पोखरा - प्रदेश सभा बीच अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ पोखरा आएको सुदूर पश्चिम प्रदेश सभा टोलीलाई आज यहाँ आयोजित एक समारोहका बीच स्वागत गरिएको छ ।
सुदूर पश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वको १७ सदस्यीय टोलीलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्वागत गनुुभयो ।भ्रमणले दुबै प्रदेश सभाले यस अवधिमा भए गरेका गतिविधि तथा अनुभव साटासाट गर्न महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा संघीयताको कार्यान्वयनसँगै संसदीय अभ्यासका सम्वन्धमा भईरहेका अनुभव, काम कारवाही लगातयमा छलफल एवम् अन्तरकृया गरिएको थियो ।
छलफलमा उपसभामुख शर्माले गण्डकी प्रदेश सभामा अघिकांश बिषय सर्वसम्मत परित भएको अनुभव सुनाउँदै प्रदेशलाई समृद्धि र विकासको मार्गमा लैजान सबैको एकताबद्ध प्रयास भैरहेको बताउनुभयो ।
भ्रमण टोली नेता प्रमुख सचेतक तारा लामा तामाङले एक हप्ते अध्ययन अवलोकन क्रममा संघमा राष्ट्रिय सभा, प्रतिनिधि सभा सहित प्रदेश नं. १, ३, ५ को भ्रमण सम्पन्न गर्दै गण्डकी प्रदेश आएको जानकारी दिनुभयो ।
सबै प्रदेश सभामा कानून निर्माणले गति लिनुका साथै विकास निर्माणमा कृयाशिल बनेको भ्रमणका क्रममा पाएको बताउँदै सबैतिर संघीयताको संस्थागत विकासको अभियान चलिरहेको उल्लेख गर्नुभयो ।
सुदूर पश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले संघीयता नेपालका लागि नयाँ संरचना र अनुभव भएको बताउँदै भ्रमणले आन्तरिक पर्यटन प्रद्र्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।





