बार्सिलोना। एनआरएनए स्पेनले पनि खुल्ला पार्कमा पुगी भ्रमण बर्षको प्रचारप्रसासहित शुभारम्भ गरेको छ। मंगलबार अपरान्ह संघले पर्यटकहरुको घुईचो लाग्ने आर्के दे ट्रुम पार्कबाट भ्रमण बर्षको शुभारम्भ गरेको हो।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले सबैले आ-आफ्नो ठाउँमा नेपाल भ्रमणकालागि प्रेरित गर्न नेपाली समुदायलाई अनुरोध गरे। उनले भने,”आज एक दिन मैनबत्ती बालेरमात्र कार्यक्रमको उद्घाटन गरेर अब सक्कियो भन्ने कसैले पनि नसौचौ। बर्षेभरी नै यो अभियानमा साथदिन सम्पूर्ण गैर आबासीय नेपालीहरुलाई अनुरोध गर्दछु।”

एनआरएनए युरोप उपसंयोजक मुक्त बहादुर गुरुङले संघको अन्तराष्ट्रिय समन्वय परिषदवाट नै कुटनीतिक निकायसँग हातेमालो गर्दै भ्रमण बर्ष अभियान सफल पार्न निर्णय भएकाले युरोपबासी नेपाली समुदायलाई एकजुट हुन आह्ववान गरेका थिए।

झन्डै सयको संख्यामा उपस्थिति नेपालीहरुले पार्क वरपर घुम्न आएका पर्यटकहरुलाई नेपाल भ्रमण बर्षको बारेमा जानकारी गराएका थिए। कातालान भाषामा छापिएको नेपालभ्रमण बर्षबारे ६ पेज लामो प्रचारसामाग्री उक्त अबसरमा बितरण गरिएको थियो। झन्डै ४५०० प्रति म्याड्रिडस्थित नेपाली दूताबासमा उक्त सामग्रीहरु रहेकाले नेपाली रेष्टुरेन्ट,सुपरमार्केट लगायतका ठाउँहरुवाट बितरण गर्न संघले आह्ववान गरेको छ।

भम्रण बर्ष बिशेष कार्यक्रमको संचालन संघका महासचिव उमराज ढकालले गरेका थिए।
म्याड्रिडमा पनि शुभारम्भ:-
कार्लोस सोरिया स्पेनका सफल पर्वतारोही हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमालहरुको आरोहण गरिसकेका छन्। ती मध्ये १२ वटा हिमालहरुको चुचुरो चुमिसकेको छन्। सोरियाले धलागिरि र सिसापाङ्गा हिमालको चुचुरोमा मात्र टेक्न बाँकी छ ।
उने ७५ वर्षको उमेरमा कंचनजंगा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। सन् २००१ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत पाइला टेकिसकेका छन् ।तर १०औं पटक प्रयास गर्दा पनि हालसम्म धलागिरि हिमालको चुचुरो चुम्न सकेका छैनन्। धलागिरि आँफैमा सबैभन्दा जटिल हिमाल नभए पनि सोरियाका लागि भने सबैभन्दा ठूलो चुनौती बन्दै आएको छ।

उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा धवलागिरिको चुचुरो टेक्ने सपना अधुरै छ।
२ वर्षअघि घुँडामा शल्यक्रिया गरेर कृत्रिम अङ्ग राखिएको छ । तर सोरियाको जोश, आँट र अठोट भने उस्तै छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ११ औं पटकको प्रयासमा धवलागिरिको चुचुरो चुम्ने सपना देखेका छन्। पाइला टेकिहालेमा उनले ८१ वर्षको उमेरमा आफ्नो सपना पूरा गर्नेछन्।
सोरियाले मंगलबार म्याड्रिडमा आयोजित एक कार्यक्रमकाबीच धवलागिरि चढ्न पुन: नेपाल जाने उद्घघोष गरेका छन्।

नेपाली राजदूतावास म्याड्रिडद्वारा मंगलबार आयोजित भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा ८० वर्षको उमेरमा पनि हिमाल चढ्न प्रेरित हुनुबारे बोल्दै उनले ‘हिमालहरु नै आफ्नो बाँच्ने रहर’ भएको प्रतिक्रिया दिए ।
नेपाल आफ्नो दोस्रो घर बताउँदै नेपालका लागि पर्यटन कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा दर्शाउदै आँफू यसै वर्ष पुन: हिमाल चढ्ने उद्घघोष गरे। झण्डै २५० जना स्पेनिसहरु सहभागी उक्त कार्यक्रममा सोरियाले आफ्नो प्रस्तुतिसहित नेपाल र नेपालका हिमालहरुको स्मरण गरेका थिए। उनीसँग नेपालको एक घनिष्ट र लामो निकटता रहेको छ।

कार्यक्रममा म्याड्रिडस्थित नेपाली आवासीय राजदूत दावा फुटी शेर्पाले पर्वतारोही सोरियालाई धवलागिरिको सफल आरोहणको शुभकामाना दिइन्। राजदूत शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी पनि हुन् ।
उनले भनिन् , ‘धवलागिरिको सफल आरोहणका लागि म सोरियालाई शुभकामाना दिन चाहन्छु। उहाँको हिमाल आरोहणको ६० औं वार्षिकोत्सव पनि हो। साथमा नेपाल भ्रमण वर्ष पनि। उहाँलाई यो विशेष अवसरमा शुभकामाना छ।’
राजदूत शेर्पाले पर्यटकहरुका लागि नेपालमा विविध विकल्पहरु रहेको बताउदै प्रमुख गन्तब्य रहेकोमा जोड दिइन्। नेपालले सबैलाई केही नै केही दिन खोजीरहेको बताउँदै देशको प्राकृतिक तथा साँस्कृतिक विविधताको बारेमा चर्चा गरिन्। नेपाल यात्रा सहज बनाउन म्याड्रिड दूतावास जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको राजदूत शेर्पाले बताइन्।

माउन्टेन सोसाइटी पेनेरालाका अध्यक्ष पेड्रो निकोलस पनि कार्यक्रमका वक्ता थिए। उनले स्पेनको माउन्टेन सोसाइटी विविध क्षेत्रका लागि महत्वपूर्ण रहेको बताउँदै म्याड्रिडको दूतावासले नेपाल र स्पेनलाई नजिक ल्याउनेमा विश्वास व्यक्त गरे।
सन् १९१० मा स्थापना भएको ऐतिहासिक सोसल क्लब कासिनो डे म्याड्रिडमा सम्पन्न भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सहभागीहरु निकै उत्साहित थिए। यो अवसरमा दूतावासले अप्रिलमा हुने सगरमाथा संवादका लागि पर्वतारोही सोरियालाई निमन्त्रणा गरेको छ ।



