इटालीको रिमिनिमा ६१८ जना नेपालीहरुको चिहान..


बार्सिलोना । इटालीको रिमिनीमा रहेको ‘रमिनी गोरखा वार सेमेटरी’ अर्थात् गोरखाहरुको एक सामुहिक चिहानघर वा समाधिस्थल हो । यहाँ पहिचान खुलेका र नखुलेका गरी ६१८ जना नेपालीहरुको चिहान छ । जसमध्ये ५९२ सैनिकहरुको पहिचान समेत खुलाइएको छ ।

तर, दोस्रो विश्वयुद्धमा वीरगति पाएर पनि यी नेपालीहरुको पहिचान नेपाली बन्न सकेन । उनीहरु नेपाली भएता पनि ‘भारतीय सैनिकहरु’ भन्दै पहिचान खुलाइएको छ ।

स्मारकमा हिन्दी भाषामा लेखिएको छ, ‘उन भारतीय सैनिकों के सम्मान में जिन्हों ने रणक्षेत्र में वीरगति पाई और जिनका दाह संस्कार किया गया ।’ अर्थात् ती भारतीय सैनिकहरूको सम्मानमा, जसले लडाइँको मैदानमा वीरगति प्राप्त गरे र जसको दाहसंस्कार गरियो ।’

आजभन्दा करिब ७५ वर्षअघि दोस्रो विश्वयुद्धताका बेलायतको पक्षमा जर्मनीविरुद्ध लडेका गोरखा रेजिमेन्टका नेपाली सैनिकहरु थिए उनीहरु । त्यतिबेला बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको थिएन ।

नेपालीहरुले ज्यान गुमाए पनि त्यहाँ नेपाल र नेपालीहरुको नाम उल्लेख नहुँदा स्मारकमा पुग्ने धेरै नेपालीहरुले दुःख ब्यक्त गर्दै आएका छन् । विदेशी सैनिक फौजबाट युद्धमा लडेका भए पनि मरणोपरान्त उनीहरुको पहिचान नेपाल र नेपालीसँग जोडिनुपर्ने उनीहरुको माग छ ।

यसैक्रममा स्मारकमा पुगेका केही नेपालीहरुसँग कुराकानी गर्दै उनीहरुको अनुभूति आफ्ना पाठकमाझ साट्ने कोसिस गरेको छ ।युरोप भ्रमणमा रहेका गायक मिलन लामा, हाल इटालीमा नै रहेकी अल्ट्रा धाविका मिरा राई र १८ वर्षदेखि इटालीमै बस्दै आएका चितवनका शम्भु घिमिरेको अनुभूति हामीले यहाँ प्रस्तुत गरेका छौं –

-मिलन लामा, लोक तथा दोहोरी गायक

युरोप भ्रमणको क्रममा नै इटालीको रिमिनी नजिकै मोन्तेजेमा बस्ने एक मित्रसँगै म त्यहाँ पुग्ने अवसर पाएँ । जब गाडी रोकेर भित्र पसेपछि गोरखा लेखेको देखेँ, मेरो ध्यान त्यतैतर्फ गयो । भित्र छिरेपछि त चिहानै चिहान देखें । त्यहाँ नेपाली नामहरु पढ्दा अत्यन्त दुःख लाग्यो ।

म एकछिन त भावविह्ल भएँ । फेसबुकमार्फत मैले लाईभ पनि गरें । जहाँ लाखौंले हेरेका छन् । हजारांैपटक सेयर भएको छ । यो सबै नेपाल र नेपालीहरुप्रतिको चासो हो भन्ने बुझिन्छ ।

मान्छे मरेर गए पनि सयौं नेपालीहरुको स्मृतिमा एउटा ठूलो स्मारक बनाइएको छ । ठाउँठाउँमा फूल रोपेर अति सुन्दर तरिकाले सजाइएको छ । कति टाढा आएका रहेछन् हाम्रा गोरखाहरु । त्यसमाथि अरुका लागि लड्नुपर्ने, अरुका लागि मर्नुपर्ने । साँच्चिकै मेरो आँखा रसाए ।

मलाई त विश्वयुद्ध लडेका जनजातिहरु मात्र होलान् भन्ने भ्रम थियो । गुरुङ, मगर, तामाङ, राई, लिम्बु मात्र हुन् भन्ने लाग्थ्यो । त्यहाँ त बस्नेत, खड्का, ठाकुर आदि इत्यादि जातिहरु पनि देखें । त्यहाँ स्पष्टले खुलेको छ- गुल्मी, गोर्खा, लमजुङलगायत नेपालका कुना कन्दरा । तर, नेपाल र नेपालीहरुको अस्तित्व कहीँ कतै देखिएन ।

तर, संसारलाई नै थाहा छ गोर्खालीहरु नेपालीहरु नै हुन् भन्ने । तर, पनि नेपाल र नेपालीभाषीहरुको पहिचानका लागि हामीले अनुरोध गर्न सक्नुपर्छ । कसलाई भन्नुपर्ने हो ? कसको पहुँच पुग्छ ? यी सबै नेपालीहरु हुन्, नेपालीभाषीहरु हुन् भन्ने उल्लेख गर्न सकेमा धेरै राम्रो हुन्थ्यो ।

अर्को पीडा के भयो भने नेपालीहरु मात्र मरेका हुन् त ? मैले एकछिन सोचें। जर्मनीसँग लड्दा उनीहरु पनि त मरे होलान् नि । आखिर युद्ध ठूलो हिंसा नै हो । लडाइँमा दोहोरो क्षति हुन्छ । कामना गर्छु यो स्थिति फेरि नदोहोरिहोस् ।

-शम्भु घिमिरे, चितवन (हाल इटाली)

इटालीको रिमिनी आफैंमा पर्यटकीय गन्तब्य हो । विशेष गरी सामुद्रिक किनारामा गएर रमाउनका लागि प्रचलित छ । अर्कोतर्फ एउटा छुट्टै सानो मुलुक सानमारिनोमा हेर्ने र घुम्नेको संख्या ठूलो छ । सानमारिनो रिमिनी हुँदै पुगिन्छ । त्यतै लाग्ने क्रममा एक इटालियन साथीबाट स्मारकबारे पहिलोपटक जानकारी पाएको हुँ ।

१० वर्षअघि त्यहाँ पुग्दा म निकै भावुक बनेको थिएँ । त्योभन्दा पनि अघि को-को नेपालीहरु पुगे वा पुगेनन् यकिन भएन । तर, १८ वर्षे मेरो इटाली बसाइँमा सम्भवतः पहिलो पटक मैले त्यहाँ पुग्ने अवसर पाएजस्तो लाग्छ ।

त्यतिबेला अहिलेजस्तो सामाजिक सञ्जालको प्रयोग हुन्थेन । एक्कासी खबर भाइरल हुने अवस्था पनि भएन । तर, पनि यताउता हुँदै इटालीस्थित नेपाली समुदायलाई स्मारकबारे जानकारी भयो । अहिले त यहाँ नेपालीहरु आएर गोरखाहरुको सम्झनामा सम्मान ब्यक्त गरिरहन्छन् । नेपालबाट आएका पाहुनाहरुले समेत त्यहाँ पुगेर चासो ब्यक्त गर्न थालेका छन् ।

मलाई यो कारणले अत्यन्तै दुःख लाग्छ कि त्यहाँ प्रष्ट हिन्दी भाषामानै लेखिएको छ- ‘ती भारतीय सैनिकहरूको सम्मानमा, जसले लडाइँको मैदानमा वीरगति प्राप्त गरे र जसको दाहसंस्कार गरियो ।’ तर, हाम्रा नेपालीहरु सयौको संख्यामा मर्दा पनि नेपाल र नेपालीहरु भनेर कतै उल्लेख गरिँदैन ? यस्ता तथ्यहरुप्रति नेपाल सरकारले पनि किन चासो राख्दैन ?

केहि जवानहरुको उमेर १८ वर्ष पनि पुगेको छैन जुन त्यही उल्लेखित तथ्यले नै बताउँछ । अन्याय भएको मैले महसुस गरेको छु । त्यतिबेला नेपालको कुना-कुना र दुर्गम ठाउँहरुबाट भर्खर भर्खरका कलिला केटाहरुलाई खोजेर भर्ती गराएको मेरो बुझाइ छ ।

उनीहरु नै नेपाल आएर बलिया बलिया छानेर जागिरको लोभमा भर्ती गराए, यसमा कुनै शंका नै छैन । भारतको लागि वा उसको स्वार्थको लागि नेपालीहरु यसरी ज्यान गुमाउँछन् तर मरेपछि पनि अस्तित्व र सम्मान छैन । उल्टो उसैसँग हामी सधैं झुकिरहनु परेको छ ।

यस अर्थमा पनि मलाई सधैं नरमाइलो र पीडा महसुस हुन्छ । एउटा देशको नागरिकले अर्को मुलुकका लागि ज्यान गुमाउँछ भने त्यो भन्दा ठूलो र महत्व के हुन सक्ला र ? कुनै एक भारतीय सैनिकले नेपालका लागि ज्यान गुमाओस् त उसका लागि हामी कति सलाम ठोक्छौं । सम्भवतः पूजा नै गर्छौं होला ।

इटाली सरकारको यहाँस्थित कम्युनले हरेक वर्ष भारतीय सेनाहरुको सम्मानमा कार्यक्रम राख्ने गर्दछ । भारतीयहरुलाई नै निमन्त्रणा जान्छ र उनीहरु नै आउने गर्दछन् । हाम्रा नेपालीहरु मरेका छन् तर, भारतीयहरुले सम्मान खान्छन् । यसमा मलाई असाध्यै दुःख लाग्छ । यति धेरै पूर्खाहरुले ज्यान गुमाइसके, हाम्रो पनि अस्तित्व हुनुपर्‍यो नि । मेरो बिचारमा त्यहाँ कतै नेपाली भन्ने शब्द हुनुपर्छ, नेपाली भन्ने नाम हुनुपर्छ, नेपालीले सम्मान पाउनुपर्छ ।

– मिरा राई, अल्ट्रा धाविका

१३ जून २०१६ अर्थात् २ वर्ष अघि मैले त्यहाँ पुग्ने अवसर पाएकी थिएँ । संजोगले फेरि म अहिले इटालीमा नै भएका बेला यहाँले सम्पर्क गर्नुभयो । त्यसैले पनि ती परिदृश्यहरु मेरो मानसपटलमा झन् ताजा भएर आएका छन् । म त्यहाँ पुगेर अवलोकन गरेपछि दुईथरी प्रश्न मनमा आएका थिए ।

पहिलो- कति सानो-सानो उमेरमा पनि लडाइँमा भाग लिएका ती युवाहरुले । लडाइँमा वीरगति प्राप्त गर्नुभएका उहाँहरुको सम्मानमा जुन स्मारक बनाइएको छ, त्यो आफैं ऐतिहासिक छ । अति नै राम्रो तवरले सजाइएको छ । वीरगति प्राप्त गर्नेहरुको नाम ढुंगामा लेखिएको छ । त्यहाँ नेपालमा विभिन्न ठाउँहरु उल्लेख छन् । यसले हामीले मात्र हैन, पछिका पुस्ताहरुले पनि आफ्नोपन महशुस गरिरहने छन् ।

दोस्रो कुरा- नेपालमा पनि लामो समयसम्म द्वन्द्व भयो । अझ म त द्वन्द्वकालमा एक सिपाही हुँ । आज बाँचेर नै यहाँहरुसमक्ष कुरा गर्न पाएकी छु । तर, मैले धेरै साथीहरु गुमाएकी छु । हजारौं नेपालीहरुले वीरगति प्राप्त गरेका छन् । दशकौं अघि विश्वयुद्ध लडेका गोरखाहरुको नाम, ठेगाना, उमेर सबै खुलाउँदै यस्तो ऐतिहासिक स्मारक बनाइएको छ । तर, हामीहरुले पनि युद्धमा हजारौंलाई गुमायौं, उनीहरुको सम्मान खै ? उनीहरुको अस्तित्व खै ?

म त्यहाँ पुग्दा यसकारण पनि झनै भावुक र भावविह्वल भएँ । एक अर्थमा पुराना सम्झना गर्दै गर्दा द्वन्द्वकालमा ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई पनि सम्झिएँ । किन हाम्रो देशमा मात्रै कुनै योगदानको कदर हुँदैन भन्ने प्रश्न जाग्यो ।

धेरै साथीहरु गुमाइयो कति त अझै पनि पीडामा हुनुहुन्छ । घाइतेहरुको राम्रो उपाचार ब्यवस्था छैन, न त उचित सम्मान नै छ । अहिले त मुलुकमा शान्ति नै छ नि  ईच्छा भयो भने लडाइँमा ज्यान गुमाएका सबै नेपालीहरुप्रति सम्मान ब्यक्त गर्न सकिन्छ ।

विभिन्न कालखण्डमा मुलुकका लागि लडेर विरगति प्राप्त गर्नेहरु छन् यस्तै स्मारकबाट हामीले सम्झन सकिन्छ । यहीँबाट पनि पाठ सिक्नुपर्छ कि आफ्नो इतिहासको संरक्षण आफैले गर्न सक्नुपर्छ ।