बार्सिलोना। एनआरएनए स्पेनको नयाँ नेतृत्वका लागि आईतबार ३ वटै क्षेत्रीय समितिहरुमा मतदान सम्पन्न भएको छ। क्षेत्रीय समिति म्याड्रिड,पाईसभास्को र ग्रानक्यानेरियामा गरी ६५ प्रतिशत मत खसेको छ।
क्षेत्रिय समिति म्याड्रिडमा ३९४ जना मतदातामध्ये २३४ जनाले मतदान गरे। पाईसभास्कोमा २१८ मत खसेको छ। सो क्षेत्रमा ३३१ जना मतदाता संख्या रहेका थिए। यस्तै क्षेत्रिय समिति ग्रानक्यानेरियामा १२२ मतदाता मध्ये १०० जनाले मतदान गरे। सो क्षेत्रबाट पहिलो पटक एनआरएन स्पेनको केन्द्रिय नेतृत्व चुन्न मतदाताहरु मतदानमा सहभागी बने। यसअघि पाँचौ अधिबेशनसम्म म्याड्रिड र पाईसभास्को गरी दुई वटा क्षेत्रीय समितिहरु मात्रै आधिकारिक थिए।
एनआरएनए स्पेनको निर्बाचन समितिले म्याड्रिडका लागि अनिल गुरुङ,पाईसभास्कोका लागि अर्जुन आचार्य र क्यानेरियाका लागि उमेशप्रसाद अधिकारीलाई निर्बाचन अधिकृत तोकेको थियो। ३ वटै क्षेत्रमा गरी ५५२ मत खसेको छ। अर्थात् यो कुल मतदाता संख्याको ६५ प्रतिशत खसेको मत हो।

बार्सिलोना केन्द्रमा आज मतदान हुँदै :-
एनआरएनए स्पेनको छैठौं अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि मुख्य केन्द्र बार्सिलोनामा आज मतदान हुँदैछ। बिहान १० बजे देखि राति ८ बजेसम्म हुने मतदानमा एमआईएसबाट दर्ता भएका सहित गरी १५४९ मतदाताहरुले भाग लिने भएका छन्। एमआईएसमा दर्ता भएका १५२ जना मतदाता र अन्य १३९७ जनाले बार्सिलोना केन्द्रमा मतदान गर्नेछन्।

एनआरएनए स्पेनमा २३९६ जना पंजीकृत सदस्यता भएपछि ईतिहासमै पहिलोपटक दुई आईसीसी पदका लागि निर्बाचन भएको छ।
को-को छन् निर्बाचनको दौडमा ?
एनआरएनए स्पेनको नयाँ नेतृत्वका लागि दिनेश गुरुङ (देउकाजी) र पेशल कुमार कोईराला चुनावी मैदानमा छन्। गुरुङ संघका पुर्ब महासचिव हुन् भने कोईराला बर्तमान उपाध्यक्ष हुन्।
अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि ३ जना प्रतिस्पर्धीहरु छन्। संघका बर्तमान अध्यक्ष चिन्तामणी सापकोटा,बर्तमान उपाध्यक्ष सुनिल रानाभाट र पूर्व उपाध्यक्ष प्रकाश तिमिल्सिना चुनावी मैदानमा छन्।
खुल्लातर्फको दुई उपाध्यक्ष पदका लागि दिनेशकुमार गिरी,सनु राउत र उत्तर कुमार राई दौडमा छन्। एक उपाध्यक्ष (क्षेत्र) छुट्टाईएकोमा राम प्रसाद दाहाल र तुलसी बहादुर गुरुङले प्रतिस्पर्धा गरेका छन्। यस्तै महासचिव पदका लागि बिनय अधिकारी र उमराज ढकाल (राज) भिडेका छन्।

खुल्लातर्फ दुई सचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ। भुवन कटुवाल,रबि पुडासैनी,दुर्गा प्रसाद घिमिरे (लेकाली) ,धुब्र भट्ट र मेघनाथ ढकाल चुनावी मैदानमा उत्रिएका छन्। पाईसभास्कोतर्फ क्षेत्रीय सचिव पदको कोटामा राजेन्द्र सेढाई र महानारायण चौधरीको भिडेका छन्। कोषाध्यक्ष पदका लागि शन्त बहादुर क्षेत्री र गोबिन्दप्रसाद तिमिल्सिना र सह-कोषाध्यक्षमा महन्त महर्जन र शान्ता राणा तथा महिला संयोजकमा मौसमी गुरुङ् (समी) र पार्वती वलीबिच प्रतिस्पर्धा छ।

यस्तै ६ जना सदस्यका लागि ११ जना चुनावी मैदानमा छन्। आङ् लाक्पा शेर्पा,भुप्रेन्द्रकुमार श्रेष्ठ,सोमप्रसाद गुरुङ,शालिकराम डुम्रे,बिदुर गौतम,लक्ष्मण खत्री,तारानाथ अधिकारी,ईमा सापकोटा भट्ट,शितल खतिवडा,पान बहादुर गुरुङ र हेम बहादुर मल्लको उम्मेदवारी परेको हो।

अध्यक्षका प्रत्यासीहरु कोईराला नेपाली जनसम्पर्क समिति स्पेन निकट र गुरुङ प्रवासी नेपाली एकता मञ्च स्पेन निकटका उम्मेदवार हुन्। यो निर्बाचनलाई कांग्रेस भर्सेस कम्युनिष्टबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ।
