काठमाडौँ- कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिनुभयो ।
आज भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । प्रवक्ता प्रा डा गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६ जना, वाग्मती प्रदेशमा दुई हजार ६९४ जना, गण्डकी प्रदेशमा एक हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् ।
सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो । खोप अभियान शुभारम्भमा सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले बताउनुभयो ।
काठमाडौँमा खोप केन्द्र रहेका अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अनुगमन गर्नुभएको थियो । उहाँहरुले त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनुगमन गरी खोप लगाउने व्यक्ति र सेवा प्रदायकलाई हौसला दिनुभएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले बताउनुभयो ।
यस्तै मन्त्री त्रिपाठीले वीर अस्पताल, सिभिल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा रहेको खोप केन्द्रको अनुगमन गर्नुभएको थियो ।