हामी जहाँ बसे पनि नेपाली नै हौं,भूतपूर्व वा वर्तमान भन्ने हुँदैनः मन्त्री अधिकारी


अमेरिका । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले नेपाली सधैं नेपाली नै हुने बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको शनिबार उदघाटन गर्दै उनले नेपाली भूतपूर्व या वर्तमान नहुने बताए ।

‘हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौं’, मन्त्री अधिकारीले अमेरिकामा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै भने, ‘देश बनाउन गैरआवासीय नेपालीहरुको सहयोग र सक्रियता चाहिन्छ ।’ उनले नेपालमा समृद्धि ल्याउन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

‘तपार्इंहरु धनी र सम्पन्न हुनु भयो भने पनि देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न’, अधिकारीले अगाडि थपे, ‘त्यसैले देशलाई समृद्ध बनाउने काममा हामी सबै लाग्नु जरुरी छ ।’ वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रुपमा बस्ने नेपालीलाई भूतपूर्व नेपाली हुन् भनेको विषयप्रति अमेरिकाका नेपालीहरुले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीसँग असन्तुष्टि जनाएका थिए । मन्त्री अधिकारीले नेपाली सधैं नेपाली हुने बताए ।मन्त्री अधिकारीले गैरआवासीय नेपालीलाई संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रतिबद्धता समेत जनाए । यसका लागि अर्को वर्षभित्र आवश्यक कानून तयार हुने मन्त्री अधिकारीको भनाइ छ । पूर्वपरराष्ट्र तथा अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रक्रियाबाट उपयोग गर्ने यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताए ।

 

नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा बस्ने नेपालीलाई पूर्व नेपाली भनेकोमा दुःख व्यक्त गरे । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले आफू अमेरिकाको अस्थायी राजदुत भएको भन्दै गैरआवासीय नेपालीहरु स्थायी राजदूत भएको बताए ।

एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार अघि बढ्ने बेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको बताए ।