पहिरोले तीन जनाको ज्यान लियो, एक जना अझै बेपत्ता छन् । बौद्धमार्गीको आस्थाको केन्द्र, अरु सबैका लागि शान्तिको प्रतिक रहेको स्तुपा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । माच्छापुच्छे हिमाल, पोखरा बजार र फेवाताल अवलोकनका लागि अधिकाँश पर्यटक स्तुपा पुग्र्ने गर्छन् । तर विडम्बना पहिरोका कारण यही शान्ति स्तुपा जोखिममा परेको छ ।

जोखिममा विश्व शान्ति स्तुपा

एक हप्तासम्म लगातार परेको पानीको शिकार शान्ति स्तुपा बन्यो । डाँडाको टुप्पामा बनाइएको विश्व शान्ति स्तुपाको नजिकबाटै पहिरो गएपछि स्तुपा जोखिममा पर्यो । अहिले सम्भावित खतरा रोक्न स्तुपा आवत–जावतमा रोक लगाइएको छ । चट्याङ र
पहिरोका कारण स्तुपाको उत्तरी भागको रेलिङ भत्किएको छ । स्तुपाको उत्तरी भागमा गएको पहिरो फेवातालसम्म झरेको थियो । स्तुपाको जगभन्दा करिब डेढ मिटर परबाट गएको पहिरोले फेवाताल किनारमा रहेको रेष्टुरेन्ट समेत बगायो, तीन जनाको मृत्यु भयो, अझै एक बेपत्ता छन् । विश्व शान्ति स्तुपा संरक्षण समितिका सचिव उत्तममान बुद्धाचार्य स्तुपा संरक्षणका लागि तत्काल पहल नभए ठुलो क्षति हुने बताउनुहुन्छ ।पोखरा घुम्न आएका अधिकांश स्वदेशी तथा विदेशी पर्यटक शान्ति स्तुपा पुग्ने गर्छन् । तर सम्भावित दुर्घटना रोक्न अहिले स्तुपा प्रवेशमा रोक लगाइएको छ । स्तुपाको रेखदेखको जिम्मा नेपाल प्रहरीले लिएको छ । पर्यटनसँग सम्बन्धीत विभिन्न संस्थालाई संरक्षण समितिले स्तुपा अवलोकनका लागि नलैजान आग्रह समेत गरेको समिचिका सचिव उत्तरमान बुद्धाचार्यले बताउनुभयो ।

???????????????????????????????

विक्रम सम्बत २०३० को दशकबाट अनदुमा शान्ति स्तुपा बनाउन सुरु गरिएको थियो । शान्ति स्तुपा रहेको स्थानमा पहिला कडा चट्टान थियो । देशभरका बौद्धमार्गी जम्मा भएर चट्टान पन्छाई चौर बनाएका थिए, स्तुपा निर्माणका लागि त्यतिबेला । चटनै–चट्टान भएकाले चौर बनाउन बौद्धमार्गीले निकै मेहनत गर्नु परेको थियो । चौर बनाउने क्रममा कतिपय स्थानमा माटोले पुर्न परेको थियो भने केही ठाउँमा रिटेनिङ वाल लगाइएको थियो । स्तुपा बनाउन २०३० सालदेखि तयारी गरिए पनि स्तुपा बनाउने कामले औपचारिकता भने २०४९ सालबाट पायो । स्तुपा बनाउनका लागि साढे २ करोडको अनुमान गरिए पनि आवास गृह र बगैचासहित रंगरोगनको काम सक्दा झण्डै चार करोड रुपैयाँ खर्च भएको छ । स्तुपा वरिपरिको जग्गा अहिले पर्यटन व्यवसायीले खरिद गरिसकेको बताउनुहुन्छ, विश्व शान्ति स्तुपा संरक्षण समितिका अध्यक्ष प्रकाशमान गुभाजु । स्तुपाबाट हिमाल, पोखरा बजार र फेवातालको सुन्दर दृष्य देखिन्छ । अहिले स्तुपा आसपासमा मात्रै दर्जनभन्दा बढी होटल, रेष्टुरेन्ट सञ्चालनमा छन् । एक सय १५ फिट उचाइ रहेको स्तुपाको गोलाई तीन सय ३३ डायमिटर छ । बौद्ध धर्मावम्बीलाई केन्द्रित गरेर स्तुपा बनाइएको भए पनि अन्य धर्म मान्ने पर्यटकहरु समेत पुग्ने स्तुपा पुग्ने गरेका छन् ।

पर्यटनमा असर

पोखरा आउने अधिकांश पर्यटक विश्व शान्ति स्तुपा पुग्छन् । विश्व शान्ति स्तुपा नेपालको पहिलो र ठुलो स्तुपा हो । स्तुपाको धार्मिक भन्दा पर्यटकीय महत्व बढी छ । स्तुपामा एक पटक पुगेर मात्र पर्यटकको धित मर्दैन । पर्यटकहरु पटक–पटक स्तुपा पुग्ने गर्छन् । सूर्याेदय र सूर्यास्तको दृश्य हेर्न पुग्नेहरुको स्तुपामा भीड नै लाग्छ । स्तुपा छोटो दुरीको हाइकिङको लागि समेत परिचित छ । स्तुपालाई मानव निर्मित पर्यटकीय गहनाका रुपमा लिइन्छ । तर पहिरोका कारण स्तुपा जोखिममा परेको छ । पोखराका पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटा स्तुपा जोखिममा परेकाले संरक्षणका लागि तुरुन्तै पहल गर्नुपर्ने बताउनुहुन्छ । सदस्य सपकोटाले स्तुपा संरक्षणका लागि रकम निकासाका लागि पहल गर्ने बताउनुभएको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्य भुजेल पनि संकटग्रस्त अवस्थामा रहेको स्तुपा जोगाउन संस्थागत रुपमा तत्काल पहल थाल्नुपर्ने बताउनुहुन्छ । भुजेल र पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष हरि शर्मा गैरेको भनाई मिल्दोजुल्दो छ । शर्माले भन्नुभयो, स्तुपालाइृ तत्काल जोगाइएन भने भोलिको थप दुर्घटनाले पोखराको पर्यटन व्यवसायलाई नै असर गर्नेछ । त्यसैले तत्काल काम सुरु गर्नुको विकल्प छैन ।’

???????????????????????????????
त्यसो त, विश्व शान्ति स्तुपामा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । स्तुपा प्रवेशका लागि कुनै शुल्क समेत लाग्दैन । दान र चन्दाबाट संकलित रकमबाट स्तुपा संचालन हुँदै आएको हो । पोखराको धेरै प्राकृति सम्पदा मध्यको एक शान्ति स्तुपाको उत्तरी र दक्षिण भागमा पहिरो जान थालेपछि स्तुपाको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।
हेर्दा सामान्य देखिए पनि स्तुपामा जुनसुकै बेला पहिरो जान सक्छ । पहिरो जतिबेला पनि जान सक्ने भएकाले पर्यटकलाई स्तुपाको मुल गेटबाटै रोक लगाइएको छ । संरक्षणका लागि पहल गर्नु भन्दा पनि सरोकारावालहरु भने दैनिक स्तुपाको अवलोकन गर्नमै व्यस्त देखिन्छन् ।

स्तुपा जोगाउने पहल
पहिरो गएको झण्डै एक साता पुग्न लागेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्राविधिक टोलीले स्तुपाको अवलोकन गरेको छ । टोलीले स्तुपा जोगाउन करिब ३३ लाख रुपैंया लागत लाग्ने अनुमान गरेको छ । स्तुपासँग सरोकार राख्नेहरु सहभागि टोलीले असोजबाट मात्रै निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ, तत्काल बर्षाको कारण देखाउँदै । तर, नीजि क्षेत्रका पर्यटन व्यवसायीहरु भने स्तुपा संरक्षणका लागि ढिलो गर्न नहुने भन्दै सरकारस“ग सहकार्यगर्दै काम गर्न तयार भएको बताएका छन् ।
अवलोकन टोलीमा प्रमुख जिल्ला अधिकारीसहित इन्जिनियर, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालउय प्रमुख, भूसंरक्षण कार्यालयका प्रमुख सहभागी थिए । लगातार पानी परिरहेकाले तत्काल काम अघि नबढ्ने प्रमुख जिल्ला अधिकारी राउतले बताउनुभयो । स्तुपामा भएको क्षति गृह मन्त्रालयलाई जानकारी गराइएको राउतले जानकारी दिनुभयो । स्थानीय प्रशासनका अनुसार पहिरो गएको स्थानमा पुर्ननिर्माणको काम अब असोजबाट मात्र सुरु हुनेछ । जल उत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालयले लागत अनुमानसहितको पत्र जल उत्पन्न प्रकोप नियन्त्रण विभागमा पठाइसकेको छ । थप क्षति हुन नदिन सर्तकता अपनाइएको जल उत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय नम्बर–२ का प्रमुख हरिश्चन्द्रप्रसाद रौनियारले बताउनुभयो ।
स्तुपालाई पुरानै स्वरुपमा फर्काउनका लागि पर्यटन व्यसायीले पनि चासो देखाएका छन् । स्तुपा पुर्ननिर्माणका लागि स्थानीय प्रशासन, जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिका, उद्योग वाणिज्य संघलगायतका संस्थाबीच समन्वय हुन आवश्यक रहेको बताउनुहुन्छ पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई ।
स्तुपालाई जोगाउन छुट्टै समिति गठन गर्नु पर्ने आवाज पनि उठ्न थालेको छ । सरकारको मात्र भरपर्दा स्तुपा नै संकटमा पर्ने सक्ने कतिपयको भनाई छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइराला स्तुपा संरक्षणका लागि सरकारको मात्र आश गर्न नहुने तर्क गर्नुहुन्छ ।

पोखराको सम्पदाको रुपमा चिनिएको विश्व शान्ति स्तुपा जोगाउन ढिलो गरिनु हुँदैन । पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन स्तुपाले गरेको योगदानलाई सम्झेर संरक्षणको पहल तत्काल नगरिए स्तुपाको अस्तित्व नै संकटमा पर्ने छ । पोखराको सौन्दर्य हराउनेछ ।