बार्सिलोना। साबिक बिजेता नेपाली मितेरीमञ्च मिलान (रातो) ले एनआरएनए कप ईन्टरसिटि फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आईतबार मिलानमा सम्पन्न फाईनल खेलमा कोलेकियो नेपाली परिवार पारमालाइ १०-२ को फराकिलो गोल अन्तरले पराजित गर्दै मितेरी मञ्च (रातो) ले ट्रफी उचालेको हो। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीको आयोजनामा शनिबार र आईतबार गरी दुईदिनसम्म चलेको प्रतियोगितामा ६ वटा टोलिहरुले भाग लिएका थिए। नेपाली समाज पिसा र नेपाली समाज रोमले प्रतियोगितमा सेमिफाईनलसम्मको यात्रा तय गर्न सफल भए।

बिजेता तथा उपबिजेतालाई नगद शिल्ड,मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको संघका महासचिव छबीलाल कँडेलले जानकारी थिए। बिजेताटिमका खेलाडी अनिल पाण्डे सर्बोत्कृष्ट खेलाडी बने। नेपाली समाज पिसाका खेलाडी राज चौलागाईले १५ गोलगर्दै सर्बाधिक गोलकर्ताको उपाधि जिते भने पारमाका मनित शेरबुजा उत्कृष्ट गोलकिपर बने। प्रतियोगिताको संयोजन डा. भिमबहादुर बमले गरेका थिए।

एनआरएनए ईटालीका अध्यक्ष दिपेशकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूताबास स्वीट्जरल्याण्डका उपनियोग प्रमुख तिर्थराज वाग्ले सहभागि थिए। उनले खेलाडीहरुलाई पुरस्कृत गर्दै नेपाली समुदायबीच खेलकुदका यस्ता गतिबिधिहरु हुनु प्रशंसिय भएको बताए।
नेपाल मितेरीमञ्चको ब्यबस्थापन तथा बिभिन्न संघसंस्थाहरुको सहयोगमा एनआरएनए ईटालीले गतबर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ।






