क्यान्सस। अमेरिकाको म्यानहैटन क्यान्ससमा एक भब्य समारोहबीच “नेपाल साँझ” नाम दिईएको कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज स्टुडेन्ड एसोसियसन क्यान्सस स्टेट युनिभर्सिटीको आयोजनामा आईतबार बिबिध प्रस्तुतिहरु सहित कार्यक्रम सम्पन्न भएको हो। नेपाली कला,संस्कृति,पहिचान र विविधता झल्कने प्रस्तुतिहरु कार्यक्रमका मुख्य आकर्षणहरु थिए।

ग्रयाडुयट स्कुल क्यान्सस स्टेट युनिभर्सिटीका डिन डा.कारोल सान्कलिनले प्रमुख अतिथिको रुपमा बोल्दै बिद्यार्थीहरुले पढाईको अलवा सांस्कृतिक बिबिधता झल्काउने कार्यक्रम देखाएकोमा खुशी ब्यक्त गरे। एसोसियसनका सल्लाहकार डा.सन्तोष अर्यालले प्रमुख अतिथि डा.सान्कलिनलाई सम्झना स्वरुप नेपालको चिनारी झल्कने उपहारसमेत प्रदान गरे।
कार्यक्रममा दोस्रोपुस्ताका नेपाली बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए। सम्पदा रानाभाट,आईसा वराल र श्रेयम खनालले टिकटकमा देखेको बोलमा गीतमा नृत्य देखाउदा दर्शकहरु रमाएका थिए। त्यसो त झण्डै २० जना कलाकारहरुले बिभिन्न नेपाली मौलिक गीतहरुमा नृत्य देखाए। डा.कृष्ण घिमिरे, सीतल बाबु रिजाल र इभिना मालीले नेपाली गीतहरु सुनाए। कार्यक्रममा नाटक,नेपाली भजन,फेसन शो जस्ता गतिबिधिहरुले कार्यक्रम रोचकमात्र बनेन ताकि दर्शकहरुको ध्यान खिच्न सफल बन्यो।

नेपाल भ्रमण बर्ष २०२० लाई प्रवद्वन गर्न एसोसियसनले युनिभर्सिटीको सभाहलमा भ्रमण बर्षको अफिसियल टिजर प्रस्तुत गरेको थियो। एसिया,अफ्रिका,युरोप,दक्षिण अमेरिका लगायत बिभिन्न क्षेत्रहरुबाट अध्ययनका लागि पुगेका तथा स्थानीयहरु गरी झण्डै २ सय ५० जना सहभागिहरु थिए। नेपाल चिनाउने भिडीओ प्रस्तुत हुँदा उनीहरुले निकै चासो र उत्सुकतापूर्वक हेरेका थिए। मनोज क्षेत्री र बबिता अधिकारीले नेपालको सुन्दरताबारे बर्णन गर्दै सो अबसरमा भ्रमणबर्षबारे अझ स्पष्ट पारेका थिए।

एसोसियसनका अध्यक्ष नर रानाभाटले सहभागिहरुलाई स्वागत गर्दै “नेपाली साँझ” को सिङ्गो प्याकेज प्रस्तुत गर्न पाउँदा आँफूहरुलाई खुशी लागेको बताए। एसोसियसनका गतिबिधिहरुबारे चर्चा गर्दै रानाभाटले भने,” सम्पूर्ण सहयोगी हातहरुलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु। यहाँहरुको सहयोग र प्रेरेणासँगै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्वता ब्यक्त गर्दछु।”

कायर्क्रममा सहभागीहरुलाई निशुल्क रुपमा नेपाली खानाका परिकारहरुको समेत ब्यबस्था गरिएको थियो। सहभागीहरुले नेपाली खानाबारे चासो राख्दै निकै स्वादिष्ट रहेको प्रतिक्रिया समेत दिएका थिए।

सन् २००६ देखि स्थापना भएको नेप्लिज स्टुडेन्ड एसोसियसनले यसअघि पनि नेपाली कला र संस्कृति झल्कने थुप्रै कार्यक्रमहरु गर्दै आएको छ। क्यान्सस स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने तथा त्यहाँ कार्यरत नेपालीहरु तथा सो क्षेत्रमा रहेको नेपाली समुदायको अगुवाईमा नेपाली चाडपर्वमा बिभिन्न गतिबिधिहरु हुँदै आएका छन्।












