बार्सिलोना। आजकाल विदेशतिर हुने प्राय कार्यक्रमहरु दिक्क लाग्दा नै हुन्छन्। मञ्चभरी कुर्सी राख्यो।संघसंस्थाका प्रतिनिधिहरुलाई आसनग्रहण भन्दै पालैपालो बोलायो। खादा लगाईदिएपछि उनिहरुकै पट्यार लाग्दो भाषण सुन्यो।त्यसो त १-२ घण्टा ढिलोगरी सुरुहुने कार्यक्रमहरुमा सधैँ यस्तै गतिबिधिहरु दोहोरिदा दर्शकहरु वाक्कदिक्क नै हुने गरेको भेटिन्छ। तर शुक्रबार स्पेनको बार्सिलोनामा सम्पन्न कार्यक्रम निकै पृथक देखियो।
बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुले सप्ताहान्तमा समय निकालेर नेपाली भाषा सिक्ने थलो हो पाठशाला। सन्दर्भ थियो नेपाली पाठशाला बार्सिलोनाको छैटौं बार्षिकोत्सव कार्यक्रम। कार्यक्रम संचालनदेखि उद्घघाटनसम्म,स्वागत मन्तब्यदेखि नृत्य,गायन,कबिता लगायत थुप्रै प्रस्तुतिहरु बालबालिकाहरुले देखाए। मञ्चमा सधैं पुगेर भाषण गर्ने आफ्ना अभिभावकहरुलाई “अब बोल्ने पालो हाम्रो “ हो है भन्ने स्पष्ट संकेत उनिहरुले देखाएका छन्। त्यसो त पाठशालामा पुगेपछि बालबालिकाहरुले नेपाली भाषा र कलामा ठुलै छलाङ्ग मारेको कार्यक्रमबाट प्रष्ट देखिन्थ्यो।

७ बर्षकी लिदिया भुसालले अभिभावकहरुलाई स्वागत गर्दै आफ्नो डाक्टर बन्ने सपना सुनाईन्। आफ्ना पिताको जन्मथलो पर्बतमा पुगेर गरिव तथा असायहरुलाई सहयोग गर्ने उदेश्यबारे पनि बोलिन्। अर्की बालिका स्तुती कटुवालले कवितामार्फत आमाको महिमा सुनाईन्। बालबालिकाहरुले “ताराबजी लै लै”,म्याउम्याउ बिरालोदेखि सरस्वती स्तुति संस्कृत भाषामा कण्ठस्त सुनाए। उनिहरुले प्रस्तुतिराख्दा अभिभावकहरुको मुहारमा एउटा छुट्टै मुस्कान झल्केको भेटिन्थ्यो।

“पहिले राष्ट्रिय गान गुनगुनाउन पनि नसक्ने बालबालिकाहरु अहिले नेपाली गीत,संगीत र नेपाली भाषामा पोख्त भएको देख्दा म आँफै दंग छु।” एक अभिभावक डिक कार्कीले प्रतिक्रिया दिए। उनले स्टेजमा नै पुगेर पाठशालामा योगदान दिईरहेका शिक्षिकाहरुलाई सम्मानगर्दै मुक्तकण्ठले प्रशंसा गरे।

एनआरएन स्पेनले सन् २००९ मा नेपाली पाठशाला स्थापना गर्ने पहल गरेतापनि सफल भएन। तर सन् २०१४ मा केहि महिला अभिभावकहरुले सक्रियता देखाएपछि पाठशालाको जन्म भएको थियो। ५ जना बालबालिकाहरुलाई घरमा नै कखरा सिकाउदै यसको सुरुवात भएको हो। तर अहिले उमेर र स्तरअनुसार फरक तीन कक्षामा ३० जना बालबालिकाहरुले नेपाली भाषा सिक्दै आएका छन् ।

“नेपालमा रहेका हजुरबाआमासँग कुराकानीगर्दा बालबालिकाहरुलाई भाषाको ठुलो समस्या देखिन्थ्यो। तर पाठशाला आएदेखि उनिहरुमा आमुल परिबर्तन आएको छ। सजिलैसँग बोल्न र कुराकानी गर्न सक्षम भएका छन्। यो नै हाम्रोलागि सबैभन्दा खुशीको क्षण हो।” एक अभिभावक सन्तोष पौडेलले आफ्नो अनुभव सुनाए।

बिभिन्न उताढचढावबीच पनि पाठशालाले ६ बर्षे यात्रा तय गरेकोमा संयोजक सरला सापकोटाले खुशी ब्यक्त गरिन्। नेपाली समुदायको सहयोगले नै यो सम्भव भएको भन्दै सुझाव र सल्लाहलाई मनन गर्दै पाठशालालाई अझै अघि पुर्याउने प्रण समेत गरिन्।
बिदेशमा नै जन्मेर यतै हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई युरोपका अन्य देशहरुमा पनि नेपाली भाषा सिकाउन थालिएको छ । बेलायत,डेनमार्क, जर्मनी,बेल्जियम,नेदरल्यान्ड,पोर्चुगल लगायतका युरोपेली मुलुकहरुमा बालबालिकाहरुलाई नेपाली पढ्न र लेख्न सिकाउन थालिएको हो ।




