प्रेस युनियन बेलायतले कोरोनाबारे सचेतना अभियान संचालन गर्ने


लण्डन, १ एप्रिल (जीएनएन) -नेपाल प्रेस युनियन बेलायतले कोरोना महामारीबारे सचेतना अभियान संचालन गर्ने जनाएको छ । अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा विडियो कन्फरेन्स मार्फत मंगलबार बसेको बैठकले कोरोना महामारीका बारेमा बेलायतस्थित नेपाली समुदायलाई जानकारीमूलक सामग्री प्रकाशन र प्रसारण गर्ने नेपाल पत्रकार महासंघ युकेको अभियानसंग ऐक्यवद्धता जनाउंदै युनियन आबद्ध सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरुलाई कोरोना संक्रमणबाट बच्ने र सर्न नदिने उपायहरुका बारेमा सामाग्री प्रकाशन र प्रसारण गर्न अनुरोध गरेको छ ।

त्यस्तै बैठकले बेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरू समस्यामा परेको बुझिन आएकाले त्यस्ता समस्यामा परेका विद्यार्थीहरुलाई नेपाली राजदूतावाससंग सम्पर्क गराउन सहयोग गर्ने निर्णय गरेको छ । समस्यामा रहेका विद्यार्थीहरुकै सन्दर्भमा नेपाली जनसम्पर्क समिति युकेको खाद्यान्न लगायतका आर्थिक सहयोग गर्ने कार्यमा ऐक्यवद्धता जनाउंदै सक्दो सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष तथा बेलायतका सांसद बीरेन्द्र शर्मा लगायत कोरोनाको संक्रमणसंग लडी रहेका, होम आइशोलेशन तथा उपचार पश्चात घरमा आराम गरिरहेका ब्रिटिश तथा नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैठकले एनपीयु युकेको हरेक बर्ष गर्नु पर्ने वार्षिक साधारण सभा कोरोना महामारीको विशेष परिस्थितिका कारण यस बर्ष नगर्ने निर्णय पनि गरेको छ । नेपाल प्रेस युनियन बेलायतको ३१ मार्च २०१९ मा प्रथम महाधिबेशन सम्पन्न भएकोमा सो सम्पन्न गर्नको लागि नेपालबाट आउनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, महासचिव, नेपाल पत्रकार महासंघका महासचिव, प्रदेश सभाका माननीय सदस्य सहित बेलायतस्थित नेपाली राजदूतावास, पत्रकार महासंघ, एनपीसीसी युके, एनआरएनए युके लगायत विभिन्न संघ सस्था र तिनका प्रतिनिधिहरुलाई पुन: धन्यबाद ज्ञापन गरेको छ ।