बार्सिलोना ।नोभेम्बर दोस्रो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकामध्ये एक जना नेपालीको पहिचान खुलेको छ ।
नेपाली राजदूतावास भियनाका अनुसार एकजना मृतक गौरीगंगा नगरपालिका-४ कैलाली घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन् । अन्यको सनाखत हुन बाँकी छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो ।ति मध्ये ४ नेपाली परेको आशंका गरिएको छ।
पहिचान नभएका मृतक व्यक्तिहरुका फोटो इन्टरपोलमा राखेर आफन्तबाट पहिचान गराउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । ‘सुरुमा ग्रिसका अधिकारीहरुले डिएनएबाट नै सनाखत गर्ने बताए पनि अहिले इन्टरपोलमा फोटो राखेर आफन्तबाट पहिचान गराउने प्रक्रियामा सुरु भएको छ । बाँकी शवहरुको पनि आफन्तबाट भेरिफाई गर्ने प्रक्रियामा छौं । यो प्रक्रिया छिट्टै सकाएर शवहरु आफन्तकहाँ पठाउन हामीले सहयोग गर्छौं ।’
अरु मृतक पनि नेपाली नै हुन् : पोखरेल
मृतकका कुन देशका हुन् भन्ने एकिनका साथ भन्न सकिएको छैन । तर ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले भने अस्पतालमा अलपत्र परेका ती शवहरु नेपालीकै भएको दाबी गरेका छन् । ‘म आफैंले अस्पतालमा मृतकका फोटो देखेर आएपछि नेपालीहरु नै हुन् भन्नेमा कुनै शंका रहेन । तर परिवारका सदस्यले यो मेरो मान्छे हो नभनेसम्म प्रक्रिया अघि बढ्ने स्थिति देखिएन,’ उनले थपे ।
विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई सनाखतको प्रक्रियाबारे बुझ्न नेपाली राजदूतावास भियनाले अख्तियारी पत्र दिएको थियो । उनी दूतावासको पत्र लिएर प्रक्रियाबारे बुझ्न अस्पताल पुगेका थिए ।
‘मैले चार जनाकै फोटो लिएर गएको थिएँ । अस्पतालले उपलब्ध गराएको मृतकहरुको फोटामध्ये तीन वटा फोटोसँग मिल्दो पाएँ । एक जनाको प्रष्ट भएन,’ पोखरेलले भने ।
दुर्घटनामा बाँच्न सफल दुई नेपालीले के भनेका थिए ?
भीमेश्वर नगरपालिका-९ दोलखा घर बताउने ३३ वर्षीय मनु लामा र गौरीगंगा नगरपालिका-४ राजीपुर कैलालीका ३० वषर्ीय लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल घाइतेहरु हुन् । मंसिर ८ मा घाइते भएका लामा र आचार्य अनलाइनखबरको सम्पर्कमा आएका थिए । उनीहरुबाट नै सो गाडीमा सवार अन्य नेपालीहरुको नाम खुलेको हो ।
अस्पतालबाट डिस्चार्ज भएका यी दुई जनालाई कैलालीका जीवलाल कंडेलले सोलोनिकीबाट एथेन्स पुर्याएका थिए । हाल उनीहरु ग्रिसको एथेन्स सहरमै रहेका छन् ।