बार्सिलोना। बिदेशमा आजभोलि दिनहुँ जसो नेपाली सांगीतिक कार्यक्रम हुने गर्दछन् । प्राय: कार्यक्रमहरुमा कलाकारहरुको प्रस्तुति सँगै नेपाली तथा बिदेशी दर्शकहरु रमाएको पाईन्छ। तर शनिबार बार्सिलोनामा सम्पन्न एक कार्यक्रम अलि भिन्न देखियो। जहाँ बिदेशी कलाकारहरुले नेपाली गीतसंगीत सुनाउदै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए।
मोनिका सान्स डुरान। उनको नाम सुन्दा पनि नेपाली जस्तै लाग्छ। तर मोनिकाको नाम मात्रै होईन् उनको भावानामा पनि नेपाली पन झल्कन्छ। स्टेजमा चढेर उनले सुनाईन् “जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।”

एक दशक अघि देखि नेपालमा सहयोग पुर्याउदै आएको संस्था “आमिक दे” नेपालमा पनि उनि आवद्व छन्। कार्यक्रममा मोनिकाले एड्रिन प्रधानकै अर्को गीत पनि सुनाईन् “परेलीमा लुकाई राख न,अङ्गालोमा बाँधी राख न, जान नदेउ रोक न रोक उड्न नदेउ आकाश जस्तै मलाई बाधेर राख तिम्रै मुटुमा ! त्यसो त उनले “पानि वाटर” नामको गीत पनि ल्याएकी छन्। स्पेन देखि नेपाल पुगेर काठमाडौमा दृश्यहरु भिडियोमा उतारेकी छन्। गीत भित्र उनले केहि नेपाली शब्दहरु पनि प्रयोग गरेकी छिन्।

बिश्व कलाकार संघ नेपाल (वान) स्पेन शाखाले आफ्नो प्रथम बार्षिकोत्सवको अबसरमा नेपाली संगीत मोह भएका अन्य कलाकारहरु पनि समेट्यो। कोरल आसिया ग्रुपका ७ जना कलाकारहरुले पनि नेपाली गीत गुनगुनाए। नेपथ्य ब्याण्डले पहिलो गीत उनिहरुले सजिलै सुनाए बरु सुन्ने दर्शकहरुलाई नै भारी पर्यो। “आँगनै भरी हिउँ नै झरे आरु फुल है टिपी राखे है लेकैमा भरी बैसमा फुले मायाको मुस्कानमा।” त नेपथ्यले आजभन्दा २६ बर्ष अघि दर्शक स्रोता माँझ यो गीत बजारमा ल्याएको थियो।

अझ बिदेशीहरु माँझ एउटा नेपाली गीत निकै चर्चित र प्रचलित छ। उक्त गीत गाउन कोरल समुहले पनि छुटाएन।उनीहरुले गाउदा दर्शकको कोलाहल पनि सँगै मिस्सियो। झनै हलमा गुञ्जियो, “रेशम फिरिरी ..रेशम फिरिरी ..उडेर जाउ कि डाडामा भञ्ज्याङ, रेशम फिरिरी. .”।
बिगत दुई दशक देखि स्पेनमा बसोबास गर्दै आएका कलाकार हुन् डिक कार्की। उनकै अगुवाईमा वानको स्पेन शाखाले नेपाल प्रेमी बिदेशीहरुलाई समेटेर एक बिशेष कार्यक्रमको आयोजना गरेको हो। शाखाका अध्यक्ष समेत रहेका कार्की भन्छन् ,” कसैलाई पार्कमा भेटेर,कसैलाई घरमा बोलाएर त कसैको घरमा आफै पुगेर कार्यक्रम तयारी गरेका हौ। नेपाली गीत संगीत स्पेनिस नेपाली समुदाय माँझ पुर्याउने हाम्रो लक्ष्य हो।” त्यसो त कार्की स्पेनमा पहिलो नेपाली सांगीतिक कार्यक्रम गर्ने मध्येका एक कलाकार पनि हुन्।

अर्को तर्फ आजभोलि नेपाली कार्यक्रमहरुको अर्को बिशेष आकर्षण हो नेपाली पाठशाला बार्सिलोना। ५ बर्ष अघि देखि संचालित पाठशालाले बालबालिकाहरुलाई नेपाली पढ्न र लेख्न मात्र हैन नेपाली गीत संगीतमा समेत पोख्त बनाएको छ। त्यसो त पाठशालाको आफ्नै गीत पनि छ। “ मै बच्चा नेपाली कसी बढौ अघि,क ख ग घ पढ्दै जादा बस्यो मेरो बानी।” कार्यक्रममा बालबालिकाहरुले राष्ट्रिय गान त कहिल्यै छुटाउदैनन् साथमा आफ्नै गीत पनि सुनाए। कमेडी गीतसँगै “नेपालको झन्डा हेर फरर” बोलको गीतमा उनीहरुले सामुहिक नृत्य पनि देखाए। कलाकार अजय लोप्चनले उक्त गीतको नृत्य निर्देशन गरेका थिए। कार्यक्रममा बिनोद कटुवाल,भुवन अछामी,समी गुरुङ,अनुसा थापा,मनिस श्रेष्ठ,सागर गुरुङ अदिति रेग्मी,शिला केसी,अनिता कार्की,एमा गुरुङ लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रह्यो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बार्सिलोना नगरपालिकाको आप्रबासन तथा अन्तरसाँस्कृतिक बिभागका अधिकृत लोला लोपेज उपस्थित थिईन्। यस्तै नेपाली समुदायबाट एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा, कासा आसिया संस्थाका प्रतिनिधि गायल पातिन र बिश्व कलाकार संघ नेपाल (वान) जर्मनी प्रतिनिधि लक्ष्मण जोशी बिशेष अतिथिको रुपमा सहभागी थिए। पत्रकार बसन्त रानाभाट (बार्सिलोना),भोला लामिछाने (बार्सिलोना) र कलाकारहरु भुवन अछामी (पाईस भास्को) र अनुसा थापा (सेभिया) लाई उक्त अबसरमा बिशेष सम्मान गरिएको थियो।
कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेम्वा शेर्पाले दर्शकलाई स्वागत गरिन् भने कार्यक्रमको संचालन सुनिता तन्डु कारले गरेकी थिईन्।
कार्यक्रममा देखिएको प्राबिधिक कमजोरीलाई भने सुधार गर्न दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन्।





