बार्सिलोना- नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी सरकार भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

“बजेट पेश गर्दा स्थानिय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो, ३० देखि ३५ प्रतिशत सम्म मात्र बजेट दिएको छ, त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु” उनले भने । संघियताको बाटो नेपाली काग्रेसले कोरेको उनले बताए ।
पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने ठोकुवा गर्दै पाँच वर्ष नेपाली काग्रेसले सरकार संञ्चालन गर्न पाए मात्र चमत्कार गर्न सकिने बताए ।नेपाली काग्रेसकै कारण नेपालमा धेरै परिवर्तन भएको उनको दावी थियो ।”गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सात हजार किमि बाटो थियो अहिले झण्डै ९० हजार किमि बन्यो, एउटा मेडिकल कलेज थियो, अहिले २० वटा पुगे, दुई वटा विश्वविद्यालय थिए अहिले १२ वटा विश्वविद्यालय पुगे, आकाशमा हवाइजहाज तथा विदेश जाने अवस्था सिर्जना समेत नेपाली काग्रेसका कारण सम्भव भएको हो” कोईरालाले भने।

अर्को प्रसंगमा उनले नेपाली काग्रेसलाई आफ्नो भित्रको अन्तरघातले मात्र हराउन नत्र अरु कसैले नेपाली काग्रेसलाई कसैले पराजय गर्न नसक्ने उनले बताए । आफुभित्र भएको तिक्ततालाई मेटाएर एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा उनको जोड थियो । तुरुन्तै निर्वाचन भएपनि नेपाली काग्रेस पहिलो पार्टी बन्ने उनको ठोकुवा थियो ।

जनसम्पर्क समितिको सुरुवात विशेश्वरप्रसाद कोइरालाले पहिलोपटक बम्बईमा आजभन्दा ४५ वर्ष अगाडी स्थापना गरेको महामन्त्री कोइरालाले स्मरण गरे। जनसम्पर्क समितिको क्रियाशिलताले काग्रेसलाई उर्जा थपेको उनले सुनाए ।
नेपाली काग्रेसका उपसभापती विमलेन्द्र निधिले विदेशमा बस्ने नेपालीको लागि भोटिङ राइट कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा नेपाली काग्रेस दृढ रहेको बताए । ’भोटिङ राइटको प्रयोग कसरी गर्ने उपयोग कसरी भन्ने छलफल गरेर अगाडी बढ्न नेपाली काग्रेस चाहन्छ‘ उनले भने ।

लोकतान्त्रिक नेपालको माध्यमबाट नेपालको विकास गर्नका लागि नेपालमा आएको परिवर्तन, शासनप्रणालि र संविधानलाई संस्थागत गर्ने चुनौती नेपालमा रहेको उनले बताए । यो चुनौतीको सामना गर्ने सामथ्र्य नेपाली काग्रेसमा मात्र दावी निधिले गरे ।
नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ । उपसभापति विमलेन्द्र निधीले प्रमुख अतिथिको रुपमा भेलाको उद्घाटन गरेका छन्। तीनदिने भेलाको पहिलो दिन उद्घाटन मात्र भएपनि नेपाली जनसम्पर्क समिति डेनमार्कले चौधौं बार्षिकोत्सब मनाएको हो।