सुधीर बस्नेतलाई सर्वोच्च अदालतले थुनामा राख्न आदेश


काठमाडौं,भदौ ६

सर्वसाधारणको पैसा लिएर फिर्ता नदिएको अभियोग लागेका ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई सर्वोच्च अदालतले थुनामा राख्न आदेश गरेको छ।

जिल्ला र पुनरावेदनको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदनमा सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उक्त इजलासले पुनरावेदन अदालत पाटन र जिल्ला अदालत काठमाडौँले बस्नेतलाई धरौटी मागेर तारेखमा छोड्न गरेको आदेशलाई बदर गरिदिएको छ।

‘काठमाडौँ जिल्ला अदालत बाट २०६९ माघ २१ र पुनरावेदन अदालत पाटनबाट २०७० साउन २४ मा भएको आदेश मिलेको नदेखिंदा बदर गरी दिईको छ। पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा प्रतिवाद सुधीर बस्नेतलाई पुर्पक्षको निमित्त थुनामा राखी मुद्दाको कारवाई गर्नु,’ सर्वोच्चको आदेशमा उल्लेख छ।

ओरियन्टल सहकारीका तथा ओरियन्टल विल्डर्स लगायतका आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको साढे ९ अर्ब ठगी गरेको उजुरी परेको छ । बस्नेतविरुद्धसहकारी जाचबुझ आयोगमा साढे ७ हजार उपभोक्ताले उजुरी दिएका थिए भने सरकारले हालै गठन गरेको आवास छानविन आयोगमा पनि १०० बढी उजुरी परिसकेको छ ।