बार्सिलोना/ दुई ठुला महारथी फुटबल क्लवहरु रियल म्याड्रिड र बार्सिलोना बिचको एलक्लासिकोमा बार्सिलोना फुटबल क्लव हावी भईरहेको बेला नेपाली समुदायमा भने म्याड्रिडले लगातार उपाधि जितेको छ। साविक बिजेता एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको टिम एभरेष्ट एफसी म्याड्रिडले उपाधि रक्षा गरेको हो। आईतबार बार्सिलोनामा सम्पन्न एनआरएनए कप फुटबल प्रतियोगिताको फाईनलमा म्याड्रिड र बार्सिलोनाको टिम भिडे पछि नेपाली समुदायको “एल क्लासिको” बनेको थियो।
तमु समाज बार्सिलोनालाई ३-१ को गोल अन्तरले पराजित गर्दै म्याड्रिडले उपाधि जित्यो। उपाधि सँगै बिजेता टिमले नगद ५०१ युरो र उपविजेताले ३०१ युरो नगद सहित ट्रफी,मेडल तथा प्रमाणपत्र पाप्त गरेका छन्। उपबिजेता टिम तमु समाजका खेलाडी प्रविन गुरुङ उत्कृष्ट खेलाडी बने।

तस्बिर:- सुबास बहादुर बिष्ट
म्याड्रिड टिमका संयोजक उत्तर राईले गत बर्ष भन्दा यसपटकको प्रतियोगिता उत्कृष्ट रहेको प्रतिक्रिया दिए।” क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष समेत रहेका राईले भने,” यसपटक खेलको स्तर निकै बढेको पाए। दर्शकहरुको बाक्लो उपस्थिति र हौसलाले पनि राजधानी देखिको लामो यात्रालाई पनि हामीले बिर्सियौ।”
प्रतियोगितामा आयोजक एनआरएनए स्पेन,सुजुरन ब्याईज,टिम माउन्ट एभरेष्ट, डायरवल्स (नेपाली जनसम्पर्क समिति,नेपाली जनप्रगतिशील मञ्च र नेपाली वेभ टिभी गरी ८ वटा टिमले भाग लिएका थिए। एनआरएनए स्पेनले हरेक बर्ष आयोजना गर्दै आएको प्रतियोगिता सुजुरन ब्याईजले सर्बाधिक ३ पटक जितिसकेको छ।

गैर आबासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष कुल आचार्यले फुटबलले परिचित मुलुक स्पेनमा रहेका गैर आबासीय नेपाली प्रतिभाहरु झनै उत्कृष्ट रहेको बताए। प्रमुख अतिथिको रुपमा खेलाडीहरुलाई ट्रफी,मेडल सहित सम्मान गर्दै उनले यस्तो बताएका हुन्।
एनआरएनएन युरोप संयोजक शिवकुमार बरुवालले युरोपकै सक्रिय मध्येको एक मानिने राष्ट्रिय समन्वय परिषद स्पेनले खेलकुदको क्षेत्रमा दिएको योगदानको प्रंशसा गरे। एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले स्पेनबासी नेपाली समुदाय लगायत सहभागी लगायत बिजेता टिमलाई बधाई दिए।

प्रतियोगिता संयोजक तथा एनआरएनए स्पेन सचिव दिनेश गिरीका अनुसार बालबालिका र महिलाहरुको समेत छुट्टाछुट्टै टिम बनाई मैत्रीपूर्ण खेल सम्पन्न गरिएको थियो। तस्बिर सौजन्य:– सुबास बहादुर बिष्ट/ सुरज मैनाली












