बार्सिलोना । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब पचास करोड बढी मूल्य बराबरको बुद्धमूर्तिले अहिले चर्चा पाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेको सो मूर्तिबारे सर्वसाधारणलाई मात्रै होइन बुद्ध दर्शनसँग नजिक रहेका र राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि चासो छ ।
स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले बुद्धमूर्तिलाई निःशुल्क रुपमा नेपाल भित्राउन पहल गरेको हो । बहुमूल्य बुद्धमूर्ति नेपाल भित्राउने परिकल्पना कहाँबाट सुरु भयो त ? बुद्धमूर्ति नेपाल भित्राउने योजना कसरी बन्यो ? के नेपालमा मात्रै बहुमूल्य बुद्धमूर्ति भित्रिएको हो ? यी सबै जिज्ञासाहरु स्पेनमा बन्दै गरेको लुम्बिनी गार्डेन प्रोजेक्टसँग जोडिएका छन् ।
क्याथेरसमा बन्दै गरेको लुम्बिनी गार्डेन
स्पेनको राजधानी मड्रिडदेखि झन्डै तीन सय किलोमिटर टाढा एक्स्त्रेमादुरा प्रदेशमा क्याथेरेस नामको सहर छ । विश्व सम्पदा सूचीमा सूचीकृत यो सहर अर्को युरोपेली मुलुक पोर्चुगलको राजधानीबाट पनि त्यति नै नजिकको दूरीमा पर्दछ । ४० मिटर अग्लो बुद्धको मूर्तिसहित सोही सहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि बढेको छ । झन्डै १० अर्ब रुपैयाँ खर्च लाग्ने महत्वाकांक्षी योजना स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले अघि सारेको हो ।

फाईल तस्विर :
‘महत्वपूर्ण कुरा भनेको गार्डेन निर्माणका लागि जमिन प्राप्त गर्नु हो । हामीलाई स्पेनको केन्द्रीय तथा प्रदेश सरकारले पूर्ण सहयोग र समर्थन गरेको छ । अबको दुई वर्षमा शिलान्याससँगै निर्माणको काम थाल्ने छौं,’ फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभाले अनलाइनखबरसँग भने, ‘अबको १० वर्षभित्रमा स्पेनमा यो परियोजना निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
क्याथेस सहरमा एक्स्त्रेमादुरा प्रदेश सरकारले सो गार्डेन बनाउन १०७ हेक्टर जमिन उपलब्ध गराएको छ । यसअघि लुम्बिनी गार्डेन स्पेनको राजधानी म्याडि्रडमा नै बनाउने तय भएको थियो । तर विविध कारणले एक्स्त्रेमादुरा प्रदेशमा निर्माण गर्ने निर्णय भयो ।
गत वैशाखमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली टोलीले स्पेनको भम्रण गरेको थियो ।
बुद्ध स्थल लुम्विनी क्षेत्रका लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम नगरपालिकाका मेयरहरु पनि भ्रमणमा सहभागी थिए । उनीहरुले आ-आफ्नो नगरको माटो स्पेनमा ल्याए । क्याथेरस नगरको माटोसँग बुद्ध स्थल लुम्विनी क्षेत्रको माटो मिश्रण गरियो । मिश्रित माटोमा पिपलको रुख रोप्दै लुम्बिनी गार्डेन परियोजनाको शुभारम्भ भइसकेको छ । यी नगरहरुबीच भगिनी सम्वन्ध पनि कायम भएको छ ।

लुम्बिनी गार्डेनभित्र बुद्ध लगायत नेपालको पहिचान झल्कने सम्पदा बन्ने फाउन्डेसनले जनाएको छ । त्यो अलवा म्यानमार, चीन, थाइल्याण्ड, श्रीलंका लगायत देशका मौलिक कलाकृति झल्कने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण हुनेछन् । ती कक्षहरु निर्माण गर्न बौद्धधर्मप्रति आस्था राख्ने संघसंस्था तथा व्यक्तिहरुबाट परियोजनाको लागि आर्थिक सहयोग प्राप्त हुने फाउन्डेसनले जनाएको छ ।
क्याथेरेस सम्मेलनबाट बन्यो बुद्धमूर्ति नेपाल भित्राउने योजना
स्पेनको एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले गौतम बुद्धको देशबाट सदैब हातेमालो र सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए । क्याथेरेस सहरमा गार्डेन बनाउने योजनामा सहयोग पुर्याएकोमा एक्स्त्रेमादुरा प्रदेशका प्रमुख गुइलेरम्मो फर्नान्डेज भारालाई उनले धन्यवाद दिए । त्यहीबेलाको मैत्रीपूर्ण भेटवार्तापछि क्याथेरस सहर र लुम्बिनी क्षेत्रका नगरबीच सदैव छलफलको केन्द्रविन्दु बन्न सफल रह्यो।
‘पिस कन्फेरेन्स’ नाम दिइएको उक्त कार्यक्रमबाट बुद्धको शान्ति सन्देश संसारभर फैलाउन अनुरोध गरिएको थियो । स्पेनका उपप्रधानमन्त्री कार्बेन काल्भोले समेत नेपाली टोलीलाई स्वागत गर्दै परियोजनाले आफूहरु उत्साहित रहेको बताएकी थिइन् ।
अहिले नेपालमा भित्रिएको जस्तै बुद्धमूर्ति स्पेनको क्याथेरेस नगरमा त्यहीबेलै पुगिसकेको थियो । बुद्ध मूर्तिलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने सम्भावनाबारे बहस चल्दा फाउण्डेसनले निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरेको थियो । एक वर्ष पनि नबित्तै फाउण्डेसनले आफ्नो बाचा पूरा गरेको छ ।
बुद्धमूर्ति यसरी पुग्यो नेपाल
फाउण्डेसनका अनुसार ‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले बुद्धमूर्ति निःशुल्क सहयोग गरेको हो । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनाएकाले यो महँगो रहेको बताइन्छ । नेपाल आएको बुद्धमूर्ति १ हजार ८ सय केजी तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ ।
बुद्धमूर्तिको निर्माण खर्चमा खानीसम्बन्धी कम्पनी मालविन ग्रुप लगायत बौद्धधर्मप्रति आस्था राख्ने संघसंस्था तथा व्यक्तिहरुको सहयोग रहेको फाउण्डेसनले जनाएको छ।
बुद्धमूर्ति म्यानमारबाट सबै प्रक्रिया मिलाएपछि पनि नेपाल भित्राउन निकै कठिन भएको फाउण्डेसनका महासचिव एकराज गिरी स्मरण गर्छन् । ‘कोभिडका कारण म्यान्मारबाट सिधै कोलकाता बन्दरगाहमा ल्याउने अवस्था नभएकाले बुद्धमूर्ति हङकङ, कोलकाता हुँदै सुनौली ल्याएका हौं,’ उनले थपे ।

अर्थ र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी नेपाल ल्याइएको गिरीले बताए । ‘नेपालसम्म ल्याउन लाग्ने खर्च १२ हजार युरो पनि फाउण्डेसनले नै व्यहोरेको छ । सुनौली बोर्डरमा झन्डै १ लाख ६० हजार रुपैयाँ इन्सुरेन्स ट्याक्स पनि तिरेका छौं, ‘ उनले भने ।
विमानस्थल परिसरमा बुद्धमूर्तिको जग निर्माणका लागि लाग्ने खर्च पनि फाउण्डेसनले नै व्यहोरेको छ । ‘सरकारी निकायबाट अलि ढिला हुने देखिएपछि समयमा सम्पन्न नहुने डरले ५-६ लाख रुपैयाँ खर्च गरेर हामीले नै व्यवस्था गरेका छौं,’ महासचिव गिरीले भने, ‘विमानस्थलमा बुद्धमूर्ति राख्न सबै निकायबाट हामीलाई सहयोग प्राप्त भएको छ ।’
अर्बौं पर्ने बहुमूल्य बुद्धमूर्ति फाउण्डेसनले हालसम्म नेपालसहित स्पेन, भुटान र हङकङमा पुर्याइसकेको छ । बौद्ध दर्शनसँग जोडिएका अन्य मुलुकहरुमा पनि बहुमूल्य बुद्धमूर्ति पुर्याएर शान्तिको सन्देश विश्वभर फैलाउने अभियानमा रहेको फाउण्डेसले जनाएको छ ।
लुम्बिनी गार्डेन फाउन्डेसनको नेतृत्वमा को ?
अर्बौं पर्ने बहुमूल्य चार वटा बुद्धमूर्ति विभिन्न चार देशहरुमा पुर्याउने फाउण्डेसनको नेतृत्व स्पेनिश नागरिक खोसे म्यानुअल भिलानोभाले गरेका छन् । उनी स्पेनको संघीय सरकार र प्रादेशिक सरकारदेखि स्पेनका राजनीतिक दलहरुसँग निकै नजिक छन् ।
फाउन्डेसनको उपाध्यक्षमा बेल्जियम निवासी नेपाली व्यवसायी गोविन्द सुवेदी रहेका छन् । उनले नै नेपाली उच्चस्तरीय टोलीलाई स्पेन भम्रणमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
स्पेन निवासी एनआरएन अभियन्ता एकराज गिरी फाउण्डेसनमा महासचिवको जिम्मेवारीमा छन् । स्पेनिश भाषामा समेत दख्खल राख्ने गिरीले स्पेनिश र नेपाली टोलीलाई समन्वय गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

यस्तै फाउण्डेसनको प्रमुख संरक्षकमा बेलारुस निवासी व्यवसायी निरज श्रेष्ठ रहेका छन् । संरक्षकमा स्पेनिश नागरिकहरुको बाहुल्यता रहेको छ ।
फाउण्डेसनका अधिकांश आध्यात्मिक नेताहरु म्यानमार, थाइल्याण्डका नागरिकहरु रहेका छन् । फाउण्डेसनको मुख्यालय स्पेनको राजधानी म्याडि्रडमा रहेको छ । बौद्धदर्शन मान्ने एसियन मुलुकका धनाढ्यदेखि व्यापारीहरु फाउण्डेसनको समन्वयमा रहेको बताइन्छ ।
कोरोनाको कहरमा पनि स्पेंनिश टोली नेपालमा
कोरोनाको कहरले अवस्था अझै सामान्य नभए पनि स्पेनको एक्स्त्रेमादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोलीले नेपाल भम्रण गरेको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा सभामुख ब्लान्का मार्टिन देलगाडो नेतृत्वको टोली नेपाल आएको हो ।
एकहप्ता लामो भ्रमणमा नेपाल गएको स्पेनिश टोलीले नेपालका साँस्कृतिक सम्पदाहरुको अवलोकन भम्रण गरेको छ । उक्त टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धमूर्ति अनावरण कार्यक्रममा पनि सहभागी बन्दैछ ।

स्पेनको एक्स्त्रेमादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोली नेपाल भम्रणमा
स्पेनको एक्स्त्रेमादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोली नेपाल भम्रणमा
देलगाडो नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरिसकेको छ । भेटवार्तामा नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्धबारे छलफल भएको छ ।