एशियन गेममा रजत पदक ल्याउन सफल खेलाडिहरुलाई अभिनन्दन


पोखरा । १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ (क्रस कन्ट्री पुरुष समुह विधा) खेलमा नेपालका तर्फबाट रजत पदक प्राप्त गर्ने खेलाडिहरुलाई छिमेकी संघसंस्थाहरुले बुधबार सामुहिक अभिनन्दन गरेका छन् ।


पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा जन्मेका विमल अधिकारी तथा उनको टिमलाई छोरेपाटनमा रहेका ३७ वटा संघसंस्थाले सामुहिक अभिनन्दन गरेका हुन । उक्त टिमले लामो समय पछि अन्तराष्ट्रिय खेलमा रजत पदक ल्याइ नेपालको नाम राख्न सफल भएका थिए ।

उनिहरुलाई अभिनन्दन गराउने वातावरणको चाँजो पाँजो भने डेभिज फल क्लब र गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले गरेका थिए ।क्लबका अध्यक्ष गोपाल वरालले क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद र सामाजिक कार्य गर्दै आएको वताउँदै युवा लक्षित हरेक कार्यक्रम गर्न क्बल सहकार्य गर्न तयार रहेको वताएका थिए ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले गर्ने भनिए तापनि उनको कार्य व्यस्तताले गर्दा वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीलाई अख्तियारी प्रदान गरी कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।मेयर जिसीको सट्टा वडा अध्यक्ष अधिकारीले खेलाडिहरुलाई अविर, माला र अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेका थिए ।

सबै खेलाडी तथा अफिसियललाई बुधबार विभिन्न आमा समुह, टोल विकास संस्था, सहकारी, विद्यालय, प्रहरी चौकी लगाएत ३७ वटा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले अभिनन्दित गरेका थिए ।

छोरेपाटन विद्यालयको तर्फबाट प्रधानाध्यापक लक्ष्मण थापा र सहप्रधानाध्यापक डिल्लिराम शर्माले अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेका थिए भने छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष चुडामणी वरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

डेभिज फल क्लबका अध्यक्ष गोपाल वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गुप्तेश्वर महादेव गुफा व्यवस्थापनका अध्यक्ष विष्णुप्रसाद पौडेलले र कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष दिपक सुवेदीले गरेका थिए ।