वसन्त रानाभाट,बार्सिलोना
रोजीरोटीको न्युनतम जीविकाका लागि पनि लाखौको संख्यामा तन्नेरीहरु बाहिरिनु पर्ने अबस्था नेपालले भोगेको छ। आफ्नो लागि भन्दा पनि आफ्नो सन्ततीको भविष्य देखेर थुप्रै तन्नेरीहरु मुलुक बाहिर छन्। “नेपाल भित्रै मेरा सन्ततीको भविष्य मेरो आफ्नो भन्दा राम्रो हुन्छ भन्ने आशा जगाउन सकियो” भने ठुलो पंक्ति मानिस नेपालमै बस्न रुचाउछन्” भन्ने धाराणा राख्छन् नेपाली काँग्रेसका युवा नेता गगन थापा।
थापा यति बेला ३ दिने युरोप भम्रणमा ब्यस्त छन्। नेपाली जनसम्पर्क समिति नर्वेको अधिबेशन सम्पन्न गरेर हाल उनि पोल्याण्ड पुगेका छन्। बिदेशिएका नेपालीहरुका बिभिन्न बिषयहरुलाई जोडेर सांसद थापासँग गरिएको कुराकानीको सम्पादित अंश :-
गगन जी,संसदको बजेट अधिवेशन सुरु भएर सत्तापक्ष र प्रतिपक्षवीच खुशी र निराशाबारे बहस भईरहेको बेला तपाई सुटुक्कै युरोप तिर उत्रनु भयो नि। खास त्यस्तो के थियो ?
नेपाली जनसम्पर्क समिति नर्वेको अधिवेशन पुर्व निर्धारित थियो, म त्यो अधिवेसनमा भाग लिन र जनसम्पर्क समिति पोल्याण्डको कार्यक्रमको लागि भनेर तीन दिनको लागि मात्रआएको हुँ । नेपालमा संसद अधिवेशन प्रारम्भ भइसकेको छ, कार्यक्रमलाई छोटो बनाएर फर्कदै छु।
तपाईले ओस्लोमा सम्बोधन गर्दै गर्दा केहि यस्ता शब्दहरु बोल्नुभयो,यहानिर जोड्न मन जोड्न मनलाग्यो। “अबसरको खोजिमा पात जस्तो उडेर विदेश आउनु भएको छ तर जरा बिर्सनु भएको छैन। नेपालमा भुईचालो जान्छ तर तपाईहरु यता हल्लिनु हुन्छ, हुरी बतास आउँदा तपाईहरु यहाँ उड्नुहुन्छ। तपाईहरुको शरीर यहाँ छ,आखिर मन उतै नेपालमा छ।” गगन जी तपाईले यसो भनिरहदा यो पनि बताईदिनुहोस् न,रोजीरोटीका लागि बिदेशिएका नेपालीहरुको शरीर पनि उतै, मन पनि उतै हुने दिन कहिले आउँला ?
म दूईवटा सम्भावना देख्छु । एउटा सम्भावना नेपालको लागि मात्र हैन नेपालभन्दा फरक फरक देशहरु, युरोपका जुन देशहरु, उदाहरणका लागि त्यहि नर्वे, कुनैबेला नर्वेको ठुलो जनसंख्या संयुक्तराज्य अमेरिकातिर गयो। के-को निम्ति भन्दा नर्वे भन्दा अमेरिकामा अवसर छ भनेर। प्रत्यक देशले आफ्नो यात्राको क्रममा कुनै न कुनै बेला यस्तो अवस्था भोगेको छ । चाहे अहिलेको चीन हेरौ, अहिलेको कोरिया हेरौ, त्यसैले नेपालको निम्ति मात्र एउटा अनौठो, युनिक अवस्था होइन। हाम्रो निम्ति बढी डरलाग्दो अवस्था, सचेत हुनुपर्ने विषय के -हो भने जनसंख्याको जस्तो खालको बनोटको चरणमा नेपाल छ । हाम्रा तन्नेरीहरु सबै नेपाल बाहिर जाने, निश्चित समयसम्म त्यसको लाभ उनिहरु जुन देशमा गए त्यो देशको अर्थतन्त्रले प्राप्त गर्ने। त्यसपछाडि नेपालले विकास गर्न चाहना राख्दा क्षमता विकास गर्दा पनि आफुसँग तन्नेरीहरुको त्यो जनसंख्या नहुने त्यस्तो अवस्था तर्फ नेपाल तिव्र गतिमा जादैछ।
त्यो भन्दा पनि अर्को चिन्ता गुर्न पर्ने विषय, यो विषयले हामीलाई छोएको छैन, १७, १८ वर्षमा नेपाल बुढ्यौलीको चरणमा जान्छ। विस्तारमा, त्यसपछिको २८, ३० वर्ष भित्रमा नेपाल पाको उमेरमा गइसकेको हुन्छ। एउटा परिवारसँग दाजेर हेरेउ भने अबको २८, ३० वर्ष पछाडी त घरमा कमाउने मान्छे हुदैनन्। जोहो गर्नुपर्छ भन्ने अवस्था हो नी अहिलेत, त्यसैले यो बेलामा धेरै मेहनत गर्नुपर्ने बढी जम्मा गर्नुपर्ने, बढी उत्पादन गर्नुपर्ने बेला हो। नागरिक पनि ठुलो पंत्तिमा बाहिर गएको छ। बाहिर गएकोले दुःख गरेर कमाएर पैसा पठाइदिएको छ। जस्ले गर्दा नेपालको राजनीतिक तथा प्रशासनिक नेतृत्वले पनि एकखालको सहजताको महशुस गरिरहेको अबस्था छ ।
तपाईले नर्बेबाट पनि अबसरका लागि अमेरिका गएको उदाहरण त दिनुभयो। तर रोजीरोटीको न्युनतम जीविकाका लागि पनि लाखौको संख्यामा तन्नेरीहरु बाहिर जानुपर्ने अबस्था नेपालले अहिले भोगिरहेको भोगेको छ। यो त संसारमा बिरलै होला नि ?
यो त विरलै हो। मैले भनेको त्यहि हो। जस्तो राम्रो आर्थिक अवसर प्राप्त ठाउँमा नेपाली जाने, केहि त्यहि बस्ने, केहि फर्कने। नेपालको अर्थतन्त्र राम्रो भएपनि कमजोर भएपनि कुनै एकदिन नेपालीहरु सबै नेपाल फर्कने, अथवा नेपालबाहिर जाने त्यस्तो अवस्था कहिल्यैपनि बन्दैन। तर न्युनतम रोजीरोटीको निम्ति लाखौको संख्यामा तन्नेरी बाहिर जाने जुन अहिलेको अवस्था छ। यो नबदिलिकन नेपाल बदलिन्न भन्ने मेरो आशय हो। नेपालमा सालाखाला वर्षमा ४ लाख, साढे ४ लाख युवाहरु श्रम बजारमा आउँछन्। कामको खोजिमा प्रत्यक वर्ष, उनीहरुले न्युनतम जिविका चलाउन सक्नेगरी काम प्राप्त गर्न सक्ने मान्छे थोरै हुन्छन्। ३ लाख, साढे ३ लाख मान्छेले काम पाउदैनन्। काम नपाएपछि उनीहरु काम खोज्न बाहिर जान्छन्। जबसम्म नेपालभित्र त्यो अवसर सिर्जना हुदैन तबसम्म यो रोकिदैन। हामीले पुर्वाधार केलाई मान्यौ भने नेपालमा राजनीतिक सक्रमण भयो.स्थायित्व भएन, सरकार बदलिरहे, जसले गर्दा अवसर सिर्जना गर्न सकेनौ भनेर लामो समयसम्म यसमा मेहनत गरेउ। किनकी यसलाई हामीले पूर्वसर्त मान्यौ। त्यो त पुरा भयो अब, पुरा भइसकेपछाडि पनि गएको एक वर्ष हाम्रो लागि उत्साहित हुने वर्ष रहेन। एक वर्ष भित्र कम्तिमा केहि आधारहरु निर्माण गर्न सकेको भए , त्यो दिशातर्फ अग्रसर भएको भए एउटा आत्मविश्वासका साथमा अबको ५, ७ वर्षमा नेपालमा ठुलो परिवर्तन देख्नुहुन्छ भनेर मैले भन्न सक्थे। त्यो भन्न पाएको छैन ।
देश विदेश घुम्दा विदेशिने युवाहरुसँग पनि कुराकानी छलफल गर्नुभएको होला। नेपालमा नै आशा जगाउन नसक्नुको कारण के रहेछ ?
संसारभरी नेपाली भएको ठाउँमा जाने घुम्ने, भेट्ने मौका पाएको छु । यो पहिलो पुस्ताको नेपालीहरु प्रायः । १५, १६ वर्ष कसैको २०, २५ वर्ष भएको छ । मैलै सबैलाई सोध्छु । तपाइहरु किन आउनुभएको ? सबैको कथा करिब करिब एउटै हुन्छ। नेपाल भन्दा राम्रो आर्थिक अवसर यहाँ पाएकोले। त्यो के को लागि भन्दा आफ्नो लागि भन्दा आफ्नो सन्ततीको लागि आएको देख्छु । “नेपाल भित्रै मेरा सन्ततीको भविष्य मेरो आफ्नो भन्दा राम्रो हुन्छ भन्ने आशा जगायो भने ठुलो पंक्ति मानिस नेपाल बस्न रुचाउछन् ।” त्यो आशा जगाउन सकिन्छ सकिदैन भन्नेमा भर पर्छ ।
त्यस्तो आशा जगाउने अबस्था छ त नेपालमा ?
मेरो सानो अनुभव राखौ। गएको चुनाव सकिएपछि म देशका विभिन्न ठाउँमा गए। त्यो बेलामा यो पार्टी, त्यो पार्टी, यो विचार, त्यो विचारबाट अलग गराएर मानिहरुमा ठुलो आशाको सञ्चार गरायो । किनकि एउटा लामो राजनीतिक टुंगियो, उकुसमुकुसबाट देश बाहिर निस्कियो। अब केहि नयाँ हुन्छ भन्ने मानिसमा भयो । त्यसलाई हामीले कति स्थायित्व दिन सकेउ सकेनौ, छुट्टै बहसको विषय भयो । मानिसहरु सबैले त्यसको प्रतिक्षा गरिरहेका रहेछन् । मलाई लाग्छ बाहिर गएका साथीहरुले पनि त्यो कुराको प्रतिक्षा गरिहेका छन् । नेपालभित्रै पनि हाम्रा सन्ततीहरुको भविष्य राम्रो हुन्छ भन्ने लाग्यो भने जाने क्रम पनि रोकिन्छ फर्कनेक्रम पनि बढ्छ ।
देशविदेश घुमीरहनुहुन्छ,बिकसित देशको बारेमा अध्ययन गरिरहनुभएकै छ। तर हामी कहाँ प्रगती नहुनुको कारण,विकास नहुनुको कारण,वा सम्बृद्ध नेपाल नबन्नुको कारण, तपाई के देख्नुहुन्छ ?
पहिलो कुरा हामीले राजनीतिक प्रणालीलाइ स्थिर बनाउन सकेनौ। सन् १९९० मा नेपाल र पोल्याण्डमा एकैचोटी डेमोक्रेसी आयो। त्यो बेलादेखि पोल्याण्ड २७, २८ वर्ष त्यहि प्रणालीलाई स्थिर बनाएर त्यही बाटो अगाडी बढ्यो । हामी गएको २५, २६ वर्षको हेरेउ भने २० औँ वर्ष त राजनीतिक संघर्षमा नै बित्यो । हामीले २०४६ सालपछाडिको परिवर्तनलाई टिकाउन सकेनौ। हामीले प्रत्यक पल्ट त्यही गर्दै आएका छौ। परिवर्तन गर्छो, परिवर्तन टिकाउन सक्दैनौ। हाम्रो समय, स्रोत सबै त्यसको लडाइमा जान्छ । दोस्रो, हाम्रा अड्डा, अदालत, विश्वविद्यालय लगायतका इन्स्टिच्युसनलाई राजनीतिक लडाई चल्दै गर्दा पनि बलियो प्रभावकारी बनाउदै जानुपथ्र्यो। जुनसुकै सत्ता सरकार रहेतापनि, बाहिर विकसित देशमा जाँदा मैले देखेको त्यहाँ यस्ता इन्स्टिच्युसनहरु एकदम बलिया छन् । उनीहरुले आफ्नो जिम्मेवारी, कामहरु पुरा गर्दै गर्दे आएका छन्। जसले गर्दा देशको प्रगति र विकासमा उनीहरुले ठुलो योगदान पुर्याएका छन् । हामी कहाँ त पहिलाको भन्दा पनि कमजोर हुदै गयो । यसलाई जोगाउन सकेनौ ।तेस्रो कुरा, गरिबीबाट बाहिर निस्कने आकांक्षा हामीले राख्यौ। नारा लगायौ, तर जे कारणले हामी गरिब रहिरहेको हो वा अविकसित रहरिहेको हो त्यो अवस्था बदल्नको लागि जुन ठाउँमा जस्तो हस्तक्षेप गर्नुपथ्र्यो, त्यो गरेनौ।हुनुपर्छ भन्यौ, यहाँ जान चाहन्छौ भन्यौ, त्यहाँ जानका लागि गर्नुपर्ने ठाउँमा परिवर्तन गरेनौ। कहिले डराएर गरैनौ त कहिले सिर्जनात्मक नभएर गरेनौ। कहिले रुचि नराखेर गरेनौ, तर गरेनौ । जुन यात्राको निम्ति हामीले जे गर्नुपथ्र्यो त्यो गर्दै नगरेपछि त्यो यात्रा कसरी बढ्थ्यो बढेन ।
राजनीतिक प्रणाली स्थिर भएन यो एउटा पाटो भयो। तर कतिपयले त, नेपालको बिकास नहुनु सरकार अस्थिर भएर हो। बलियो सरकार नबनेर हो भनेर बेलाबखत टिप्पणीहरु पनि हुन्थे नि। अहिले त यति बलियो कम्युनिष्ट सरकार छ,अब सम्बृद्ध नेपाल बन्ला त ?
एउटा कारण त्यसको बारेको बुझाइनै गलत थियो भन्ने मलाई जहिलेपनि लागेको हो। हाम्रो राजनीतिक प्रणाली स्थिर नहुँदैगर्दा खेरी ठुलो मुल्य चुकाउनु परेको हो । सरकार हैन । सरकार अस्थिर भएको कारणले गर्दा मात्र विकास नभएको भन्ने धारणा बनाइ राख्यौ। मलाई लाग्छ अब त्यो भ्रमबाट पनि हामीहरु बाहिर निस्क्यौ । दोस्रो कुरा अहिले सरकार आयो । सरकारलाई पनि के लाग्यो भने अहिलेसम्म पनि विकास नभएको स्थिर सरकार नभएर हो, अब त हामी आयौ, सोतह हुन्छ। फ्याट्ट भैहाल्छ भन्ने लाग्यो । सरकार त एउटा त्यो सिंगो मेशिनरीको एउटा पाटपुर्जा मात्र हो। पाटपुर्जापनि ठिक भयो भने त मेशिन चल्छ। तर पाटपुर्जा ठिक गर्न तिर लागेनौ। किनभने त्यतातिर हाम्रो ध्यान गएन। त्यो मैले अघि भनेको इन्स्टिच्युसनहरु । झन् पार्टपुर्जाहरु विर्गान तिर लाग्यौ । जसले गर्दा त्यो मेशिन चलिरहेको छैन । एक वर्ष भयो सरकार आयो । प्रधानमन्त्रीजी ले सरकार आएपछि उहाँले संकल्प गर्नुभयो । उहाँसँग शक्ति थियो । यत्रो ठुलो सात प्रदेशमा सरकार । सबै कुरा थियो । उहाँको नियत ठिक थिएन म भन्दिन । पक्कैपनि प्रधानमन्त्रीलाई देश बदल्ने इच्छा थियो नै । अहिलेसम्मका सारा मानीस खराब भएकोले बदल्न नसकेको,अब म आए, असल नेता देशले पायो, म असल भइसकेपछि सबै ठिक हुन्छ भन्ने लाग्यो। म सँग गर्नुपर्छ भन्ने छ, अरु बाकी रहेका कोहि सँगै केहि छैन भन्ने उहाँमा भयो । तर म आए मसँग इच्छाशक्ति छ, म एक्लैले गरेर हुदैन। सिस्टम चल्नुपर्छ, सिस्टम चल्नका निम्ति अरु पाटपुर्जा ठिक बनाउनुपर्छ, पाटपुर्जा ठिक बनाए भने सबै एकैचोटी चल्छ भन्ने कुरा त्यो कुर्चिमा बसेकोमान्छेले सोचिदिएको भए वा अब सोचिदिने हो भने मेशिन चल्छ। तर पाटपुर्जा ठिक गर्नतिर लाग्छौ भन्ने लाग्दै लागेन , के लाग्यो प्रधानमन्त्री जी लाई भने, यो भन्दा अगाडीका मानिस खराब भएकोले हो । म असल र सज्जन यो देशले पायो अब यो देशको भलो हुन्छ। त्यहाँबाट यात्रा प्रारम्भ गर्न खोज्दा समस्या आयो भन्ने मलाई लाग्छ ।
अब एकैछिन गैर आबासीय नेपाली संघको पनि कुरा पनि गरौ न। नेपालीहरुले विदेशमा सिकेको ज्ञान र विज्ञतालाई नेपालसँग जोड्ने भन्दै एनआरएनले काठमाडौमा बिज्ञ सम्मेलन पनि गर्यो। तपाइँलाई कस्तो लाग्यो ?
गैरआवासिय नेपाली संघले विज्ञ सम्मेलन गरेर ठिक गर्यो तर यसलाई निरन्तरता कसरी हुन्छ । किनकी ज्ञान भनेको त एक चोटी यो कुरा गर्नुपर्छ भनेर मात्र हुदैन । विभिन्न तहका सरकारसँग मिलेर नियमित रुपमा बाहिर भएका हाम्रा विज्ञहरुसँग जोड्ने एउटा मञ्च सिर्जना गर्नुपर्छ । जस्तो उदाहरणको लागि मैले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरे मलाई यो क्षेत्रमा रुचि भएकोले नर्वेमा, पोल्याण्डमा केहि साथीहरुसँग कुरा गरे त्यसबाट तीन चारवटा नयाँ कुरा थाहा पाए । मेन्टल हेल्थमा नर्वेले के काम गरिरहेछ। नेपालमा मैले गरेको स्वास्थ्य विमाको कानून बनाएको थिए, त्यहि खालको अभ्यास पोल्याण्डमा भएको रहेछ। यसका चुनौतीहरु के रहेछन् भन्ने कुरा यहाँका साथीहरुले बताउनुभयो । यसरी नेपालीहरुसँग भएको ज्ञान अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मन्त्रालय वा निकायले निरन्तर प्राप्त गर्ने फोरम क्रियट गर्नुपर्छ । व्यवस्थित जीवन बिताइरहेका विदेशमा भएका नेपालीलाई पहिलो चरणमा गाउँ ठाउँको विद्यालय र एम्बुलेन्समा सहयोग गर्नुभयो अब यसलाई बदल्नुपर्दछ । नेपालभित्र बसिरहेका नौ जवानलाई मद्दत गरेर दुईजनालाई रोजगार गराउने खालको अवस्था सिर्जना गर्न तर्फ लाग्नुपर्छ ।
तर गैरआबासीय नेपाली बिज्ञहरुले सरकारले त्यस्तो प्लाटफर्म नै दिएन भन्ने गुनासो गर्छन्, नेपाल फर्केर वा पुगेर काम गर्ने कुनै आधार त हुनुपर्यो नि।
कोहि पनि नेपाली बाहिर आएर बाहिरको नागरिक भएर बस्नु भएपनि उहाँले नेपालको नागरिकता गैर आवासिय नागरिकको रुपमा राखिराख्न पाउनुहुन्छ यसले त एउटा आधार बनायो । यति माध्यम बनाएपछि बाहिर भएको नागरिकले नेपाल सरकारले हामीलाई विश्वास गर्यो। हामीले पनि केही कुरा गर्नुपर्छ भन्ने हो। केहि समयपछि नेपाल ठिक ठाउँमा पुग्यो भने बाहिर बस्नेकी नेपाल फर्कने भन्ने निर्णय गर्नुहोला ।अहिले बाहिर बस्नुहोस् । तर बाहिर बस्दाबस्दै पनि हाम्रो सरकारको तर्फबाट नेपालको तर्फबाट ज्ञान र अनुभव जोड्नका निम्ति प्लाटफर्म क्रियट गर्ने काम हामीले गुर्नपर्यो। उहाँहरुले पनि अतिरिक्त रुपमा कसरी मेरो जिम्मेवारी पुरा गर्ने भन्ने सोच्नुपर्दछ।
त्यसो भए गैर आबासीय नेपाली संघ (एनआरएनए) लाई तपाइँ कस्तो सुझाव दिनुहुन्छ त ?
नर्वेमा केहि साथीहरु उर्जाकोे बारेमा एउटा सम्मेलन गर्न खोज्नु भएको रहेछ । मैले के भने भने तपाइहरुले नर्वेको मात्र हैन, युरोपभरी इनर्जीको क्षेत्रमा काम गरिरहेको विज्ञहरुलाई जम्मा गर्नुहोस् । नेपालका प्रतिनिधि त आइहाल्नुहुन्छ । तर त्यो सम्मेलनमा गफ र छलफल मात्र नगरौ । सम्मेलनबाट निस्किसकेपछि उर्जा मन्त्रालयससँग फोरम क्रियट गरौ। लगातार फोरम क्रियट गर्दा युरोपमा बसेका उर्जामा काम गरेका व्यक्तिले के के कुरामा सहयोग गर्न सक्नुहुन्छ ? कोहीले ज्ञानमा सहयोग गर्नसक्नुहोला, कोहिले नेटवर्किङमा, कोहीले बाहिरका लगानीकर्ता ल्याएर सहयोग गर्न सक्नुहोला । नेपाल सरकारको उर्जा मन्त्रालयले पनि थाहा पायो नेपालीहरु कुन कुन ठाउँमा को -को हुनुहुन्छ भन्ने कुरा चिन्यो । यस्तै अन्य मन्त्रालयहरुमा त्यसै गरेर जोड्न सकिन्छ। नेपालीले बनाएको नेटवर्क मन्त्रालयले प्रयोग गर्दा देश बन्छ । प्रोसेसलाई डाइनामिक बनाउन नेपालका मन्त्रालयहरुले यसलाई लिड गर्नुपर्छ ।
अलिकति फरक कुरा गरौ। केहि समय अगाडि तपाई अमेरिकाको हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्न जानुभयो।देश बिदेशमा ठुलै चर्चापरिचर्चा पनि भयो। खास यो कस्तो किसिमको अध्ययन थियो ?
विश्व आर्थिक मञ्चको एउटा समुह छ ।योङ ग्लोबल लिडर भनेर, जसले प्रत्यक वर्ष संसारभरी विभिन्न क्षेत्रमा प्रशासनिक, राजनीतिक, व्यवसायिक, उद्योग विभिन्न क्षेत्रमा काम गरिरहेका केहि युवालाई छान्छ । जसले भोली ग्लोबल तहमा केहि इपेक्ट पार्न सक्छ सोसाइटीलाई अगाडी बढाउनेभन्ने कुराको सन्दर्भमा। त्यही कुरालाई लिएर सन् २०१५ मा नेपालबाट छानिएर त्यहाँ काम गर्ने मौका पाएको हो । यसरी म जस्तै ७० जना विभिन्न देशका योङ ग्लोबल लिडर भित्र छानिएका मानिसका निम्ति हावर्ड विश्वविद्यालयले करिब १६ दिनको एउटा कोर्ष डिजाइन गरेको थियो ।
नेतृत्वको क्षमता कसरी विस्तार गर्ने । नयाँ ढंगले कसरी सोच्ने ? नयाँ नयाँ नलेज के आएको छ ? पढ्ने मौका पायौ। अर्को कुरा विश्व मञ्चमा छलफल भइरहेका विषय, चाहे जलवायु परिवर्तनको विषय होला, चाहे प्रजातन्त्रमा आएको विश्वव्यापी संकटको कुरा होला, कतिपय सन्र्दभमा स्वास्थ्य र शिक्षामा राज्यको दायित्वको विषयहरु होला, यस्ता केहि विषयहरु चाहि ग्लोबल इसुहरुमा पनि छलफल गर्दै पढ्ने मौका पायौ। र एउटा चाहि लिडरसिपको बारेमा पढ्ने मौका पायौ । १६ दिको क्लास पछि पनि उहाँहरुसँग अनलाइनमा एक वर्षसम्म अध्ययन गर्ने छौ। नेपालभित्र सिमा भित्र बसेर लगातार काम गर्दा संसारमा के के भयो थाहा नहुनसक्छ । तर यसको माध्यमबाट थाहा पाउने मौका मिल्यो । भोलीको दिनमा जिम्मेवारी निर्वाह गर्दा सकारात्मक फाइदा होला भन्ने मलाइ लागेको छ । राम्रो अनुभव रह्यो।
त्यहाँ सहभागीहरु कस्ता कस्ता थिए ?
युरोपका थुर्पै देशहरुबाट पनि सहभागी थिए। हामी करिब ४० देशका थियौ । केहि राजनीतिकर्मी, पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री, पुर्व सांसद, केहि सञ्चारकर्मी, ठुलो संख्यामा युवा व्यवसायीहरु पनि थिए । सफल उद्यमीहरु, युवा उमेरमा नै मेहनत गरेर ठुला कम्पनी स्थापित गरिसकेकाहरु थिए । सबै खालका मानिस थिए । देश अनुसार कसरी आफ्ना धारणा बन्छन् भन्ने सुन्न बुझ्ने मौका मिल्यो ।
कुराकानी अन्त्यमा, बिदेशमा रहेका सम्पूर्ण गैर आबासीय नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
देशभित्र होस् वा देशबाहिर सबै तिर मानिस एकदमै निरास छन् । प्रत्यक दिन नया नयाँ घटना आउँछ, काण्ड आउँछ । आज यो भयो यो भयो, त्यो भयो, दिक्क लाग्छ । तर मेरो उहाँहरुसँग आग्रह के -हो भने । बाहिर बसेको साथीहरु झन् धेरै समाचारहरु पढ्नुहुन्छ, सुन्नुहुन्छ, हेर्नुहुन्छ । नेपालमा यो प्रणाली काम नलाग्ने भयो भनेर निष्कर्ष ननिकाल्नु । किनकी हामी खुल्ला र पारदर्शी सासन प्रणालीमा भएरनै यो सूचना थाहा भएको हो ।अब प्रणाली र व्यवस्थाको बारेमा धारणा नबनाउ । हामीले गर्ने भनेको यो व्यवस्थालाई मजबुत बनाएर यो व्यवस्था भित्रका रोगहरुलाई निको पार्ने हो । विकृती हटाउने हो । त्यसैले नेपालमा डेम्रोकेसीलाई स्टेवललाइज गर्नुपर्छ । फेडरल डेमोक्रेटिक रिपब्लिक नेपाल तलमाथी हुन दिनु हुदैन। अर्को कुरा प्रवासमा पनि सबैका अवस्था एउटै छैन। आफ्ना दुःखहरु छन् जसले गर्ने क्षमता राख्नुभएको छ। नेपाललाई १५, २० वर्ष लगातार दुत्र आर्थिक विकासको पाटोमा लिएर जानुपर्ने भएकोले यो बेलामा नेपाल भित्र जोडीने कुरालाई थोरै नयाँ ढंगले हेरिदिनुपर्नेछ । नेपालमा बसिरहेका नौ जवानलाई उनीहरुले काम गर्न खोजेका छन् तर उनीहरुसँग पुजी छैन। काम गर्न खोजिरहेका छन् तर उनीहरुसँग अनुभव छैन। त्यो पुजी र अनुभव तपाइले दिन सक्नुपर्दछ। त्यसैले अब चाहि म मेरो गाउँठाउँमा लोक कल्याणको काम गर्छु मात्र हैन त्यो सँगसगै म नेपालका नौ जवानले गर्न खोजको नयाँ उद्यम, इलममा पनि मद्दत गर्छु भनेर सोचिदिन अनुरोध गर्दछु। यसमा केहि मद्दत गरिदिनु भयो भने त्यो असाध्यै ठुलो कुरा हुन्छ ।