काठमाडौँ ।गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ ।विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ । फण्ड स्थापनाको औपचारिक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तत्पर रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो ।
गैरआवासीय नेपालीले लगानीदूतको रुपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मद्दत गर्न उहाँले आह्वान गर्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले छरिएर आउने गरेको लगानी संगठित रुपमा नेपाल ल्याउन बाटो खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ । केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौँ । तर हाम्रा दाजुभाइहरुले बृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो । त्यही मागलाई पूरा गर्न यो कोष आएको छ । फन्डका अध्यक्ष डा उपेन्द्र महतोले विश्वभरका नेपालीबाट ठूलो लगानी रकम नेपाल ल्याउँदा अन्य लगानीकर्तालाई समेत प्रोत्साहन गर्न सकिने बताउनुभयो ।
नेपालको विसकामा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछि मात्र विदेशी पनि आकर्षित हुने उहाँको भनाई थियो । विदेशबाट लगानीमात्र नभई प्रविधि, सीप, कर्पोरेट कल्चर र सुशासन पनि भित्रने उहाँको विश्वास थियो । अर्थसचिव शिशिर ढुंगानाले यस फण्डमा सरकारको पनि पाँच प्रतिशत लगानी रहने र यस फण्डलाई कोरोना पछिको अर्थतन्त्रको उत्थानका लागि प्रयोग गर्न सकिने बताउनुभयो । यसअघिका पराम्परागत आयोजना नवप्रवर्धनात्मक पूर्वाधार र आर्थिक विकासका आयोजना पहिचान गरी लगानी गर्न यो फण्ड सहयोगी हुने र त्यसका लागि सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा महाप्रसाद अधिकारीले फण्ड स्थापनाका परिकल्पनाकारलाई धन्यवाद दिनुभयो । उहाँले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नेपालको आर्थिक विकासमा सहभागिता जनाउन चाहने संसारभर छरिएर रहेका नेपालीको लागि यो फण्ड उपलब्धिमुलक र फाइदाजनक हुने बताउनुभयो ।