म्याड्रिड। स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौं समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यस पछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्वीपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् ।
स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई दिनुका साथै नेपालकी रास्ट्रपति विद्यादेवी भण्डारीप्रति शुभकामना व्यक्त गरे । उनले नेपालको अनौपचारिक भ्रमणको सम्झना गर्दै फेरी कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए । उनले राजदूत शेर्पाको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्वन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।

स्पेनका राजाले एप्रिल २०१५ को विध्वम्शकारी भूकम्पपछि नेपालमा भै रहेको पुनर्निर्माणका कामहरुको प्रगति तथा जलवायु परिवर्तनका असरहरुबारे पनि जिज्ञासा राखेका थिए । सो अवसरमा राजदूत शेर्पाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्पेनका नरेशप्रति हार्दिक अभिवादन टक्र्याउनुका साथै मित्रताको सन्देश पनि सुनाइन् । उनले सुन्दर मुलुक स्पेनमा आफुलाई न्यानो स्वागत गरेकोमा धन्यवाद पनि दिइन् ।
राजदूत शेर्पाले राजा फेलिपेलाई नेपालको स्थिर राजनीतिक परिस्थिति तथा “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालिन लक्ष पुरा गर्न सरकारले गरी रहेका प्रयासहरु बारे जानकारी गराएकी थिइन् । उनले स्पेनका राजालाई नेपाल सरकारले जलवायु परिवर्तनका बारेमा आउँदो २-४ एप्रिल २०२० मा काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवाद तथा नेपाल भ्रमण वर्ष २०२० बारे पनि जानकारी गराएकी थिइन् ।

उनले दुइ मुलुकहरुबीच आपसी सहयोगका थप मार्गहरु खोज्नुका साथै दुवै देशबीच सम्वन्ध अरु सुदृढ गर्ने आफ्नो प्रतिवद्धता पनि व्यक्त गरिन् । सो समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी संचार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।