एनआरएन अध्यक्षका प्रत्यासी पन्तको च्यालेन्ज :-‘चुनाव लड्न मैदानमा आउँनुहोस्’


बार्सिलोना। गैर आबासीय नेपाली संघको नवौ अन्तर्राष्ट्रिय महाधिवेशन आउन झन्डै दुई महिना मात्र बाँकी छ। तर डायस्फोरामा चुनाबी माहोल अहिले ह्ववात्तै तातेको छ। संघका बर्तमान अध्यक्ष भवन भट्टले यसै साता एक बक्तब्य मार्फत आँफू पुन: अध्यक्ष पदमा दावी नगर्ने बताए। यो सँगै गैर आबासीय नेपालीहरुमाँझ आगामी नेतृत्वको बिषयलाई लिएर झनै चासो बढेको हो।  

बेलायत निबासी ब्यबसायी कुल आचार्यले सोमबार आगामी नेतृत्वका लागि चुनाबी मैदानमा उत्रने घोषणा गरे। संघका उपाध्यक्ष समेत रहेका आचार्यले परिणाम जस्तो सुकै आएपनि चुनावी मैदानबाट पछि नहट्ने संकेत गरेका छन्।

आचार्यको उम्मेदवारी चर्चा एक्कासी चुलिदा दुई-दुई पटकसम्म उपाध्यक्ष बनेका जर्मनी निबासी ब्यबसायी कुमार पन्त  हङकङमा थिए। जर्मनी आउने क्रममा बिमानस्थलबाट नै कुराकानी गर्दै प्रतिस्पर्धामा आउनेलाई साँच्चिकै मैदानमा उत्रन खुल्ला च्यालेन्ज गरेका छन्। उनले अर्का उपाध्यक्ष आचार्यको उम्मेदवारी प्रति संकेत गर्दै  भने,’फेरि अब म ब्याक हुने वा चुनाव नलड्ने भन्ने प्रसङ्ग नै रहदैन। चुनाव लड्न मैदानमा जो आए पनि स्वागत छ।’

संघको आगामी नेतृत्वका लागि दाबेदार मानिएका पन्तसँग हामीले चुनाबी माहोल र पछिल्ला घटनाक्रममा बिषयमा कुराकानी गरेका छौ। प्रस्तुत छ उपाध्यक्ष पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :- 

दुई-दुई पटक उपाध्यक्ष त बन्नु भयो। यो पटक अध्यक्ष हुने माहोल बनेकै हो त ? 

म धेरै देशहरुमा पुगे। म अहिले पनि हङकङमा छु।हालसालै मात्र ३० बटा मुलकहरुका गैर आबासीय नेपालीहरुसँग त्यही पुगेर नै छलफल गरिसकेको छु। ‘जरो देखि लागेको मान्छे तपाई हो अब नेतृत्व गर्नुपर्छ’ भन्ने उहाँहरुको सुझाव मात्र हैन एकमत नै छ। त्यसैले पनि आगामी नेतृत्व सम्हाल्ने माहोल बनिरहेको अबस्था हो। 

तर अध्यक्ष बन्नका लागि पूर्व अध्यक्षहरुको साथ समर्थन, सहयोग र आर्शिबाद चाहिन्छ भन्छन् नि।  

पूर्व अध्यक्षहरुले मलाई नै समर्थन गर्ने भनिराख्नुभएको छ। संस्थापक अध्यक्ष उपेन्द्र जीले कम्तीमा अध्यक्ष मात्र भएपनि यसपटक सर्बसम्मत बनाउन पाए हुन्थ्यो भनीराख्नुभएकै छ। शेष दाईले पनि अब तपाईकै पालो हो। अघि  बढ्नुहोस् मेरो शुभकामाना छ भन्नुभएकै छ। तर हामी नेपालीहरु निबाचनमा अलिकति रमाउने र अलिकति पर्वको रुपमा लिने चलन पनि छ। निर्बाचन नभए अलिकति खल्लो हुन्छ भन्ने समुहका साथिहरुपनि हुनुहुन्छ। तरपनि सर्बसम्मत हुने धेरै सम्भावना देख्छु। नभए प्रजातान्त्रिक प्रक्रिया त छदै नै छ।

साँच्चिकै सर्बसम्मतको सम्भावाना देख्नुभएकै हो त ? 

हो। एकदमै धेरै सम्भावना छ। बिशेष गरी भवन जीको अस्तिको बक्तब्य आईसकेपछि त झन् सम्भावना बढ्यो। मेरो र उहाँको धेरैपटकको कुराकानीमा पनि सर्बसम्मत नेतृत्वका लागि पहल गर्छु भन्नुभएकै छ। 

अध्यक्ष भट्टको बक्तब्यको कुरा गर्नुभयो,तपाईहरुको आन्तरिक सहमति अनुसार नै ठाउँ खालि गरिदिनु भएको हो ?

त्यसरी पनि नलिउ। निर्बाचनको समय नजिकिदै छ। नेतृत्वका ईच्छा राख्ने साथीहरुलाई मार्ग प्रशस्त होस् भनेर बक्तब्य दिनुभएको हो भन्ने लाग्छ। म सँग भएको सहमति नितान्त व्यक्तिगत हो। मैले त्यतिबेला उहाँलाई सघाउने र उहाँले भविष्यमा सघाउने भन्ने कुरा नै हो। तर भ्रम नहोस् कि त्यसमा कुनै संस्थागत संग्लनता छैन। उहाँले अध्यक्षको रुपमा बक्तब्य दिदैगर्दा हाम्रो सहमतिलाई आधार मानेर दिएको भन्ने प्रश्न आउदैन। र मलाई त्यस्तो पनि लाग्दैन। नेतृत्व गर्न लायक थुप्रै सक्षम साथिहरु हुनुहुन्छ भन्ने ठानेर नै मार्गप्रशस्त गर्नुभएको भन्ने मेरो अनुमान छ। 

तपाईलेनै व्यक्तिगत सहमति भनीराख्नुभएको परिपेक्षमा तर तपाईकै ईतर अर्कै उम्मेदवारलाई समर्थन गर्नकै लागि अहिले देखिनै बाटो प्रशस्त गर्नुभएको हो भन्ने एकखाले चर्चा पनि सुनिन्छ नि !

मलाई त्यस्तो पटक्कै लाग्दैन। त्यस्तो हलुका अनुमान गर्दा अहिले नै हतार हुन्छ। पहिलो कुरा त उहाँले अझै पनि २ महिना नेतृत्व गर्न बाँकी नै छ। बिश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पन्न गर्नु कार्यकालभरिकै एक महत्वपूर्ण जिम्मेबारी पनि हो। त्यो बाँकी नै छ। अन्य कसैलाई नै मार्ग प्रशस्त गर्नुभएको हो भन्ने मलाई लाग्दैन। एउटा संस्थाको नेतृत्व गर्दाखेरि उ कत्तिको सफल भयो भन्ने कुरा आँफूपछि कस्तो नेतृत्व हस्तान्तरण गर्दैछ भन्ने बिषय निकै महत्वपूर्ण रहन्छ। यो बारे उहाँ सचेत हुनुहुन्छ। 

“एनआरएनको छाला ओढेर बसेको लोभी स्यालको बुई चढेर स्वार्थको रडाको मच्चाउने ब्वाँसाहरुको कमी छैन” भन्दै अध्यक्ष भट्टको बक्तब्य आएको छ। यो पूर्व अध्यक्षहरुप्रतिको संकेत हो भनेर कतिपयले आकलन गरेका छन्। पूर्व अध्यक्षहरुले तपाईलाई समर्थन गरिरहेको भनिरहदा,अध्यक्ष भट्ट र तपाईबीच दुरी बढेको संकेत हो ?

मैले उहाँको बक्तब्य प्रत्यक्षरुपमा अहिलेसम्म सुनेको छैन। र सुन्नपनि पाएको छैन। उहाँ जत्तिको जिम्मेवार मान्छेले पूर्व अध्यक्षहरुलाई,अभियन्ताहरुलाई त्यस्तो आरोप लगाउनु भयो भन्ने कुरामा म पटक्कै बिश्वास गर्दिन। ७०- ८० हजार  पंजीकृत सदस्यता भएको यति ठुलो संस्थाभित्र कोहि त्यस्ता मान्छेहरुपनि हुन सक्छन् भन्ने कुरालाई इंकित हुनसक्छ। यत्तिकै हावादारी अनुमान गर्नु हुँदैन। यस्तो आरोप पूर्व अध्यक्षहरुप्रति नै हो भनेर मेरो पटक्कै बिश्वास छैन। हामीबीच आत्मियता कायमै छ। 

तपाईले सर्बसम्मतको त धेरै चर्चा गर्नुभयो तर  अर्का उपाध्यक्ष कुल आचार्य पनि तपाईसँगै मैदानमा आएर चुनाव लड्ने संकेत गरिरहनु भएको छ नि !

अब हेर्नुहोस्।उहाँको मात्र हैन सोसल मिडियामार्फत उम्मेदवारीको बर्षा नै भईरहेको छ। अझ त्यो क्रम बिस्तारै बढ्दै पनि जान्छ।तपाईलाई थाहा नै छ। हाम्रो ईतिहासलाई हेर्दा निर्बाचनका लागि मतदान सुरु भएपछि पनि सहमति भएका उदाहरणहरु छन्।अब अहिले नै फलानो मान्छे अध्यक्ष उठ्दै छ। चुनाव लड्दै छ भन्ने निष्कर्षमा पुगिनहालौ। तर बिधानसम्मत उम्मेदवारी दिन छुट छदै छ। अहिले नै कसैको उम्मेदवारी प्रति मेरो कुनै कमेन्ट रहदैन। 

चुनाव लड्ने भए मैदानमा आऊ भन्ने तपाईको आशय हो ?

अब गैरआबासीय नेपालीहरुको भावानाको कदर गर्दै मैले अध्यक्षको उम्मेदवार दिने निश्चित नै छ। त्यो सबैलाई थाहा भएकै कुरा हो। अब यसपटक अध्यक्षको उम्मेदवार मात्र हैन अध्यक्ष नै बन्नुपर्छ भन्ने साथिहरुको भावाना पनि छ। म फेरि ब्याक हुने चुनाव वा नलड्ने भन्ने प्रसङ्ग नै रहदैन। त्यसैले प्रजातान्त्रिक प्रक्रियामा चुनाव लड्न मैदानमा जो आए पनि मैले स्वागत त गर्नै पर्यो नि हैन र ?

तर आचार्यको संकेत बुझ्दा त सहमतिका नाममा कसैलाई काखा वा पाखाभन्दा खुल्ला प्रतिस्पर्धाका लागि आह्ववान गरे जस्तो देखियो। झट्ट हेर्दा त तपाई चुनावबाट टाढिएर सहमतिमा जोड गरेजस्तो देखियो नि। 

यो के – को चिच्चावट हो ? मैले बुझेको छैन। सहमति भनेर उहाँलाई कस्ले प्रयास गर्यो मलाई थाहा छैन। को-को उहाँकोमा जानुभयो वा के भन्नुभयो त्यो पनि थाहा छैन। तर निर्बाचनका लागि तयार हुनुहुन्छ भने कसैले पनि रोकेको छैन। उहाँ स्वन्तन्त्र नै हुनुहुन्छ। अब स्वतन्त्र भईसकेपछि त्यसो भनिराख्नुपर्ने कुनै आबश्यकता छ र ?

अन्त्यमा,एनआरएनएलाई स्वतन्त्र, गैरनाफामुलुक र गैरराजनीतिक संस्था भनिन्छ, तर तपाई आँफै ईमान्दर भएर यसबारे टिप्पणी गरिदिनुहोस् त। अन्तर्राष्ट्रिय महाधिवेशनमा कति ठुलो राजनीतिक प्रभाव छ ?

हो म ईमान्दार भएर नै भन्छु। गैर आबासीय नेपाली संघलाई राजनीतिकरण गर्न खोज्नेहरु चुनावको बेला सलबलाएको सधैँ देखिन्छ। तर संघलाई राजनीतिकरण गराउछु भन्ने मान्छेहरु आँफै फिर्ता भएका जान्छन्। यो संजाल ८० लाख गैर आबासीय नेपालीहरुको साझा संस्था हो। कसैले राजनीति ल्याएर घुसाउने प्रत्यत्न गर्छ भने त्यो दुस्साहस बाहेक अरु केहि हुँदैन। संघमा राजनीतिकरण हुनुपर्छ भन्नेबारे म पटक्कै बिश्वास गर्दिन। र त्यसो हुनु हुँदैन। अझ मुख्य नेतृत्वकै लागि  राजनीति घुस्छ भने त्यतिबेला संस्थाको उपादयता नै सकिन्छ। 

यति मिठो गरि भनिरहदा तपाईलाई पनि नेपाल कम्युनिष्ट पार्टी निकट रहेर जित सुनिश्चिताका लागि राजनीतिक रङ् पोतेको आरोप त छ नि। 

 निर्बाचनको क्रममा बिभिन्न शक्तिहरु सलबलाउछन् मैले यसअघि नै प्रष्ट पारे। म माथि लगाईएको यो मिथ्या आरोप मात्रै हो। गैरआबासीय नेपाली संघको अभियानमा म पहिलो पटक निर्बाचनको प्रतिष्पर्धामा जान लागेको होईन। यसबारे म पूर्ण सचेत छु। यसअघिका पनि म सँग  थुप्रै निर्बाचनका अनुभवहरु छन्। दुई-दुई पटक उपाध्यक्ष बन्दा होस् वा संघको महासचिव बन्दा म निर्बाचन नै लडेर नै जितेको हुँ। तर मैले कुनै पनि पार्टीको प्रतिनिधि बनेर चुनाव जितेको होईन। मेरो उम्मेदवारी पार्टीको प्रतिनिधिको रुपमा थिएन र भविष्यमा पनि रहदैन।