एकल महिलालाई नेतृत्व विकास तालिम


पोखरा – पोखरा महानगरका एकल महिलालाई कानुनी सचेतना र नेतृत्व विकास तालिम दिइएको छ । बिहीबार सुरुभएको तलिम शनिबारसम्म चल्नेछ ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको आयोजनामा भएको तालिममा पोखरा महानगरकी कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले नेतृत्व विकाससम्बन्धी तालिम दिएकी छन् । न्यौपानेले एकल महिलालाई समाजमा हेर्ने दृष्टिकोण विस्तारै परिवर्तन हुँदै गएको बताइन् । उनले एकल बन्नु भाग्यको खेल, अपराध भनिे कुसंस्कार हट्दै गएको बताइन् ।

अधिवक्ता गिरिधारी सुवेदीले एकल महिलाको हक, अधिकार र कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनेछन् भने एकल महिला समूह कास्की सचिव जुना केसीले एकल महिलाको विद्यमान अवस्था र अबका कार्यभारबारे प्रकाश पार्ने छिन् । श्रीमान्को मृत्यु भएका एकल महिलाले मात्र सामाजिक सुरक्षा भत्ता पाउने गरेकोमा जुनसुकै कारणले एकल भए पनि सामाजिक सुरक्षा भक्ता उपलब्ध गराउनुपर्ने सचिव केसीले बताइन् ।

कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलाले एकल महिलालाई सशक्तीकरण गर्न सबै तवरले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पोखरा महानगरका महिला विकास अधिकृत कल्पना सापकोटा र समूहका सल्लाहकार दुर्गा केसीले पनि बोलेका थिए ।
एकल महिला समूह कास्की अध्यक्ष प्रामिला तझ्याको अध्यक्षतामा कार्यक्रम भएको हो । तालिममा ७५ जना सहभागी छन् ।