राजाराम पौडेल, पोखरा – पोखरामा नाटक तिर्खा मञ्चन जारी रहेको छ । पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । यो नाटक जेठ ९ गते बिहिबारबाट मञ्चन सुरु भएका थियो ।

नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ । झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरले जनाए । यो नाटकको परिकल्पना समेत चे शंकरले गरेका छन् ।

नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ ।

नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन् । उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टी आदी नाटक लेखेका छन् ।

नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई मात्र देखाइने थिएटरले जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतीले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जनाए । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो १ बजे समेत नाटक मञ्चन हुने थिएटर अध्यक्ष परिवर्तनले जनाए । एक महिनाको रिर्हसल पश्चात खारिएका कलाकारको अभिनयले दर्शकको मन जित्ने उनको विश्वास छ ।














तस्विर ः राजाराम पौडेल