सन्तोष बस्याल,पोखरा- नेपाल रेडक्रस सोसाईटी कास्की र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच सम्झौता भएको छ ।
मे ८ अर्थात विश्व रेडक्रस दिवसको अवसरमा मंगलबार क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको सभाहलमा गरिएको छलफल कार्यक्रममा ज्येष्ठ नागरिक ,अपाङगता र बालबालिका जस्ता बिरामीलाई वार्षिक १०० युनिट बल्ड ब्याग निशुल्क रुपमा वितरण गर्ने गरि उनिहरुबिच सम्झौता भएको हो ।
सेवा शुल्क पनि तिर्न नसक्ने बिरामीलाई उपाचारको क्रममा रगतको अभाव नहोस् भन्ने उदेश्यले रत्तसञ्चार पोखराको समन्वयमा रगत निशुल्क प्रदान गर्ने कार्यक्रम प्रारम्भ गरिेएको नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति एवम् स्वास्थ्य समितिका संयोजक दण्डराज पौडेलले जानकारी गराए । रेडक्रस कास्कीको यस्तो खालको सम्भौता प्रति आफ्नो र संस्थाको सक्दो सहयोग रहने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए ।
निकै मिहेनत र संघर्ष सहित रत्तसञ्चार केन्द्र यहाँसम्म आएको स्मरण गराउदै अब अहिले भईरहेको भवन पनि अपुग भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापाले बताए । थापाले अब यसमा भएको कमिकमिजोरीलाई पहिल्याई आवश्यक कदम चाल्न पनि आग्रह गरे । बिरामीलाई जतिबेला पनि रगत चाहिन सक्छ त्यसैले २४ घण्टा सेवा सहज ढङगले सुचारु राख्नुपर्ने डा. थापाको भनाई थियो । सम्झौता पत्रमा हस्ताक्ष्र गर्दै थापाले निशुल्क बल्ड ब्यागले बिरामीलाई ठुलो राहत मिल्ने भन्दै यस्तो महान कार्यको लागि कास्की रेडक्रसलाई शुभकामना सहित धन्यवाद दिए ।
कास्की रेडक्रसका सभापति डोलराज पाण्डेले कास्कीका एक दर्जन भन्दा बढि उपशाखाले रेडक्रस दिवसको अवसर पारि रक्तदान सहित विभिन्न कार्यक्रम गरेको जानकारी गराउदै रेडक्रस कास्कीले प्रारम्भ गरेकोे ज्येष्ठ नागरिक ,अपाङगता र बालबालिकाको उपाचारमा निशुल्क बल्ड ब्याग हस्तान्तरण अभियानमा सहयोग गर्ने दाताहरुको समेत अपेक्षा रहेको बताए । पाण्डेकै अध्यक्षतामा बसेको छलफल कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्र गुरुङ सहित रेडक्रसका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने नेपाल रेडक्रस सोसाईटीका मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।