बार्सिलोना । सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ, जसका लागि स्वीट्जरल्याण्डमा पनि अभियान सुरु भएको छ। स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासको आयोजना तथा एनआरएनएन र स्वीसनेपाली समाजको सहकार्यमा पर्यटन प्रवद्वन कार्यक्रम सम्पन्न भएको हो।
शनिबार राजधानी वर्नमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले नेपाल भम्रणका लागि स्वीस नागरिकहरुलाई अनुरोध गरेका छन्। प्राकृतिक ,साँस्कृतिक, मनोरन्जन तथा शाहसिक पर्यटनकालागि नेपाल उचित गन्तब्य रहेको बताउदै उनले नेपाल पुग्न अनुरोध गरे। राजदूत भट्टराईले भने,”भगवान गौतम बुद्वको जन्मस्थल,बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश तपाई एकपटक मात्र पुग्नु भयो भने त्यो क्षण जीवनभरका लागि अविष्मरणीय रहनेछ। त्यही सम्झनाले पनि तपाईलाई पटकपटक नेपाल पुग्न प्रेरित गर्नेछ।”
यसअघि राजदूतको रुपमा जेनेभा आउनेबित्तिकै उनले नेपाली समुदायद्वारा आयोजित पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन प्रवद्वन,लगानी र प्रबिधि हस्तान्तरणलाई जोडेर आर्थिक कुटनीतिको क्षेत्रमा काम गर्ने प्रतिवद्वतासमेत ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल पुगेका केहि स्विस नागरिकहरुले आफ्नो यात्रा र अनुभवबारे बताउदै अन्यलाई घुम्नका लागि प्रेरित गरे। स्वीसनेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन पूर्वाधार विकासमा सहज बनाउन सरकारलाई अनुरोध गरे। एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्न सहज आउजाउको वातावरण सरकारले तयार गर्नुपर्ने सहभागीहरुको संकेत थियो।
एनआरएनए स्वीट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङले पर्यटन बर्ष सफल पार्न गैर आबासीय नेपाली संघले भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे। नेपालीप्रेमी स्विस नागरिकहरुको उपस्थिति रहेको उक्त कायर्क्रममा नेपाली कला,संस्कृति झल्कने गीतसंगीत तथा नृत्यहरु समेत प्रस्तुत भए। स्वीट्जरल्याण्डका बिभिन्न शहरहरुमा पर्यटन प्रवद्वनका यस्तै गतिबिधिहरुलाई सक्रिय पार्ने दूताबासले जनाएको छ।