पोखरा – प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशको तदर्थ समितिको अध्यक्षमा श्रीकान्त पौडेल सर्वसम्मत चयन भएका छन् ।
पोखरामा भएको भेलाबाट समितिको उपाध्यक्षमा बालिका के. सी. र खडकराज अधिकारी, सचिवमा संविधान लामिछाने, कोषध्यक्षमा सिर्जना खनाल र सहसचिवमा सहसचिवमा श्रीकृष्ण आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा डिल्लीराज उपाध्याय, रामचन्द्र पौडेल, भरतराज देवकोटा, विकास तामाङ, कृष्ण पौडेल, सिर्जना कँडेल, मीना भुजेल, एलिसा के. सी., खेमराज पौडेल, माया पौडेल, लालमाया छन्त्याल, दुर्गाबहादुर रावत, चन्द्रबहादुर पाल, प्रेमकुमारी मल्ल, अनन्तराम सापकोटा, गणेशकुमार श्रेष्ठ, प्रेमबहादुर हमाल, पुन्यप्रसाद पौडेल र धुरुप्रसाद अधिकारी रहेका छन् ।
यसअघि गण्डकी प्रदेशका शिक्षा विकास निर्देशक डा. बाबुराम ढुङ्गानाले कक्षा कोठामा प्रविधि भित्र्याउनु आजको आवश्यकता भएकोमा जोड दिए । पुरानै सोच र शैलीले अबको शैक्षिक जगत अघि नबढ्ने भन्दै निर्देशक ढुङ्गानाले सरकारका तर्फबाट पनि प्रविधिमैत्री शैक्षिक क्रियाकलाप सञ्चालनमा भरमग्दूर प्रयास गरिने बताए ।

केन्द्रीय उपाध्यक्ष हिमाकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख नारायण सुवेदीले प्रविधिको सदुपयोग भएमा प्रशस्त लाभ लिन सकिने भए पनि यसको दुरुपयोगबाट निम्तिने नकारात्मक प्रभावप्रति सचेत हुनुपर्नेमा जोड दिए । उनले प्रविधिमैत्री शिक्षक मात्रै होइन, शिक्षकमैत्री प्रविधि पनि हुनुपर्ने धारणा राखे ।
केन्द्रीय सचिव देवीप्रसाद शर्माको स्वागतमा भएको कार्यक्रममा गोगन माविकी शिक्षिका एलिसा के. सी.द्वारा प्रस्तुत डिजिटल पाठयोजनाको धेरैले प्रशंसा गरेका थिए ।
कार्यक्रममा क्यान महासङ्घका केन्द्रीय उपाध्यक्ष रोमकान्त पाण्डेले शिक्षामा सूचना सञ्चार प्रविधि र अभ्यासका विषय प्रशिक्षण दिएका थिए । यस्तै, केशव अम्गाईं, स्थिरबाबु सुवेदी, वासु तिवारी, खडकराज अधिकारी, सतिस गैह्रेलगायतले पनि कक्षा कोठामा सूचना प्रविधिको प्रयोगसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष भूपति बस्याल, जनप्रिय माविका प्रधानाध्यापक बाबुराम पौडेल, विजयलक्ष्मी कोइराला, दीपक पौडेललगायतले शुभकामना दिएका थिए ।