बार्सिलोना। सात बुंदे घोषणापत्र जारी गर्दै पर्वेतेलीहरुको युरोप भेला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपस्तरीय भेला विभिन्न निर्णयहरु गर्दै आईतबार स्पेनको बार्सिलोनामा सम्पन्न भएको हो।
विदेशमा सिकेका ज्ञान, सीप र विज्ञतालाई पर्वत जिल्लामा पुर्याउने लगायत विदेशबाट जिल्लामा लगानी भित्राउने जस्ता महत्वपूर्ण निर्णय गर्दै युरोप भेला सम्पन्न भएको समाजद्वारा जारी घोषणापत्रमा उल्लेख गरिएको छ।
समाजले पूर्व घोषित परियोजनालाई सफल पार्नका लागि स्थानीय निकायसँग छलफल गर्न भन्दै समाजका उपाध्यक्ष गुणराज शर्माको संयोजकत्वमा एक समिति समेत गठन गर्ने निर्णय गरेको छ। तीन महिना भित्र प्रतिवेदन पेश गर्ने भन्दै गठित समितिमा दधि आचार्य र प्रकाश पौडेल सदस्य रहेका छन्।
युरोपेली भेलामा विदेशमा रहेका पर्वतेलीहरुको सामुहिक लगानी, संस्थागत बिकास, र भावी योजनाबारे विभिन्न सेसनहरुमा छलफल गरिएको थियो।
समाजका संरक्षक तथा गैर आबासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले प्रमुख अतिथिको रुपमा भेलाको उद्घाटन गरेका थिए। उनले पर्वत समाज लगायत प्रवासमा खोलिएका सबै संगठनहरुसँग एनआरएनले सहकार्य गर्दै अघि बढ्ने बताए। एनआरएन १० औं अन्तर्राष्ट्रिय महाधिवेशनका बेला भएका घटनाहरुको स्मरण गर्दै आचार्यले भने, ‘अब पुरानो घाउ नकोट्याउनु होला। आम सहमति गरेर आईसकेका छौ। अहिले एनआरएनलाई सबैको साथ र सहयोगको खाँचो रहेको छ।’
उनले एनआरएनमा तीन जना अध्यक्ष सहित जम्बो कार्यसमिति भएपनि मिलेर काम गर्ने प्रतिवद्वता ब्यक्त गरे। डेढ बर्ष भित्रै संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै संस्थालाई पुरानै लयमा फर्काउने अध्यक्ष आचार्यले दावी समेत गरे।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसी (बेल्जियम), संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पुरन गिरी ( युके)संरक्षक सन्तोष जोशी (सुभाष), (बेल्जियम),संरक्षक सुरेन्द्र भुसाल (बेल्जियम), सल्लाहकार उदयराज गौतम (डेनमार्क),उपाध्यक्ष गुणराज शर्मा (स्विट्जरल्याण्ड)सचिव बाबुराम शर्मा (अमेरिका), सचिव प्रकाश पौडेल (बेल्जियम) लगायतले बार्सिलोना भेलामा सम्बोधन गरेका थिए।
अन्तर्राष्ट्रिय पर्वत समाजका युरोप संयोजक सन्तोष पौडेलको संयोकत्वमा आयोजक समिति गठन गरिएको थियो भने भेला ब्यबस्थापनको जिम्मेवारी पर्वत समाज स्पेनका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मीले लिएका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरु लगायत नेपालदेखि आएका कलाकार द्वय शुष्मा लोहोनी र कल्पना काफ्लेले रमाईलो प्रस्तुति राखेका थिए। फोटो स्रोत : साईग्रेस प्रोडक्सन