प्राध्यापक सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना


लन्डन(जीएनएनएन) । प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवअधिकार र विद्यावारिधि सम्बन्धी दुईवटा वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवअधिकार कानूनमा सर्वोत्तम अंक प्राप्त गर्ने व्यक्तिलाई प्रदान गरिनेछ । दोश्रो पुरस्कार कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ ।

आफ्नो नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्राध्यापक सुवेदीले प्रसन्नता व्यक्त गरे । यी पुरस्कारले प्राध्यापक सुवेदीले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चिरकाल पर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ ।

प्रा. सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गरेका थिए । उनले अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको क्षेत्रमा असाधारण योगदान दिएको भनि गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।