बसन्त रानाभाट बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्याउनुपर्ने बताएका छन् ।
स्वीट्जरल्याण्डस्थित नेपाली राजदूतावास तथा संयुक्त राष्ट्रसंघ जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले तीव्र आर्थिक वृद्धि गर्दै गरिबी हटाउने र समृद्ध बनाउने बित्तिकै यस्तो अबस्था आउने बताएका हुन्।
उनले भने, ‘आज हामीलाई कुनै-कुनै देशको भिसा पाउन किन गाह्रो हुन्छ ? कुनै-कुनै देशहरु पासपोर्ट देखाउने बित्तिकै, सोध्दा पनि नसोध्दै भिसा दिने अबस्था छ। हामी गरीब भएर हेला गरिएको हो। त्यसकारण अरु कुराहरु भन्दा पनि गरिबी हटाउने र समृद्ध बनाउने बित्तिकै नेपाल पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्छ। त्यो स्थिति हामीले बनाउनु पर्छ।’

ठूलो संख्यामा कामदारहरु बाहिर जानुपर्ने अबस्थाले पनि आफ्नो देशमा फर्किनको लागि पनि कबुल गर्नुपर्ने अबस्था आएको प्रधानमन्त्री ओलीले बताए।
लामो बलिदानपूर्ण संघर्षपछि सफल भएर जनताले ठूलो विश्वासका साथ यो सरकारलाई जिम्मेबारी सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य लक्ष्य रहेको बताए।
स्विट्जरल्याण्डले विकास गर्नसक्छ भने हामीले किन नसक्ने ?
प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डले जस्तै नेपालले पनि विकास गर्न सक्ने दाबी गरे। देशलाई कसरी छिटो विकास गर्न सकिन्छ भन्ने प्रसंगमा बोल्दै उनले भने, ‘८ मिलियन भएको देशले यति विकास गर्न भने २८ मिलियन भएको हाम्रो देशले किन सक्तैन ? गर्न सक्छ त्यही भएर हामी त्यो आशा र बिश्वास जगाईरहेका छौ।’
निराश जनताबाट देश नबन्ने भन्दै प्रधानमन्त्री ओलीले जनतालाई आत्मबिश्वास र केही गर्न सक्छु भन्ने भावाना जगाउन अनुरोध गरे। उनले अघिल्लोपटक प्रधानमन्त्री हुँदा पनि विकासका लागि जनतालाई विश्वास जगाउने प्रयास गरेको बताए।

नेपालबाट बाहिर टेक्नोलोजी ट्रान्सफर गर्ने स्थिति बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। उनले भने, ‘अहिले अन्तबाट ज्ञानसीप टेक्नोलोजी लिन खोजिरहेका छौ तर हाम्रोबाट टेक्नोलोजी ट्रान्सफर गर्ने स्थिति बनाउनुपर्छ। यस्तो हुन सक्तैन भन्ने छैन,स्वीट्जरल्याण्डवाट हुन्छ भने नेपालबाट किन हुँदैन ?तर हामीलाई अलिकति समय लाग्छ ।’
गैरआवासीय नेपालीहरुप्रति सरकार चिन्तित
स्वीट्जरल्याण्डस्थित गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनहरुका हकअधिकारको सम्बन्धमा अहिलेको सरकार चिन्तित रहेको बताए। उनले गैरआवासीय नेपाली संघ निर्माण हुनु अगावै त्यसको निर्माणको सोचसँग आँफू पनि सँगसँगै रहेको स्मरण गरे।
प्रधानमन्त्री ओलीले भने,’संघका माग र भावानाहरु पनि मलाई थाहा छ। अलिकति नेपालीहरुलाई लगानी गर्न नदिएर,घरसँगको सम्बन्ध टुटाईदिएर अहिलेको सरकारले के के नै पाउँछु भन्ठान्छ होला र ? त्यो कल्पना गर्न सकिन्छ ? त्यसकारण साथीहरुलाई के भन्न चाहन्छु भने बारम्बार हल्लामा जादै नजानू।’

उनले राजनीतिक अधिकार एकठाउँमा प्रयोग गरिने बताउदै बाँकी अधिकार नेपालमा सम्पूर्ण रुपमा प्रयोग गर्न पाईनेबारे स्पष्ट पारे। मुलुकबाहिर रहेका नेपालीहरुलाई अनुरोध गर्दै प्रधानमन्त्रीले भने, ‘ सकेसम्म यताको कारोबार मिलाएर देश फर्काैं। फर्कन सकिएन भने यहीबाट केही गरौं। केही गर्न सकिएन भने पनि नेपालको जयहोस् भनौ ।’

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी नियोग प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले स्वागत गरेका थिए । एनआरएनए स्वीट्जरल्याण्डका अध्यक्ष भुमिराज गुरुङ,महिला संयोजक शुभ एल्मर लामा,नेपाल साईनटिफिक एसोसिएशनका अध्यक्ष रञ्जन मिश्रलगायतले समृद्ध नेपाल सुखी नेपालीबारे बोलेका थिए।