९ जनवरी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको सातौ युरोप महादेशीय कार्यक्रमको तयारी तिब्र रुपमा अगाडि बढाइएको छ। आउदो ३० र ३१ मार्च का दिन बेल्जियममा आयोजना हुन लागेको युरोपस्तरीय सातौं नृत्य र चौथों गायन प्रतियोगिता सहित हुने इनासको सातौ युरोपियन सम्मेलनलाई ब्यबस्थित रुपमा सम्पन्न गर्न युरोप क्षेत्रीय समिति र राष्ट्रिय समिति बेल्जियमले ५ र ६ जनवरीका दिन प्रारम्भिक तयारी बैठक सम्पन्न गर्यो।
बैठकमा ग्लोबल पदाधिकारीहरु, युरोप क्षेत्रीय संयोजक, सहसंयोजक सहित राष्ट्रिय समिति बेल्जीयम, बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, पोर्चुगल, स्पेन, नेदरल्याण्ड, पोल्याण्ड लगायतका युरोप क्षेत्रका देशबाट इनासका पदाधिकारीहरुले सहभागिता जनाएको र उक्त कार्यक्रमलाई मर्यादित रुपमा सम्पन्न गर्ने सम्बनधमा छलफल भएको जानकारी आयोजक राष्ट्र बेल्जीयमका अध्यक्ष श्याम श्रेष्ठले जनाए।

इनास युरोप संयोजक अर्जुन काफ्ले र सह संयोजक रबिन्द्र खड्काको संयुक्त सयोजकत्वमा भएको प्रारम्भिक बैठकमा इनास युरोपले उक्त कार्यक्रममा हुने सहभागिता, सहयोग र पारस्परिक सहकार्यका बारेमा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम लोक बहादुर थापा, गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल, आइसीसी सदस्यद्वय सरु चापागाई र पदम गुरुङ, एनआरएनए केन्द्रिय सचिव जानकी गुरुङ, नेपाली ब्यबसायी संघ बेल्जियमका महासचिव मदन दवाडी, निवर्तमान अध्यक्ष सिपि, भट्ट लगायतका पदाधिकारीहरु संग समेत छलफल गरेको र उक्त छलफल निकै सकारात्मक रहेको कार्यक्रम संयोजक अर्जुन काफ्लेले बताएका छन्।

इनासले हरेक वर्ष आयोजना गर्ने महादेशस्तरको कार्यक्रमलाई नेपालीहरुको ठुलो सांस्कृतिक पर्वको रुपमा मनाउने गर्छ। गत वर्ष बेलायतमा सम्पन्न छैठौ युरोप सम्मेलनको बेला इनास युरोपको सातौँ सम्मेलन बेल्जियममा गर्ने र आठौ सम्मेलन पोल्याण्डमा आयोजना गर्ने गरि ग्लोबल समितिले अनुमति प्रदान गरे अनुसार यसपटकको सम्मेलन बेल्जियममा हुन लागेको हो।